राजधानीलगायत पूर्वी तराईका थारुहरु आजदेखि जितिया मनाउँदै

सन्तानको दीर्घायुको कामनाका साथ जितिया पर्व आजदेखि सुरु हुँदैछ। यस पर्वमा वर्तालु माताहरुले आश्विन कृष्ण सप्तमी तिथि अर्थात भोलिस्नान गरी चोखो हुने र तिथिको उत्तरार्धको समयमा ‘ओटघन’ गरी अष्टमी तिथिको आगमन हुनासाथ वर्तको शुभारम्भ गर्छन्।

सन्तानको सुख एवम् दीर्घायुको कामनाका लागि यस पर्वमा जिमूतबाहन देउताको पूजा गर्दै नवमी तिथिको आगमन हुनासाथ विधिपूर्वक पूजापाठ गरेपछि सम्पन्न हुन्छ। थारु समुदायमा विशेष महत्वका साथ यो पर्व मनाइने गरिन्छ।

गत वर्षको तुलनामा यसवर्ष वर्तालु महिलालाई केही सहज भएको छ। तिथिको समयमा घटबढ नभएको कारणले शुक्रबार बिहान ७ बजेदेखि अष्टमी तिथिको शुभारम्भ हुन्छ र शनिबार ७ बजेसम्म मात्र वर्तालुलाई निराहार उपवासमा बस्नुपर्ने हुन्छ। गतवर्ष तिथिको समयमा घटबढ भएको कारण वर्तालुलाई करिब ३६ घन्टा उपवासमा बस्नुपरेको थियो भने यसवर्ष २४ घन्टा मात्र उपवासमा बस्नुपर्ने हुन्छ।

तिथिको समयमा घटबढ नभएका कारण यो बर्ष वर्तालुले सूर्योदयअघि नै बिहानको समयसम्म ‘ओटघन’ गर्न पाउँछन्। वर्तालुले सप्तमी तिथिको उत्तरार्धमा भोजन गर्छन्, त्यसलाई ‘ओटघन’ भनिएको हो। वर्तालु आ-आफ्ना सन्तानसँगै बसेर दही–च्युरा, मिठाइलगायतका भोजन गरी पर्वको शुभारम्भ गर्छन्।

त्यसपछि, थुक पनि निल्न नपाउने गरी उपवासलाई निरन्तरता दिनुपर्ने हुन्छ। अति नियम निष्ठाका साथ मनाइने यसपर्वमा सप्तमी तिथिका दिन वर्तालु माताहरु पोखरीमा स्नान गरेर सूर्यदेवलाई जलअर्पन गरी जितिया पर्वको सङ्कल्प गर्छन्।

योपर्व पितृपक्षको अवधिमा पर्छ। तसर्थ, वर्तालु मैथिल ब्राह्मणीले आ-आफ्ना सन्तानको दीर्घायुका साथै दिवङ्गत सासु र आमाको मोक्ष प्राप्तिका लागि अन्य गोत्रकी सधुवा ब्राह्मणीलाई सप्तमी तिथिका दिन निम्तो दिई भोजन गराउँछन्। त्यसपछि, सोही दिन सबै सधुवा वर्तालुले कोदोको रोटीका साथै माछा र विधुवाले अरुवा अरुवाइन खाने गर्छन्।

अष्टमी तिथिको अवधिसम्म उपवासमा बसेकी ब्राह्मणी वर्तालुले नवमी तिथिका दिन अन्य गोत्रका कम्तीमा एकजना ब्राह्मणलाई भोजन गराई दान दक्षिणा अर्पन गर्नुपर्ने हुन्छ। ब्राह्मणले भोजन गरेपछि वर्तालुलाई अन्न जल ग्रहण गर्न आदेश नदिएसम्म वर्त सम्पन्न नभएको मानिन्छ।

जितिया पर्वको सम्बन्धमा भविष्य पुराणमा उल्लेख गरिएको छ, एकपल्ट पार्वतीले महादेवसमक्ष यस्तो कुन वर्त वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुँदैन भनि राखेको जिज्ञासामा महादेवले जिमूतबाहनको कुशको मूर्ति बनाई कलशमा स्थापना गरी त्यसपछि, आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा एउटा पोकरीका रुखको हाँगा गाड्नुपर्छ।

गाडिएको सो हाँगामाथि चीलको आकृति र सोको मुनि एउटा स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगौचर सही हुने र अकाल मृत्युबाट जोगिन्छ भनेर पार्वतीलाई जानकारी गराए। यस पर्वको खास महत्वको रुपमा जितिया पर्वको कथा पनि हो। टोल–टोलकी वर्तालु माताका साथै अन्य महिला एक ठाउँमा भेला भएर बडो जतनका साथ कथा श्रवण गर्छन्। यो कथा जनावर र चरासँग जोडिएको छ।

चिल र स्यालनी यस कथाको मुख्य पात्र हुन्। चिलको जन्म शीलावतीको रुपमा र स्यालनीको जन्म कर्पुरावतीको रुपमा भएको कथामा उल्लेख छ। पूर्वजन्ममा शीलावतीले जितिया पर्व विधिपूर्वक गरेको र कर्पुरावतीले उपवासलाई भङ्ग गरी मासु खाएको वर्णन गरिएको छ।

जितिया पर्व विधिपूर्वक गर्ने शीलावतीको छोरा जीवित रहनु र कर्पूरावतीले वर्त भङ्ग गरेकी कारण एउटा पनि छोरा जीवित नरहनु लगायतका विषयमा जानकारी गराई नियमनिष्ठाका साथ वर्त सम्पन्न गराउने तर्फ प्रेरित गर्नु नै कथाको मुख्य उद्देश्य रहेको श्रीमती अमिताले बताइन्।

सोही कारणले यो पर्व विधिपूर्वक नियमनिष्ठाका साथ गर्नुपर्ने र यो पर्व खण्डित गर्न नपाइने भएकाले बाचुञ्जेलसम्म माताले सन्तानको दीर्घायुका लागि पर्वलाई निरन्तरता दिने गर्छन्। खासगरी तराई जिल्लामा बढो उत्साहका साथ यो पर्व मनाउने तयारीमा जुटेका छन्। कतिपय ठाउँमा जिमूतबाहन देउताको मूर्ति बनाएर विधिपूर्वक पूजापाठ गर्ने गर्छन् भने थारु समुदायका महिला पूजापाठका साथै नाचगानलगायतका कार्यक्रमसमेत आयोजना गर्छन्।

यस पर्वमा हरितालिका तीजको पनि प्रभाव पर्न थालेको छ। जितिया पर्व मनाउने वर्तालुका लागि तीज जतिकै दर खुवाउने चलन सुरु भइसकेको छ। यतिखेर झापा, मोरङ, सुनसरी, सप्तरीलगायत तराईका सहरी क्षेत्रमा सामूहिकरुपमा दर खुवाउने कार्यक्रम व्यापकरुपमा देखिन थालिएको हो। थारु समुदायमा कतिपय वर्तालु माइतमा पुगेर यो पर्व मनाउने गर्छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *