संविधान संशोधन हुनैपर्ने थारुको माग

कारी महतो/चितवन- नेपालको संविधानमा थारु लगायत आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिलाहरुको जायज आवाज छुटेर अपुरो र अधुरो भएकोले अनिवार्य रुपमा संशोधन हुनैपर्ने र सबैले अपनत्व स्वीकार गर्ने संविधान बनाउनु पर्ने थारु समुदायले पुनः निश्कर्ष निकालेका छन्।

संविधान संशोधन लगायतको विभिन्न माग राखी आन्दोलनरत थारु समुदायले २२औं विश्व आदिवासी दिवस (अगष्ट ९) को सन्दर्भमा पूर्वी चितवनको खैरहनीमा ‘नयाँ संविधान र आदिवासी जनजातिका सबाल’ विषयक कार्यशालामा उक्त निश्कर्ष निकालेका हुन्। ‘पहिचान र अधिकारसहितको सङ्घीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने मूल नारा सहितको उक्त कार्यशाला थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ६ र ७ तथा शहिद कमल विपिन स्मृति प्रतिष्ठान एवम् समाद सेन्टर खैरहनीको संयुक्त आयोजनामा भएको हो।

कार्यक्रमको पहिलो सत्रमा शहिद कमल विपिन स्मृति प्रतिष्ठानका अध्यक्ष जीत बहादुर महतो र अधिकारकर्मी संजय चौधरीले संयुक्त रुपमा ‘नेपालको संविधान २०७२ एक सिंहावलोकन’ सम्बन्धि मानवअधिकार र समावेशी दृष्टिकोण एवम् थारु भाषाविज्ञ लक्ष्मण प्रसाद चौधरीले ‘चितवनको थारु भाषा साहित्य र वर्तमान अवस्था’बारे कार्यपत्र प्रस्तुत गरे। नेपाल अदिवासी जनजाति महासंघ चितवनका सचिव घननाथ महतो र चन्द्रमणि महतोले आफ्नो रायसहित क्रमशः दुवै अवधारणा पत्र बारे टिप्पणी गरे।

कार्यक्रमको दोस्रो सत्रमा सहभागीहरुले आ–आफ्ना विचारसहित छलफल गरी निश्कर्ष निकालेका थिए। तेश्रो सत्रमा कार्यक्रमका अतिथिहरुले आफ्ना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस) चितवनका जिल्ला सभापति विश्रम महतो, थाकसका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भजुमनराम महतो, थाकसका पूर्व केन्द्रीय सदस्य चन्द्र कुमारी चौधरी, नेफिन चितवनका सदस्य राम बहादुर भुजेल, थाकसका केन्द्रीय पार्सद कृष्णलाल चौधरी, पूर्व पार्सद राजेन्द्र चौधरी, पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरी र पूर्व जिल्ला सभाापति जोखा प्रसाद चौधरी लगायत सहभागीहरु वीरेन्द्र महतो, सन्त कुमार चौधरी, रामजीवन चौधरी, सीता चौधरी, चन्द्रविक्रम चौधरी, नारायण चौधरी, चुडामणि चौधरीले मन्तव्य व्यक्त गरेका थिए।

चितवन जिल्लाको नगरपालिका र गाविसहरुलाई मर्ज गरी स्थानिय तहको पुनर्संरचना गर्ने विषयमा चितवनका थारुहरुले साउन २८ गते भरतपुरमा हुने जिल्ला स्तरिय कार्यशालाबाट ठोस निचोड निकाल्ने जानकारी गराइएको छ।

कार्यक्रम थाकस चितवन क्षेत्र नं. ७ का सभापति नारायण प्रसाद महतोको सभाध्यक्षतामा सम्पन्न भएको हो। अधिकारकर्मी संजय चौधरीले कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए। शंकरदेव चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *