बिराज भन्छन्- भोजपुरी फिल्मका हिरोइन मोटाघाटा, उठाउनै गाह्रो

भोजपुरी फिल्मसँग कसरी जोडिनुभयो ?
सिनेमा गर्दागर्दै अफर आयो । निर्माता रमाकान्त प्रसादले सुरुमा प्रस्ताव गर्नुभयो । त्यतिबेला म वीरगञ्जमा ‘अग्निज्वाला’ फिल्मको सुटिङ गर्दै थिएँ । लगत्तै उहाँले मेरो भूमिका सहितको फिल्मको खाका दिनुभयो । भूमिका र कथावस्तु ठीक लाग्यो । खेलेँ । सुरुमै हिट भयो ।

रमाकान्तले तपाईंमा के देखेर प्रस्ताव गरेछन् ?
खै के देख्नुभयो ? मन पराउनुमा केही हुँदैन रैछ । किन हो किन कोही मान्छे यसै मन पर्छ । हरेकको हेर्ने आफ्नै दृष्टिकोण हुन्छ । नेपाली फिल्ममा मेरो सफलता देख्नुभयो होला । मेरो पृष्ठभूमि हेर्नुभयो होला ।

एक्सन छविबाटै प्रभावित हुनुभयो कि ?
त्यो पनि होला । म मेहनत पनि गर्छु । जस्तो, जोन इब्राहिमले पछिल्लोपटक ‘फोर्स’मा बाइक उठाए । त्यो मैले भोजपुरीको पहिलो फिल्ममै गरिसकेको थिएँ । त्यहाँ भनिँदैछ, विराजले २००८ मै गरेको काम जोनले कपी गर्यो । चलेका निर्देशक राजकुमार पाण्डेको उत्कृष्ट सेटअप थियो । यो कामको प्रशंसा भएपछि फोन आउन थाले । आउजाउ बढ्यो । मुम्बई गएर फिल्म सकेर यतै आउथेँ । हिट बढ्न थालेपछि उतै बस्नुपर्ने भयो । त्यसपछि रेगुलर भएँ ।

भोजपुरी र नेपाली फिल्मबीच के फरक छ ?
भाषा त भइहाल्यो । त्यसपछि यहाँका हिरोइन स्लिम हुन्छन् । त्यहाँका मोटाघाटा हुन्छन् । उठाउनका लागि गाह्रो हुने भएर तगडा हिरो चाहिन्छ । हाहाहा…। यसलाई रमाइलोका रूपमा बुझिदिनुस् । अरू फरक गानाहरू छ । यहाँ गाना कम हुन्छ । त्यहाँ छिटोछिटो गाना आउँछ । त्यसमै दर्शकहरू रमाउँछन् । सिटी बजाउँछन् । ताली बजाँउदै हलमै नाचिदिन्छन् । मेकिङ उस्तैउस्तै हो । संस्कृति, लोकेसन, कथावस्तु त फरक हुने नै भए ।

तपाईंलाई भोजपुरी फिल्मको सुपरस्टार भन्ने कि नेपाली सुपरस्टार ?
सर्वप्रथम नेपालको सुपरस्टार हुँ म । त्यसपछि भोजपुरीमा गएर पनि सुपरस्टार भएँ । हाम्रो मान्छे भोजपुरीमा पनि सुपरस्टार छ भनेर प्राउड फिल गर्नुपर्ला नि ! विराज भट्ट डेफिनेट्ली नेपाली सुपरस्टार हो । नेपालबाट भोजपुरीमा गएर पनि त्यहाँका सुपरस्टारहरूका बीच पनि सुपरस्टार भयो ।
यो माटोप्रति प्रेम छ भनिरहनुपरेन । उदितनारायण, मनिषाहरू जस्तो त्यहीँ काम गरेर सुपरस्टार भएको होइन म । म त नेपालकै स्टार उता गएको मात्र हुँ । त्यहाँ मलाई ‘नेपाली सुपरस्टार विराज भट्ट’ भनेर प्रचार गरिन्छ । पत्रपत्रिकाले पनि लेख्छन् । पोस्टर त्यस्तै बन्छन् । त्यहाँका सबैलाई थाहा छ, यो नेपालको हिरो हो भनेर ।

त्यहाँ सुरुमा गाह्रो भयो होला ?
भाषा त गाह्रो भइहाल्यो । भाषाले पर्फमेन्समा पनि फरक पार्छ । हाम्रो दिमाग डाइलग याद गर्नतिर हुन्छ । सुरुमै भाषा गाह्रो परे समस्या भइहाल्छ । अलिकति सजिलो म देहरादूनमा पढेकाले हिन्दी राम्रो थियो । स्क्रिप्ट बेलुकाबेलुका पढेर याद गर्थें ।

भोजपुरी संस्कार, संस्कृतिप्रति कतिको जानकार हुनुहुन्छ ?
भोजपुरी संस्कार अनौठो होइन । सबै परिचित छन् । यहाँ र त्यहाँको संस्कार, संस्कृतिमा सामान्य भिन्नता हुन्छ । त्यहाँ भिज्दै जाँदा बानी परेर आफ्नै जस्तो लागिहाल्दो रहेछ ।

त्यहाँका कलाकार कस्ता हुन्छन् ? कहाँकहाँबाट आउँछन् ?
मेहनत गरेर आउँछन् । त्यहाँ कलाकार धेरै छन् । नेपाल र बंगालबाट पनि आउँछन् । अमिताभ, मिथुन, शक्ति, ज्याकी श्रोफ, अजय देवगन, साउथका चलेकै हिरोहरू सबैलाई खेलाइरहेका हुन्छन् । हामीलाई पो यहाँ बाहिरबाट ल्याउन गाह्रो छ । उनीहरूलाई सजिलै छ ।

यो पर्याप्तता हुँदाहुँदै पनि तपाईं हिट हुनुभयो है ?
यसमै गर्व गर्छु । कलाकारको सीमा हुँदैन भन्ने लाग्छ । भोजपुरीको मेन हब मुम्बई हो । हिन्दीसँग कम्पिटिसन गर्नुपर्छ । धेरै सुट हुने पनि त्यहीँ हो । त्यसबाहेक गुजराज, युपी, बिहार र नेपालकै केही ठाउँमा पनि सुट हुन्छन् । नियमकानुन सबै हिन्दीकै समान हो ।

पारिश्रमिक गज्जब होला है ?
यो डिपेन्ड गर्ने लगानीकर्तामा हो । फेरि त्यहाँ र यहाँ तुलना गरेर हुँदैन । यहाँको मलाई दिने पारिश्रमिक पनि ठीकै लाग्छ । यहाँको अवस्था हेरेर । त्यहाँ आफ्नै प्रकारको छ ।

शुक्रबार साप्ताहिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *