अवैध मानव ओसारपसारमा पासाङ शेर्पा र डन्डु शेर्पा पनि तानिए

पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन् । उनीहरूले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रुपैयाँ असुलेर १३ जना गैरकलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्‍याई उतै छाडेर आएको आरोप लागेको छ ।

पासाङ पूर्वसभासद तथा नयाँ शक्ति नेपालका सचिवालय सदस्यसमेत हुन् । मेक्सिकोमा आयोजित हिमाली आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई त्यहाँ लगेका थिए । जाँदा १५ जना गए पनि फर्कंदा उनीहरूमात्र फर्किए । ती १३ जना अमेरिका पुगिसकेका छन् ।

मेक्सिको जाने तयारीकै क्रममा ‘पैसा लिएर उतै छाड्ने योजनाअनुसार गैरकलाकारलाई कलाकार बनाएर लैजान लागेको’ भन्दै प्रहरीमा उजुरी परेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो अधिकारीका अनुसार उजुरीपछि पासाङसहित कलाकार बनेर मेक्सिको जाने तयारीमा रहेका ६ जनासँग सोधपुछ गर्दा कार्यक्रममा सहभागी भएर फर्कने बताएपछि छाडिएको थियो । कार्यक्रम सकाएर २ जना मात्रै नेपाल फर्किएपछि प्रहरीले मानव ओसारपसारमा पुन: अनुसन्धान अगाडि बढाएको हो । कार्यक्रममा जानुअघि पासाङले गएका सबै फर्कने बताएकाले प्रहरीले उनलाई अनुसन्धानको दायरामा राखेको छ ।

‘कार्यक्रममा सहभागी हुन जानुअगाडि पासाङविरुद्ध उजुरी आएको थियो,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘उनले कार्यक्रम सकिएपछि सबै फर्किने हुन् भनेकाले छाडेका थियौं, अहिले सबै अमेरिका पुगेको सूचना आएपछि पुन: अनुसन्धान सुरु गरेका छौं ।’

तिब्बतसम्बन्धी संस्था कासा टिब्बेत मेक्सिको नामक संस्थाले आयोजना गरेको हिमाली संस्कृतिसम्बन्धी कार्यक्रममा कलाकार लैजाने भन्दै पैसा असुलेको सूचनाका आधारमा गत असोजमै पासाङविरुद्ध जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा उजुरी परेको थियो ।

गृहिणी र व्यापारीलाई कलाकार भन्दै उनीहरूले प्रतिव्यक्ति ३० लाख लिएर मेक्सिको लगेर छाडेर आएको आरोप छ । पासाङले कलाकार बनाएर लगेका ताप्लेजुङकी पासाङ छोपेन, सोनाम डोमा, दावा फुटिक, कार्मा बाग्या, पासाङ शेर्पा, कासाङ शेर्पा, पेम्बा नुपु शेर्पा, लोप्साङ लामा, दावा छिरिङ शेर्पा, कान्छा शेर्पा, ग्याल्जेन शेर्पा अहिले अमेरिकामा छन् । ग्याल्जेन पासाङका आफ्नै भाइ हुन् ।

गोरखाका तेन्जिङ शेर्पा र इलामकी आरती राई समेत कलाकार बनेर अमेरिका पुगिसकेका छन् । यी मध्ये पेम्बा नुपु र पासाङ छोपेन अमेरिकाको टेक्सासको कारागारमा छन् । अवैध रूपमा प्रवेश गरेको आरोपमा पक्राउ परेका ११ जना भने धरौटीमा छुटिसकेका छन् ।

गैरकलाकारलाई कलाकार बनाउँदै उतै छाड्ने योजनासहित १३ जनालाई मेक्सिको लैजाने तयारी गरेको भन्दै गत असोजमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा उजुरी परेको थियो । उजुरीको प्रारम्भिक छानबिनपछि प्रशासन कार्यालयबाट निवेदन जिल्ला प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा आइपुगेको थियो ।

कान्तिपुर दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *