थारु कोटा माग्दै नेपाल पत्रकार महासंघका अध्यक्षलाई ज्ञापन पत्र

नेपाल पत्रकार महासंघको केन्द्रीय विधानमा पदाधिकारी र सदस्यहरुको थारुकोटा छुट्याउन माग गर्दै थारु पत्रकार संघ नेपालले महासंघलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । भाद्र २५ गते चित्तवनको सौराहामा भएको केन्द्रीय भेलाको निर्णयअनुसार संघले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा गएर महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष डा. विष्टले ज्ञापनपत्रले आफ्नो ध्यानाकर्षण भएको र त्यसलाई केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने प्रतिवद्धता जनाएको संघका अध्यक्ष कृष्णराज सर्वहारीले बताए। देश संघीय संरचनामा गइसकेकाले संविधानमा भएको व्यवस्थाअनुरुप थारु क्लष्टरअनुसार प्रतिनिधित्वको माग संघले गरेको हो।

संघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘संविधान २०७२ मा थारु समुदायलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएकाले सोहीअनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटाको छुट्टै व्यवस्था गरियोस् ।’

महासंघको विधानमा हाल मधेसी, महिला, समावेशी कोटा पदाधिकारीमा भएपनि दलित, मुस्लिम लगायतका कोटाहरु केन्द्रीय सदस्यदेखि जिल्लास्तरसम्म रहेको छ। यसअघि प्रेस चौतारी नेपालले पनि थारु कोटा केन्द्रीय कमिटीमा कार्यान्वयन गरिसकेको छ।

देशको चौथो ठूलो जनसंख्या ओगटने थारु समुदायलाई समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयनका लागि पनि राज्यको सबै संयन्त्रमा छुट्टै कोटाका लागि संविधानमा क्लष्टर फरक राखिएको छ। लोकसेवा आयोग, राजनीतिक दल, शासन प्रशासनमा समेत अब थारुले आफ्नो छुट्टै कोटा संविधानअनुरुप हक राख्छन्।

महासंघको यही २९ र ३० गते पाल्पाको तानसेनमा केन्द्रीय कमिटी बैठक तथा राष्टिय भेला हुन गइरहेको छ। सो भेलामा विधानको मस्यौदा प्रस्तुत हुने कार्यक्रम रहेकाले परिमार्जित विधानमा थारु पत्रकारको माग परोस् भन्ने संघको चाहना भएको अध्यक्ष सर्वहारीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *