वाम नेता प्रभुनारायण चौधरीको योगदानको स्मरण, पत्रकार चौधरी सम्मानित

नेपालको राजनीतिक विकास क्रममा राजनीतिज्ञ प्रभुनारायण चौधरीले पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गरिएको छ। प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले उनको सातौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सहभागीले चौधरी कम्युनिस्ट आन्दोलनका नेता तथा सामाजिक सुधारका अगुवा भएको विचार व्यक्त गरेका हुन्।

एनेकपा (माओवादी)का नेता दीनानाथ शर्माले उत्पीडित वर्ग, समुदाय तथा सर्वहारा वर्गका नेताका रुपमा चौधरीलाई आफूले बुझेको बताउँदै उनको चिन्तनले मुलुकमा सामाजिक न्याय तथा समानतामूलक समाज निर्माणमा योगदान गरेको स्मरण गरे।

सांसद जितेन्द्रदेवले लगनशील स्वभावका चौधरीले सम्पन्न परिवारमा जन्मेर पनि अन्याय अत्याचारका विरुद्ध सङ्घर्ष गरेको विचार व्यक्त गर्दै उनी सबैका लागि निष्ठा र आदर्शको प्रेरणाको स्रोत भएको बताए।

प्रतिष्ठानका उपाध्यक्ष शान्ता चोधरीले देश र जनतालाई स्वतन्त्र र सम्पन्न बनाउनका लागि स्वर्गीय चौधरीले लोकतन्त्रको स्थापना गर्नुपर्ने विचार फैलाउँदै निरंकुश शासनका विरुद्ध जनमत सिर्जना गरेको स्मरण गरे।

विसं १९९९ मा सुनसरीको बकलौरी गाविसमा जन्मिएका चौधरीले नेकपा संयुक्त माक्र्सवादीका संस्थापक अध्यक्ष भई जिम्मेवारी बहन गरेका थिए।

विसं २०२५ मा झोरा आन्दोलनको नेतृत्व गर्दै जेल परेका चौधरी पटकपटक गरी १७ वर्ष जेल बसेका थिए। कानुनमा स्नातक चौधरी विसं २०१५ देखि नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए।

उनको स्मरणमा एभिन्युज टेलिभिजनका पत्रकार किशोर चौधरी, गायिका उमा शाह लगायतलाई सम्मान गरिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *