तरकारी खेतीको भरमा विद्यालय

अविनाश चौधरी/धनगढी।

सरकारी सेवा सुविधा उपलब्ध नभएपछि कैलालीको पवेरा–६ बैजपुरमा रहेको श्री सर्वोदय प्राथमिक विद्यालयको अवस्था दयनीय भएको छ । चरम आर्थिक अभावका कारण विद्यालय सङ्कटमा परेको हो । यसअघि समुदायको सहयोगबाट सञ्चालन हुँदै आएको विद्यालयले अब सहयोगको त्यो बाटो पनि गुमाएको छ । सो क्षेत्रका स्थानीयले गर्दै आएको सहयोग उपलब्ध गराउन छाडेका छन् ।
आर्थिक अभावका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेपछि युवा विद्यार्थीहरुको समूहले सो विद्यालय सञ्चालनको जिम्मा लिएको छ । हाल सोही विद्यालयको जमिनमा तरकारी खेती गरेर विद्यालय चलाउन थालिएको छ । युवा विद्यार्थीहरुको डाइमल नामक समूहले चार कट्ठा जमिनमा भिन्डी र १० कट्ठा जमिनमा बदाम खेती गरेर विद्यालय सञ्चालनलाई निरन्तरता दिने चेष्टा गरेको हो ।
आर्थिक अभावका कारण बन्द हुनै लागेको विद्यालयलाई तरकारी खेती गरेर डाइमल समूहले जोगाएको प्रधानाध्यापक हरिनारायण चौधरीले बताउनुभयो । उहाँले मासिक झण्डै ३५ हजार रुपिया खर्च आउने विद्यालय सञ्चालनमा ठूलो समस्या रहेको उल्लेख गर्नुभयो ।
13936878_1362951493720850_1845478499_n२०४९ सालमा स्थापना भएको सर्वोदय प्राथमिक विद्यालयलाई यसअघि जिल्ला शिक्षा कार्यालयले दुई वटा राहत दरबन्दी दिएको थियो । तर, विद्यालयभित्रको आन्तरिक किचलोका कारण केहि वर्ष अगाडि नै दरबन्दी कोटा गुमेको छ । हाल मसलन्द खर्च भनेर जिल्ला शिक्षा कार्यालयबाट वार्षिक ५० हजार रुपिया मात्रै सहयोग खर्च हुने गरेको प्रधानाध्यापक चौधरीले बताउनुभयो ।
उहाँले आम्दानीको पर्याप्त स्रोत नहुँदा विद्यालय सञ्चालनमा ठूलो समस्या रहेको उल्लेख गर्नुभयो । ‘तरकारी खेतीको भरमा विद्यालय सञ्चालन गर्न बाहेक अब कुनै विकल्प छैन’, चौधरीले अगाडि थप्नुभयो–‘तरकारी खेती पनि विद्यालय सञ्चालनका लागि पर्याप्त होईन । आम्दानीको पर्याप्त स्रोत नहुँदा कठिनाइ छ ।’
यसअघि ५० जना विद्यार्थी रहेकोमा आर्थिक समस्याका कारण विद्यालय बन्द हुने हल्ला चलेपछि चालु शैक्षिकसत्रमा अभिभावकहरुले आफ्ना विद्यार्थी अन्यत्र सारे । पर्याप्त भौतिक सुविधा रहेको सो विद्यालयमा अहिले जम्मा ३२ जना विद्यार्थी अध्ययनरत छन् ।
डाइमल समूहले तरकारी खेतीबाट भएको आम्दानी सहित वार्षिक दुई लाख रुपैया सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेपछि जेनतेन विद्यालय सञ्चालन गरेको प्रधानाध्यापक चौधरीले सुनाउनुभयो । उहाँले निजी स्रोतबाट तलब खाने गरी आफू सहित पाँच जना शिक्षकले विद्यार्थीलाई पढाउँदै आएको जानकारी दिनुभयो ।
हाल विद्यालयमा विद्यार्थी आकर्षित गर्नका लागि पूर्ण रुपमा अङ्ग्रेजी माध्यमबाट पढाई हुने गरेको छ । विद्यार्थीहरुको भविष्य निर्धारणका लागि आफूहरुले न्यून तलब खाएर पनि लगनशिलताका साथ पढाउन थालेको शिक्षिका सुमती चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘पैसा भन्दा विद्यार्थीको भविष्य ठूलो कुरा हो । हामी न्यून तलबमा पनि निकै मिहिनेतका साथ उनीहरुलाई पढाई रहेका छौं ।’ सो विद्यालयमा काम गर्ने शिक्षक शिक्षिकाहरुको मासिक तलब तीन हजार पाँच सयदेखि पाँच हजार रुपिया मात्रै रहेको छ ।
‘अहिलेको महङ्गी जमानामा पैतिस सय रुपिया केहि पनि होईन’, शिक्षिका चौधरीले अगाडि थप्नुभयो–‘तर, विद्यार्थीलाई सहयोग गर्ने भावनाले मात्रै हामी उनीहरुलाई पढाउँदै आएका छौं ।’
अंग्रेजी माध्यमबाट पढाई सुरु भएपछि विद्यालयप्रति स्थानीयहरुको धारणा सकारात्मक हुन थालेका छ । उनीहरुले आफ्ना नानीहरुलाई सोही विद्यालयमा पढाउने मनस्थिति बनाएको बताइएको छ । विद्यार्थी सङ्ख्या मात्रै बढे विद्यालयलाई राम्ररी सञ्चालन गर्न सकिने प्रधानाध्यापक चौधरीले बताउनुभयो ।
13936528_1362951433720856_1465843425_nविद्यालयप्रतिको आकर्षण बढाउनका लागि डाइमल समूहले कम्प्युटर ल्याब पनि राखि दिएको छ । सो क्षेत्रमा रहेका सरकारी विद्यालयमा कम्प्युटर पढाई नहुने गरेकोमा सर्वोदय प्राथमिक विद्यालयमा अहिले कम्प्युटर शिक्षार्जन गर्न सकिने सुविधा भएको छ । यसैगरी, अडियो प्रणालीबाट समेत पठनपाठन हुने व्यवस्था गरिएको छ ।
पैसाको अभावमा विद्यार्थीहरुले शिक्षाको उज्यालो ज्योतीबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ विद्यालयलाई सहयोग गर्ने जमर्को गरेको डाइमल समूहका अध्यक्ष रामकुमार चौधरीले बताउनुभयो । उहाँले आर्थिक अभावकै कारण विद्यालयलाई कुनै पनि हालतमा बन्द हुन नदिने उल्लेख गर्नुभयो ।
‘हाम्रो समूहका सदस्यहरुले मासिक १० रुपिया उठाएर जम्मा गरेको पैसा नै डाइमलको आर्थिक स्रोत हो’, उहाँले भन्नुभयो–‘हामीसंग पर्याप्त पैसा त छैन । तैपनि, पैसाको अभावमा हामीले यो विद्यालयलाई बन्द हुन दिदैनौं ।’ उहाँले पैसाको अभावमा विद्यालय बन्द हुने अवस्थामा रहेको खबर पाएपछि सञ्चालनको जिम्मा लिएको उल्लेख गर्नुभयो ।
डाइमल समूहले १० वर्षसम्म विद्यालयलाई सहयोग गर्ने सम्झौता गरेको छ । विद्यालयको नाममा रहेको जग्गामा तरकारी खेती गरी भएको आम्दानी र अपुग रकम समूहबाट सहयोग गर्ने समूहका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आफ्नो समूहको उद्देश्य नै आर्थिक अभावले सङ्कटमा परेको विद्यार्थी र विद्यालयलाई सहयोग गर्ने रहेको उल्लेख गर्नुभयो । चौधरीले सर्वोदयमा अध्ययनरत सबै विद्यार्थीहरुले निःशुल्क पढ्न पाउने व्यवस्था गरिएको बताउनुभयो ।
सरकारले शिक्षालाई नैसर्गिक अधिकारको रुपमा व्याख्या गर्दै शिक्षाका लागि अत्यधिक बजेट छुट्टयाउँदै आए पनि सर्वोदय प्राविले विद्यालय सञ्चालनको लागि सेवा सुविधा पाउन सकेको छैन । सरकारी सेवा सुविधा नमिले शिक्षाको उज्यालो ज्योती छर्ने संस्था सामान्य तरकारी खेतीको भरमा कतिसम्म चल्ने हो भन्ने प्रश्न पनि खडा हुन्छ ।
कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह बिष्टले विद्यालयको अवस्थाबारे बुझ्ने भन्दै प्रक्रिया पूरा गरेको विद्यालयले शिक्षक दरबन्दी पाउने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘अनुमति मात्रै लिएको विद्यालयले सेवा सुविधा पाउँदैन । तर, स्वीकृति पनि लिएको छ भने ५० जना विद्यार्थी भएको र पाँच कक्षासम्म पढाई हुने सबै विद्यालयले तीन वटा शिक्षक दरबन्दी पाउँछ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *