थारुलाई अपराधी भनेपछि संसद्‍मा जंगिए थारु सांसद

व्यवस्थापिका संसदमा एमालेका एक सांसदले टीकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको कारवाही माग गरेपछि फोरम लोकतान्त्रिकका सांसदले नियमापत्ति गरेका छन् । तर फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले गरेको नियमापत्ति संसदको कुन नियमावली अन्तर्गत हो भन्दै एमालेका अर्का सांसद चुँडामणी जंगली विकले प्रश्न उठाएपछि सभामुखले हस्तक्षेप गर्नु परेको छ ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा शून्य समयमा बोल्ने क्रममा एमालेका सांसद हर्कबोल राईले ९ जना प्रहरी र नाबालकको हत्या गर्ने टिकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति दिन सरकार लागेको भन्दै आपत्ति जनाएका थिए ।

उनले जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको सजाय हुनुपर्ने माग गरेपछि सांसद चौधरीले नियमापत्ति गरे । उनले अदालतमा बिचाराधीन विषयमा कसैलाई जघन्य अपराधी भन्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे ।

उनले सांसद राईको भनाई संसदको रेकर्डबाट हटाउन माग गरेपछि सभामुख ओनसरी घर्तीले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताइन् । लगत्तै उठेका एमाले सांसद चुडामणी विक जंगलीले चौधरीको नियमापत्ति संसदको कुन नियमावलीको कुन धारा अन्तर्गत हो भन्ने प्रश्न गरे । यो विषयलाई नतन्काउन आग्रह गर्दै सभामुखले उनलाई बस्न आग्रह गरेपछि साम्य भयो ।

यसैबीच टीकापुर हत्याकाण्डको विषय संसदमा नउठाउन थरुहट पार्टीकी सांसद गंगा चौधरी सत्गौंवाले चेतावनी दिएकी छन् । व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै चौधरीेले टीकापुर काण्ड राजनीतिक कारणले भएको भन्दै यो काण्डमा राजनीतिक व्यक्तिमाथि कारबाही हुन नसक्ने बताइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *