‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुरका गणेश चौधरीलाई प्रदान

थारु पत्रकार संघ नेपालले ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका गणेश चौधरीलाई प्रदान गरेको छ। चितवनको सौराहामा आयोजित पाँचौं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलामा पत्रकार चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो।

थारुका समसमायिक मुद्दा र टीकापुर घटनापछि उब्जेको असहज परिस्थितिमा पनि निरन्तर थारुका मुद्दा उठाइरहेका उनलाई संघको केन्द्रीय कार्यसमितिले पुरस्कार दिने निर्णय गरेको थियो। हालसालै उनले कृष्णराज सर्वहारीको संयुक्त लेखमा थरुहट आन्दोलन : टीकापुरको कथा नामक किताब बजारमा ल्याएका छन्। पुरस्कार राशि ११ हजार एक सय ११ रुपैयाँ रहेको छ।

उनले पुरस्कार ग्रहण गर्दै यसले थम जिम्मेवारी प्रदान गरेको बताए। ‘यो पुरस्कार दिएर मलाई थप जिम्मेवारी प्रदान गर्नुभएको छ। यो जिम्मेवारी मैले राम्रोसँग बहन गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ उनले भने।

यो पुरस्कार थारु पत्रकार संघ नेपाल र सतौन स्मृति ट्रस्टको पहलमा स्थापना गरिएको हो। उक्त ट्रस्ट नेपाली कांग्रेसका सांसद एवं नाइटिङ्गेल फाउन्डेसनका फाउन्डर तेजुलाल चौधरीले आफ्नो बुबाको नाममा स्थापना गरेका छन्। सोही ट्रस्टबाट सांसद चौधरीले वर्षेनि ११ हजार १ य ११ रुपैयाँको पुरस्कार घोषणा गरेका हुन्।

img_0257त्यस्तै थारु पत्रकार संघ नेपालको दाङ शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ। प्रमुख अतिथि मनोजकुमार चौधरीले दाङ अध्यक्ष सन्तोष दहितलाई सम्मान पत्र प्रदान गरेका हुन्।

img_0198कार्यक्रममा चितवन शाखाका अध्यक्ष कारी महतोको प्रकाशक तथा  सम्पादनमा ‘सङ्हाति’को द्वैमासिक पत्रिकाको किताब पनि विमोचन गरियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *