खुल्ला पत्र : प्रधानमन्त्रीज्यु, थारु चेलीलाई बलात्कार गर्न छुट छ ?

सिताराम थारु।
प्रधानमन्त्री ज्यू क्रान्तिकारी अभिवादन । कस्तो चल्दैछ सरकार ? केपी ओली उखाने टुक्केलाई फालेर दोस्रो पल्ट प्रधानमन्त्री हुन भएकोमा धेरै खुसी लाग्यो। हजुरलाई हृदयदेखि बधाई दिन चाहन्छु । हाम्रो तराईमा आगो लगाएर दिपावली मनाउने केपी ओलीदेखि कसरी खुसी हुन्छौं ? आज हिम्मत गरेर तपाईँ संघीयता विरोधी, पहिचान विरोधी मान्छेलाई हाम्रो सहयोग लिई ढाल्नु भो, हामी उत्पीडित जनता निक्कै हर्षित छौं ।

संघीय गठबन्धनको रिले अनसन चलेको दिन हजुर आउनु भाथ्यो । तराई मधेशका जनतासंग लभ परेको वर्षौं दिनपछि माइती आएको हजुरले जानकारी गराउँदा हामी शोषित जनता निक्कै खुसी भयौं । त्यो दिन माइतीसंग सहयोग माग्नुभयो । दुश्मनलाई पराजित गर्नको लागि र हामी तराईबासी दिलदार भएको नाताले हजुरलाई फेरि विश्वास गर्दै सहयोग गर्ने बाचा गर्यौं । केही दिन पछि मिलेर दुश्मनलाई ढाल्ने योजना बन्यौं । हामी थारु, मधेसी, जनजाति, दलित, मुश्लिम उत्पिडनमा परेका सबै जनता ३ बुँदे शर्त सहित फेरी एकचोटी हजुरको झोला बोक्न तयार भयो । खोक्रो राष्ट्रबादीलाई हामी मिलेर ढाल्न सफल भयो । त्यो दिन धेरै आन्नद महसुस भयो खुट्टामा पाकेको घाउको खिल निस्केको झैँ महसुस भयोे ।

जुन दिन केपी ओली ढल्दै थिए । म पनि टिभी हेर्दै थिए सरकार । त्यो दिन हजुर निक्कै टेनसनमा हुनुहुन्थ्यो । तर पनि केपी ओलीको बीच बीचमा टुक्के भाषणले हजुलाई मुसकुराउन बाँध्य बनाइराखेको थियो । तर प्रष्ट झल्किन्थ्यो सरकार हजुरको त्यो बनावटी मुसकुराहट । हजुरलाई केपी ओली ज्यूले दन्त्य कथा पनि सुनाउनु भयो हजुरलाई याद छ कि छैन तर मलाई झलझल्टी याद आइराछ त्यो केपीजीको दन्त्य कथा । धेरै भावुक हुँदै केपीजीले त्यो फलामे बन्चरो र रुखको कथा सुनाउनुभयो । रुख रुँदै थियो, कसैले त्यो रुखलाई सोध्यो । रुख दुखि हुँदै जवाफ दिए, मलाई काट्न सहयोग गर्ने त मेरै जात पो रैछ । वन्चरोको बिद हजुरलाई र रुख चाहिँ आफूलाई केपीजीले दाज्दै ब्यंग हान्नुभयो । हजुर पनि कति चलाख मुस्कुराएर त्यो टुक्के केपीको बास्तविकतालाई कसैले चाल नपाउने गरी पन्छयाई दिनु भयो । त्यो दिन हजुरलाई माने र बुझे राजनीति गर्न विभिन्न सिप चाहिँदो रैछ । आज बल्ल बुझे मान्छेहरु हजुरको झोला किन बोकेको भनेको त । यही चलाखीको कमाल रहेछ ।

आज महिना दिन वित्न नपाउँदै एउटा दुखद समाचार सुने मन ठाम्न नसकी हजुरलाई खुला पत्र लेख्न बाँध्य भए । उही टीकापुरको घटना एक वर्ष वित्दा पनि पीडितहरुले न्याय नपाएकाले हजुरँग भेट्न हजुरको दरबार आका रैछन । भेटमा हजुरले पीडितसँग मन छुने आश्वासन दिनु भयो- ‘टीकापुरको हत्यामा संलग्नलाई माफी दिन कठिन’ सरकार कुरा त निक्कै सहि गर्नु भयो । तर शंका डर हामीजस्तो कमजोर पहुँच नभएको जनतालाई खट्किरहन्छ सताइरहन्छ । हजुरको त्यो भनाईले मेरो मनमा धेरै प्रश्न उब्जाई दियो र हजुरलाई प्रश्न गर्न मन लाग्यो । हत्याको कानुन टीकापुरको थारुलाई मात्र लाग्छ कि कर्फ्युको समयमा थारुको घर छानी छानी आगो लगाउने, थारु चेलीहरुलाई घर घरमा गइ बलात्कार गर्ने अपराधीलाई पनि कानुन लाग्छ सरकार ? हत्याको कानुन टीकापुरको थारुलाई मात्र लाग्छ कि सर्वोचोले अपराधी प्रमाणित गरिसकेको माओवादीलाई पनि लाग्छ सरकार ? यदि लाग्दैन भने नेपालमा किन दुइटा कानुन छ सरकार ? कानुन भन्ने चिज एउटै हुदैन र ? सरकार हामी थारुले नेपालमा दुइटा कानुनको महसुस गर्दैछौ । एउटा थारुको लागि, अर्को तपाईँहरुको लागि जो सत्तामा बस्छन् राज्यलाई हिडाउँछन् ।

सरकार हजुरलाई एकचोटि फर्केर हेर्न आग्रह गर्छु । जातीय विभेद्, वर्गीय विभेद्, लिंगीय विभेद् यी सबै विभेद्, शोषणविरुद्धमा तपाईँले नै हतियार उठाउन सिकाएको होइन र ? हजुरले जे सिकाउनु भो हामीले उही टीकापुरमा गरिम । अन्याय, अत्याचार, शोषण, दमनको विरुद्धमा विद्रोह गरिम । हजारौं हजार वर्षदेखि थिचिएका गुम्सिएका पीडा ठेग्न नसकी टीकापुरमा विष्फोट गरिम । यो त प्राकृतिक नियम हो सरकार । भकुण्डोमा हावा भरिँदै गयो भने अन्त्यमा ठेग्न नसकी विष्फोट हुन्छ ।

तर नेपालका नश्लवादी मिडियाहरु थारुलाई आतंककारी, विखण्डनकारी, देशद्रोही मात्र देखे । ती नश्लवादी मिडियाहरुलाई जानकारी गराइदिनुस् सरकार, थारुको चेलीलाई बलात्कार गर्न छुट छ, कर्फ्युको समयमा थारुको घर छानी छानी आगो लगाउन छुट छ, गरिब निहत्था थारुलाई गोली हान्न छुट छ । सोझा थारुलाई जे गर्न नि छुट छ सरकार । यदि सक्नु हुन्छ भने देश निकाला गर्नुस् तराईका भूमिपुत्र थारुलाई । किनकि उनीहरु नेपाली जनता होइनन् उनीहरु देशद्रोही हुन् यही सुन्न भन्न नश्लवादी मिडियाहरुलाई आन्नद आउँछ । जति आनन्द लिनु छ लिन दिनुस यहाँका नश्लवादी मिडियालाई । हामीलाई थाहा छ ती नश्लवादी मिडियाहरुमा सच्च्याइ लेख्ने हिम्मत कहाँ छ ? आज यही दुई चार दानामा विकेका मिडियाहरुले थारुको पहिचान, अधिकार इतिहास लुट्नमा लागेका छन् सरकार । यो हामीले राम्ररी बुझेका छौँ र तपाईँ पनि बुझ्नुस सरकार, चार हजार थारुले बलिदानी गरेर त्यो कुर्सीमा बस्न लायक बनाएका हुन । इमान्दार थारुहरुले तपाईँलाई कहिल्यै ढोका दिएका छैनन् । तर तपाईँबाट पटकपटक उनीहरुलाई विश्वासघात भएको छ । सायद तपाईँमा थारुको पीडा, थारुको वेदना बुझ्ने क्षमता नभएर होला । कुनै दिन समस्या पर्दा माइत आउनुस् तर यसपाली माइती आउँदा असली थारु बनेर आउनुस् अनिमात्र माइतीको पीडा महसुस गर्न सक्नुहुन्छ ।

लेखक: बर्दियाली थारु विकास मञ्चका अध्यक्ष हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *