भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीलाई गठबन्धनको ध्यानाकर्षण

बिहीबारदेखि भारतको राजकीय भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले भेटगरी आफ्ना मुद्दाबारे ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज पुगेको मोर्चाको प्रतिनिधिमण्डलले संविधान संशोधन विधेयकलाई चाँडो संसद्मा दर्ता गराउन प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरेको थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले गठबन्धनका प्रमुख मागमा करिब सहमति नजिक पुगेको र संशोधन विधेयक चाँडै संसद्मा दर्ता गराउने आफ्नो चाहना रहे तापनि समय अपुग भएकाले भारत भ्रमणअघि सम्भव नभएको सुनाउनुभएको थियो ।

“भारत भ्रमण जानुअघि नै विधेयक दर्ता गर्न खोजेको समय पुगेन, हामीबीच कन्फ्युजन नहोस्, यसलाई भारतसँग जोडेर हेरिनुहुन्न । हाम्रो समस्या हामी आफँै समाधान गर्ने हो, अहिलेसम्म के प्रगति भएको छ, त्यो महत्वपूर्ण विषय हो”– प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै गठबन्धनका सचिवालय सदस्य केशव झाले राससलाई भने।

उहाँका अनुसार संविधान संशोधनको विषय सकारात्मक रुपमा अघि बढेको र प्रदेश सीमाङ्कनका सन्दर्भमा एउटा आयोग बनाएर टुङ्गो लगाउने, नागरिकता संविधानको प्रावधानअनुरुप हुने तथा भाषा र समानुपातिकप्रतिको विषयमा करिब सहमति भइसकेको प्रधानमन्त्रीले जानकारी गराएका थिए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसहितको उपस्थितिमा भएको छलफलमा गठबन्धनकातर्फबाट दोस्रो बरियताका नेताको सहभागिता थियो । नेता अशोक राई, सर्वेन्द्रनाथ शुक्ल, महेन्द्र यादव, राजकिशोर यादव, अनिल झा, केशव झालगायतका नेता सहभागी थिए। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *