भरत खवासको गोलमा आर्मी च्याम्पियन

आर्मीले नारायणगढको क्याम्पाचौरमा सञ्चालन भइरहेको चौथो नेपाल कपको उपाधि जितेको छ । उसले सोमबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो । आर्मीका कप्तान भरत खवासले खेल सुरु भएको १९ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाए । आर्मीकै सुमन अर्यालले ३० औं मिनेटमा गोल थप्दै टिमलाई मजबुत अवस्थामा पुर्‍याए । दोस्रो हाफमा पुलिसले आक्रामक खेले पनि गोल फर्काउन सकेन ।

पुलिसले पटक–पटक गोल गर्ने अवसर गुमाएको थियो । आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट प्रदर्शन गरेपछि पुलिस गोल गर्नबाट चुकेको थियो । पहिलो हाफको २९ औं मिनेटमा पुलिसका कप्तान जुमनु राई बाहिरिएर तीर्थ राना मैदान प्रवेश गरेपछि आर्मीले त्यसको फाइदा उठायो ।

आर्मीले ३ लाख र पुलिसले २ लाख रुपैयाँ हात पारे । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका पुलिसका डिफेन्डर रविन श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा ३ गोल गरेका आर्मीका कप्तान भरत खवास सर्वाधिक गोलकर्ता र फाइनल खेलको म्यान अफ द म्याच आर्मीकै सुमन अर्याल घोषित भए । उनीहरू सबैले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको समापनका अवसरमा पूर्वफुटबल खेलाडीहरू सूर्यमान श्रेष्ठ ‘कालु’, छन्नुराम चौधरी, रवीन्द्र श्रेष्ठ, वीरेन्द्र पाण्डे र अरुणा गुरुङलाई सम्मान गरिएको थियो । प्रतियोगितामा ११ टिम सहभागी थिए ।

http://bit.ly/2bad6Y6




Leave a Reply

Your email address will not be published. Required fields are marked *