चन्द्रप्रसाद चौधरी अध्यक्ष हुने निश्चित, केन्द्रीय सदस्य छान्न हम्मे हम्मे

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले पदाधिकारीहरुको टुंगो लगाएको छ। यद्यपि केन्द्रीय सदस्यहरु भने अझै छान्न सकेको छैन।  सदस्यमा धेरै जनाको दाबी परेपछि मूल आयोजक कमिटीलाई सहमति गराउन हम्मे हम्मे परेको छ। यसअघि तीन जना उपाध्यक्ष रहने प्रावधानलाई बढाएर ५ बनाइएको छ। सोही अनुसार केन्द्रीय कमिटी २७ बाट ३१ बनाउन आयोजक कमिटीलाई दबाब परेको छ। अहिले खुल्लाबाट चार प्रतिनिधि संख्या मिलाउन हम्मे हम्मे परेको सीताराम चौधरीले जानकारी दिए। 

यता प्रतिनिधिहरुले केन्द्रीय कमिटीको संख्या ३१ पुर्‍याउन दबाब दिएको छ। ‘भागबन्डा पुर्‍याउन उपाध्यक्ष संख्या बढाउन मिल्ने तर पूर्ण कमिटी नमिल्ने?,’ एक प्रतिनिधिले प्रश्न गरे। उनले ३१ सदस्यीय कमिटी बनाए समस्या समाधान गर्नुपर्ने बताए।

त्यस्तै यसअघिको सहमतिअनुसारै पदाधिकारीहरुको भने टुंगो लागेको छ। छैटौं महाधिवेशनले अध्यक्षमा चन्द्रप्रसाद चौधरीलाई निर्विरोध निर्वाचित गर्ने भएको छ। त्यस्तै उपाध्यक्षमा विजय चौधरी, ठाकुर करिया प्रधान, ओमनारायण महतो, गीता थारु र प्रभु चौधरी पनि निर्विरोध निर्वाचित हुने भएका छन्।  महासचिवमा भने विकास चौधरीलाई निर्विरोध हुने भएका छन्।

त्यस्तै सचिवमा रोशन चौधरी, अजय चौधरी र प्रेमा चौधरी र कोषाध्यक्षमा सीताराम चौधरी पनि निर्विरोध निर्वाचित हुने भएका छन्। सहमतिमा कतैबाट दाबी विरोध नआएपछि उनीहरु निर्विरोध निर्वाचित हुने भएका हुन्। केन्द्रीय सदस्यको टुंगो लागेपछि मात्र निर्वाचन मण्डलले निर्वाचित भएको घोषणा गर्नेछ।

प्रतिनिधिको कन्तविजोग, खानेबस्नेधरी आयोजकले नमिलाएको आरोप

विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुको कन्तविजोग भएको छ। आयोजकले न उनीहरुलाई खानको राम्रो व्यवस्था गरेको छ। न बस्नलाई हटलको। आज बेलुकाको खाना कतिपय प्रतिनिधिलाई नपुगेको गुनासो प्रतिनिधिहरुले गरेका छन्। यही झोकमा उनीहरुले आयोजकविरुद्ध नाराबाजी पनि गरेका छन्। ‘दिनभरि सहमतिका नाममा समय खेर फाल्छन्। रात भएपछि सहमति सहमति भनेर डम्फु बजाउँछन्। प्रतिनिधिहरुको समस्या बुझेर त बेलैमा सहमति गर्नुपर्छ नि,’ कैलालीका एक प्रतिनिधिले गुनासो पोखे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *