थारुको साँस्कृतिक पहिचानमा हमला, पर्वकै दिन परीक्षा

कारी महतो थारु/चितवन
विगत वर्षदेखि नै थारु समुदायले आफ्ना मौलिक चाडपर्वहरुमा विदाको व्यवस्था हुनुपर्ने आवाज उठाउँदै आएका छन् । तर गतवर्षहरु झैं यसवर्ष पनि थारुहरुको चाडपर्वमा विदा हुनुको सट्टा निजि विद्यालयहरुले त्रैमासिक परीक्षा लिने कार्यतालिका बनाएका छन् ।

हरेक वर्ष आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा थारु समुदायले जितिया पर्व मनाउँछन् भने त्यसकै औंसीमा यमोसा अर्थात् पितृऔंसी पर्व मनाउँछन् । यी दुवै पर्वहरु थारु समुदायका मौलिक पर्व हुन् । पितृऔंसी पर्व चितवन र नवलपरासीका थारुहरुले मात्र धुमधाम तरिकाले मनाउँने गर्छन् । यसवर्ष जितिया पर्व असोज ६, ७ र ८ गते परेको छ भने यमोसा पर्व असोज १४ गते परेको छ । तर ती दिनहरुमा चितवनका निजि विद्यालयहरुले दोश्रो त्रैमासिक परीक्षा लिने भएको छ ।

निजी स्कुलका परीक्षा कार्यतालिका देखेर थारु युवा विद्यार्थीहरु आक्रोसित भएका छन् । थाकस चितवन क्षेत्र नं. ७ का सभापति नारायण प्रसाद महतोले निजि स्कुलहरुले जितिया र यमोसा पर्वहरुमा त्रैमासिक परीक्षा राखेर टेन्सन बनाएको बताए । चारैतिरबाट लगातार फोन आएर विदाको व्यवस्था गर्न आवश्यक पहल गर्न दबाब दिएपछि क्षेत्रीय सभापति विनाकारण तनाबग्रस्त हुनु परेको बताए । आक्रोसित थारु युवाहरुले थारुको चाडपर्वमा परीक्षा लिने निजि स्कुलहरुलाई कारबाहि गर्नुपर्ने दबाब दिएपछि क्षेत्रीय सभापतिले जिल्ला सभापति विश्राम महतोलाई यस बारे जानकारी गराएको बताए ।

सरकारी विद्यालयहरुले विगत वर्षदेखि नै स्थानीय विदाको व्यवस्था गरेपनि निजि विद्यालयले विदा नगरी परीक्षा नै लिने भएपछि थारु युवाहरु संघर्षका लागि थाकससँग अनुमति माग्न आएका बताइएको छ । विद्यालयहरुमा कुनै अप्रिय घटना हुन नदिनका लागि क्षेत्रीय सभापति महतोले निजि स्कुलहरुले पनि थारु वर्गको चाडपर्वहरुमा स्थानीय विदाको व्यवस्था गर्नका लागि अनुरोध गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *