कान्द्रा नदी गाउँ पस्ने खतरा

अवीनाश चौधरी/धनगढी।

एक महिना अगाडि लालबोझीबासीको जनजीवन ठीकै थियो। जसो भए पनि चलेकै थियो। उनीहरु असारको रोपाइँमा रमाए। सारा दुःख, वेदना बिर्सेर हिलोमै दिन बिताए, संगाल्दै एउटा सपना। अब त वर्षदिनलाई खाना पुग्ने धान उत्पादन हुन्छ!  

तर, असारको अन्तिममा कान्द्रा नदीको भेल जसै उर्ल्यो। बगाएर लग्यो उनीहरुको कलिलो सपना। भताभुङ्ग बनायो खेत खलियान। त्यति मात्र नभई अहिले गाउँ नै उठीबास हुने अवस्था सृजना भएको छ।

कैलालीको भजनी–त्रिशक्ति नगरपालिका वडा नम्बर २ मा रहेको लालबोझी गाउँ डुवान, कटान, पटानको पीडामा लट्पटिएको हो। नदीको भेल उर्लेर क्षणभरमै डुवान हुन्छ। खेतमा बालुवा पटान हुन्छ। लहलहाउँदो धान पाउने स्थानीयमा आश कमै रहेको छ। यहि साउन महिनामा मात्रै कैयौं पटक आएको बाढीले गाउँ नै विस्थापित हुने खतरा बढेको छ।

असार अन्तिमको बाढीले निर्माणाधीन हुलाकी सडक र सुरक्षाका लागि बनाइएको बाँधलाई बगाएपछि गाउँको अस्तित्व खतरामा परेको हो। कान्द्राले सय मिटर दूरीमा हुलाकी सडकलाई कटान गरि सकेको छ। हुलाकी सडक नरहेपछि माटोले पनि साथ दिएको छैन। बलौटे माटो, जसै नदीमा पानी बढ्छ। माटो सजिलै झर्न सुरु भइहाल्छ। कमजोर माटोका कारण तीव्र रुपमा कटान भइरहेको स्थानीयले बताएका छन्।

नदी कटानका कारण यादव टोलका करिब २५/३० घर बग्ने अवस्थामा पुगि सकेका छन्। घर छेउमै कान्द्रा आएपछि मिठो निन्द्रा सुत्न पनि नसकेको सो टोलका इन्द्र यादवले बताए।

तत्काल नदी कटान नियन्त्रणका लागि स्थानीयले भजनी–त्रिशक्ति नगरपालिकाको कार्यालयलाई आग्रह पनि नगरेका होईनन्। उनीहरुले लिखित निवेदन नै दिए। तर, स्थानीयबासीको आग्रह कान्द्राको भेलमा बगे झैं भयो, सुनुवाई भएन। दिनदिनै खतरा बढ्दै गएको तर, सुनुवाई कहिंकतै नभएको यादवले गुनासो गरे।

‘हामीले नगरपालिका, राजनीतिक दल सबैसंग तत्काल कटान नियन्त्रणका लागि पहल गर्न आग्रह गर्‍यौं’, उहाँले थपे, ‘तर, सुनुवाई भएन। नदी नजिक आई सक्यो। अब त भगवान भरोसामा घरभित्र बस्ने गरेका छौं।’

उनीहरुको घर आफै सुरक्षित छैन। घर छोडेर अन्यत्र जाने सुरक्षित ठाउँ पनि छैन। पश्चिम–उत्तरतर्फबाट कान्द्राको भेल उर्लिंदा दक्षिणतर्फबाट मोहना नदीले तर्साउँछ। बीच फाँटमा जस्तै भएको लालबोझी गाउँबासीलाई बाढी आएमा ज्यान जोगाउने सुरक्षित ठाउँसम्म छैन। कान्द्राले भएको बाटो पनि कटान गरेर आवत जावतमै समस्या भइसकेको छ।

बाटो नहुँदा स्थानीयहरु एकले अर्काको खेत भएर हिड्नु परेको छ। बाढीबाट हालसम्म बाँचिएका धानखेतमा हिडडुल गर्दा टोल–टोलबीच नै मारकाटको स्थिति सृजना हुने अवस्था भइसकेको लालबोझीका भलमन्सा देशराज चौधरीले बताए।

उनले भने, ‘स्थानीयबीच कैयौं पटक कुटाकुट हुनेसम्मको झगडा भइसकेको छ। मान्छे हिड्नलाई बाटो नै भएन भने काटमारको स्थिति आउन सक्छ।’ उनले बाढी आएमा भाग्ने ठाउँसम्म नरहेको सुनाए।

लालबोझी जोगिनका लागि कान्द्रा नदी किनारमा लामो ‘ड्याम’ बनाइएको थियो। उक्त ड्याम र उँचो हुलाकी सडकले सुरक्षाको काम गरेको थियो। तर, पछिल्लो बाढीले ड्याम र हुलाकी सडक दुवै बगाएको छ। गतवर्ष तटबन्ध निर्माण नगरिंदा यस्तो अवस्था सृजना भएको स्थानीयबासीको ठहर छ ।

नीहरु भन्छन्–’गतवर्ष नै तटबन्ध बनाइएको भए ड्याम र हुलाकी सडक सुरक्षित हुन्थ्यौं होला! यो साल दुवै बगेपछि कान्द्राले गाउँमै भङ्गालो बनाउने खतरा बढेको छ। जुनसुकै बेला आएको बाढीको बहाव गाउँतिर सोझिन सक्छ।’

लालबोझीमा सबै टोलका गरी दुई सय भन्दा बढी घरपरिवारको बसोबास छ। कान्द्रा नदीका कारण सबै घर नै जोखिममा रहेको भलमन्सा चौधरीले बताए। उनले भने– ‘हाम्रोतिर कान्द्रा यू आकारमा बग्ने भएकाले गाउँ ठ्याक्कै नदीले घेरिएको छ। पूरै गाउँ नै विस्थापित हुने खतरा भइसक्यो।’

 तत्काललाई कटान भएको हुलाकी सडकतर्फ तटबन्ध गरेर बाँध मात्रै बनाउन सकिएमा गाउँ सुरक्षित हुने स्थानीयको भनाइ छ। उनीहरुले डोजर प्रयोग गरेर बाँध तथा तटबन्ध निर्माणका लागि माग गरेका छन्।

 ‘बाँध मात्रै बनाइयो भने पनि तत्काललाई गाउँ जोगिन सक्ने सम्भावना छ’, इन्द्र यादवले अगाडि थपे– ‘यस्तै, रह्यो भने जोगिदैंन। नदीको बाढी सहजै ‘ओभर फ्लो’ भएर घरसम्म पुगिरहेको छ।’

बाँध बगेको दिनदेखि लालबोझीबासीहरुको एउटै कामना छ। ठूलो बाढी नआई देओस! तत्काल अन्यत्र विस्थापित हुने सम्भावना पनि नरहेकाले बाढी नआउने कामना गर्दै ईश्वर भरोसामा बस्दै आएको भलमन्सा चौधरीले बताउनुभयो।

‘अन्यत्र विस्थापित हुने सम्भाना छैन। खेत, घर यतै छ’, चौधरीले दुखेसो पोख्नुभयो–’हामी बिचल्लीमा पर्दा पनि हाम्रो कुराको सुनुवाई कतै भएन।’

नदीका कारण खतराको बादल मडारिन थालेपछि स्थानीयले केहि हद्सम्म पूर्व तयारी गरेका छन्। उनीहरुले खाद्यान्न र महत्वपूर्ण सामान सकेसम्म सुरक्षित स्थानमा राख्ने प्रयास गरेको बताएका छन्।

भजनी–त्रिशक्ति नगरपालिकाका कार्यकारी अधिकृत धर्मानन्द भट्टले लालबोझीको समस्याबारे आफूलाई स्पष्ट थाहा नभएको बताए। उनले भने– ‘मलाई लालबोझीको बारेमा थाहा छैन। एकचोटी फाइल हेर्नु पर्छ। हेरेपछि मात्रै भन्न सक्छौं, के गर्न सकिन्छ? त्यहि अनुसार गरौंला।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *