संघीय गठबन्धनको ८ मन्त्रालयमा दाबी

सङ्घीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाका नेताहरुले सरकारमा सहभागी हुन ८ वटा मन्त्रालय पाउनुपर्ने सर्त अघि सारेका छन्। सरकारमा जानका लागि ८ मन्त्रालयको माग गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताले जानकारी दिए। मोर्चाले कांग्रेस–माओवादी केन्द्रसँग तीन बुँदे सहमति गरी प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदान गरेको थियो।

गठबन्धनको नेतृत्वमा सरकारमा जाने तयारी भइरहेको तमलोपा नेता विपी यादवले बताए। गठबन्धनमा जातीय मोर्चासहित २९ दल सामेल छन्।

‘हाम्रो तर्फबाट ८ वटा मन्त्रालय माग भएको छ, तर ६ वटामा कुरा मिल्छ होला,’ उनले भने, ‘हाम्रो मागलाई समावेश गर्नलाई नै अहिले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको हो ।’

मोर्चाका नेताहरुले परराष्ट्र, स्थानीय विकास, भौतिक योजनासहित अरु साना मन्त्रालयमा दाबी गरेको यादवले बताए।

वर्तमान सत्ता गठबन्धनमा परराष्ट्र र भौतिक योजना कांग्रेस र स्थानीय विकास मन्त्रालय माओवादीले आपसमा बाँडफाँड गरेका छन्।

सात मधेसी दल रहेको मोर्चाका ३९ र सङ्घीय गठबन्धनमा मोर्चासहित ४७ जना सांसद छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *