ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरीलाई स्वर्ण

मध्यमाञ्चलले प्रथम युथ तथा जुनियर राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको उपाधि जितेको छ। सोमबार ११ स्वर्ण, ५ रजत र ६ कास्यसाथ मध्यमाञ्चल टिम च्याम्पियन बन्यो। नेपाल एथलेटिकस संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र ७ कास्य जितेको पश्चिमाञ्चल दोश्रो भयो। तेश्रो स्थानमा चित्त बुझाउन बाध्य मध्यपश्चिमाञ्चलले ६ स्वर्ण, ७ रजत र २ कास्य जित्यो। प्रतियोगिताको अन्तिम दिन युथतर्फ महिला ८ सय मिटर दौडमा मध्यमाञ्चलकी सुनीता श्रेष्ठ पहिलो भइन्। सुनीताले निर्धारित दूरी २ मिनेट ४३ दशमलव १७ सेकेन्डमा पुरा गरिन्। पुरुष लङजम्पमा पश्चिमाञ्चलका विकासकुमार साह पहिलो भए।

उनले ६ दशमलव ०४ मिटर हामफाले। सोही स्पर्धाको महिलामा पश्चिमाञ्चलकै विपना परियार ५ दशमलव ०६ मिटर हामफाल्दै शीर्ष स्थानमा रहिन्। पुरुष ८ सय मिटर दौडमा पश्चिमाञ्चलका रोहित अधिकारी पहिलो भए। उनले दौड पुरा गर्न २ मिनेट ०४ दशमलव ५३ सेकेन्ड समय लगाए। त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताअन्तर्गत युथको ४ गुणा सय मिटर रिलेमा मध्यमाञ्चल पहिलो, पश्चिमाञ्चल दोश्रो र पूर्वाञ्चल तेश्रो भए।

सो स्पर्धाको महिलामा पश्चिमाञ्चल प्रथम, मध्यपश्चिमाञ्चल द्वितीय तथा पूर्वाञ्चल तृतीय भए। जुनियरतर्फ पुरुष ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरीले स्वर्ण जीते। उनले ४७ दशमलव ५४ मिटर थ्रो गरे। उक्त स्पर्धाको महिलामा २८ दशमलव ४७ मिटर थ्रो गर्दै सुदूरपश्चिमाञ्चलकी खगेश्वरी ठगुन्ना पहिलो भइन्। पुरुष लङजम्पमा ६ दशमलव २७ मिटरसाथ मध्यमाञ्चलका भुवन महतो पहिलो बने। त्यसै स्पर्धाको महिलामा ४ दशमलव ७७ मिटरसाथ मध्यपश्चिमाञ्चलकी प्रमिला थारु शीर्षस्थानमा रहिन्।

पुरुष ८ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका आशिष चौधरी पहिलो भए। निर्धारित दुरी तय गर्न उनले २ मिनेट ३८ दशमलव ४७ सेकेन्ड समय खर्चे। पुरुष २ सय मिटर दौड २३ दशमलव ७० सेकेन्ड समय लगाउदै मध्यमाञ्चलका खिलबहादुर कार्की पहिलो भए। पुरुष ४ सय मिटर दौडमा मध्यमाञ्चलका चन्देश्वर पटेल पहिलो भए। उनले ५२ दशमलव ५० सेकेन्ड समय निकाले। महिला २ सय मिटर दौड २८ दशमलव १० सेकेन्डमा पुरा गर्दै मध्यपश्चिमाञ्चलकी प्रमिला थारुले पहिलो स्थानमा दौड टुंगाइन्।

विजेतालाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरीप्रसाद यादवलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे। दुईदिने प्रतियोगितामा ५ विकास क्षेत्रबाट ७५ खेलाडीले विभिन्न २६ स्पर्धामा भाग लिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *