टीकापुरमा थारू पहाडीले सँगै खेले देउडा

सामाजिक न्याय तथा मानव अधिकार समितिका सदस्य तथा सांसद प्यारेलाल राना सुदूर तथा मध्यपश्चिम पहाडको प्रसिद्ध डेउडा गीतमा मजाले नाचे । टीकापुरथित हाटबजारमा डेउडा नाच्ने उनी एक्ला थारू थिएनन् । उनीसँगै गंगा चौधरी, जोधी चौधरी लगायतले गीतको तालमा पहाडी समुदाय सँगै पाइताला मिलाए ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, प्रहरी नायव उपरीक्षक गौतम मिश्रसहितले खेलेको डेउडाको सन्देश थियो, ‘समुदाय मिलेर बसौं, समुदायबीचको तिक्तता कम गरौं ।’ कैलालीको टीकापुरमा गत वर्ष भदौ ७ र ८ गते भएको हिंसात्मक घटनाका कारण सृजित कठिन अवस्थामा दुबै समुदाय एकअर्काका विरोधीजस्ता भएका थिए । समुदाय बीचको दूरी कम गर्न र एक अर्काको भावना साट्न दुई समुदाय एउटै मञ्चमा उपस्थित भए । शिक्षक संघ कैलालीले सामाजिक सद्भावका लागि गरेको तीज तथा अटारी मिलन कार्यक्रममा राजनीतिक दलका नेता तथा सर्वसाधारणसँगै टीकापुर घटनाका पीडितसमेत सहभागी भए ।

टीकापुर घटनामा हत्या गरिएका डेढ वर्षीय बालक टेकबहादुर साउदका बाजे जंगबहादुरले सर्वसाधारण थारू समुदायसँग आफ्नो केही गुनासो र तिक्तता नरहेको बताए । उनले डेढ वर्षीय बालक मार्ने अपराधीलाई राज्यले कारबाही गर्नुपर्ने माग गरे । आगजनी पीडित लालवीर चौधरीले बिग्रिएको मनस्थितिलाई एकीकृत गर्न खोजिएको कार्यक्रमको प्रशंसा गर्दै हिजो मिलेर बसेकाहरूको पीडा सम्बोधन गर्न राज्यले तदारुकता देखाउनुपर्ने बताए । ‘टीकापुरको कहालीलाग्दो र अदृश्य हाउगुजीलाई कसरी साम्य पार्ने भन्ने कुरामा राजनीतिक दल, प्रशासन, सरोकारवालाले गम्भीर भएर निकास खोज्नुपर्‍यो,’ उनले भने ।

सांसद रानाले गत भदौ ७ को घटनामा संलग्न रहेको आरोपमा केही जेलमा रहेको र आगजनी घटनामा संग्लनहरू खुलेआम हिँडिरहँदा समस्याको समाधान हुन नसकेको बताए । ‘यहाँका राजनीतिक दलले दुवै घटना आपराधिक हो वा राजनीतिक हो ? निर्णय गर्नुपर्‍यो । दुवै घटना आपराधिक हुन् भने आपराधिक भन्नुपर्‍यो, राजनीतिक हुन् भने राजनीतिक भन्नुपर्‍यो,’ उनले भने ।

स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनअघि यो तिक्ततालाई बिर्सन जरुरी रहेको सहभागीहरूले बताए । सांसद रानाले आफू सदस्य रहेको सामाजिक न्याय तथा मानव अधिकार समितिले टीकापुर घटनाको अवलोकन भ्रमणपछि दुवै घटनाका दोषीलाई कानुनसम्मत कारबाही गर्नुपर्ने निर्णय गरेको सुनाए । प्रमुख जिल्ला अधिकारी रिजालले हरेकले आफ्नो अधिकारको खोजी गर्न र असहमति राख्न पाउने बताए । ‘तर असहमति राख्दा सभ्य तरिकाले अरूलाई असर नपर्ने गरी राख्नुपछर्,’ उनले भने ।

कांग्रेस महासमिति सदस्य रणबहादुर रावलले अब टीकापुरका सबै समुदायका अगुवाहरूले मिलेर चुनौतीको सामना गर्दै समस्याको निकास खोज्न जरुरी रहेको बताए । थारू कल्याणकारीका जिल्ला उपाध्यक्ष जोधीप्रसाद चौधरीले संसारमा महिला र पुरुष दुइटा मात्रै जात भएको बताउँदै मनैबाट भदौ ७ ले ल्याएको तिक्तता भुलेर पहिलेझैं मिलेर बस्न आग्रह गरे ।

कान्तिपुर दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *