थारु पत्रकारको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा

कारी महतो थारु/चितवन।

विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका तथा मिडियाहरुमा आबद्ध थारु पत्रकारहरुको छाता संगठन थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘थारु समुदायको मुद्दा उठान, थारु पत्रकार संघको अभियान, सबै मिली जोगाऔं, थारुहरुको पहिचान’ मुख्य नारासहितको राष्ट्रिय भेला पर्यटकीय नगरी चितवनको सौराहामा भदौ २५ गते हुन गइरहेको छ।

भेलाको उद्घाटन सत्र जंगल सफारी लजको सेमिनार हलमा हुने निश्चित भएको छ। जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले हालसालै ‘मौनता’ नामक कृति प्रकाशन गरेका छन्। उनले थारु पत्रकार संघको राष्ट्रिय भेला हुन लागेको खबरले खुसी हुँदै सेमिनार हल सौजन्य उपलब्ध गराइदिने बताए।

भेलाका प्रतिनिध तथा पर्यवेक्षकहरु २४ गते नै चितवन सौराहा आउनेछन्। सौराहामा होटल स्वस्तिक लजमा आवास र खानाको व्यवस्था मिलाइएको छ। होटल स्वस्तिकका सञ्चालक सुरेन्द्र चौधरीले कार्यक्रम व्यवस्थापन गर्नका लागि विशेष सहयोग र भूमिका निर्वाह गर्दै आएका छन्। काठमाडौं उपत्यका र विभिन्न जिल्लाबाट आउने प्रतिनिधिहरुलाई २४ गते बेलुका ७ः३० देखि ९ः०० बजेसम्म थारु कल्चर हाउसमा हुने साँस्कृतिक देखाउने कार्यक्रम छ।

भदौ २५ गते बिहान होटल स्वस्तिकमा चिया नास्ता पश्चात जंगल सफारी लजको सेमिनार हलमा ठीक ७ः०० बजेदेखि उदघाटन समारोह सुरु गर्ने कार्यक्रम छ। उदघाटन समारोहमा चितवनबाट प्रकाशन हुन लागेको “सङ्हाति” द्वैमासिकको पनि विमोचन गरिनेछ।

उदघाटन समारोहपछि बन्द सत्र सुरु भएको बीच समयमा सबै प्रतिनिधि पर्यवेक्षकहरुलाई बिहानको खाना होटल स्वस्तिकमै व्यवस्था मिलाइएको छ। बन्द सत्र सकिएपछि चितवन शाखाको पुनर्गठन पनि गर्ने कार्यक्रम छ । त्यसैले चितवनका सम्पूर्ण थारु पत्रकार तथा थारु सञ्चारकर्मीहरुलाई भेलामा आमन्त्रण गरिएको छ।

२५ गते बेलुकाको खाना र आवासको व्यवस्था पनि होटल स्वस्तिकमै मिलाइएको छ। जंगल सफारी लज सौराहाको मुख्य बजारमा गैंडा चोकको तीनचार घर उत्तरतर्फ रहेको छ भने होटल स्वस्तिक ओशो क्याम्पको पछाडि एकान्तमा छ। यी दुई ठाउँमा पुग्न घुमेर जानु पर्ने भएकाले केही झन्झट हुने देखिए तैपनि प्रतिनिधिहरु सौराहा बजार मज्जाले घुम्न पाउने भएको छ।

कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि भरतपुरस्थित ओएसिस मेडिकल कलेज, जेपी मोटर्स, जिल्ला विकास समिति लगायत संघसंस्थाले सहयोग गर्ने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *