‘रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं’

‘रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं, दशगजामा नदीको बहाब थुन्ने गरि कुनै पनि हालतमा बाध बनाउन दिँदैनौ’ बिहीबार नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत सप्तरीको तिलाठीमा उपस्थित सयौं नेपालीले यही नारा दोहर्‍याइरहेका थिए ।

बालकदेखि वृद्धसम्म नेपाली भूमीको रक्षाका लागि चार घण्टा सम्म भारतीयसित लडिरहे । भारतीयहरु बाँसका भाटा लिएर आक्रमण गर्न थालेपछि नेपाली पनि त्यही भूमिकामा उत्रिए ।

चार घण्टासम्म निरन्तर संघर्ष चल्यो दुईपक्षबीच । आखिर नेपालीले आफ्नो भूमी जोगाई छाडे । दसगजा मिचेर भारतीयले बनाउन सुरु गरेको बाँध भत्काए ।

सो क्रममा पूर्व जिविस सदस्य देवनारायण यादव सहित केही नेपाली घाइते भए । ‘भारतीयलाई नेपाली अस्मितामाथि प्रहार गर्न दिँदैनौ, हाम्रो मातृभूमीको माटो लग्न दिँदैनौ,’ भारतीयको आक्रमणपछि रगतले लतपतिएका यादवले भने,‘नेपालीको शरिर मातृभूमीका लागि हो, मातृभूमीको रक्षाका लागि यति रगत बग्नु कुनै ठूलो अर्थ राख्दैन् ।’

नेपाली र भारतीय पक्षबीच भिडन्तको कारण थियो- भारतीय पक्षले एकतर्फ रुपमा दशगजालाई मिचेर बनाउन थालेको बाँध । खाडो खोलाको बहाबलाई नै थुन्ने गरि भारतीयले बाँध निर्माण गर्न थालेपछि सप्तरी प्रशासन र सीमा क्षेत्रका नेपालीले पटक-पटक त्यसो नगर्न आग्रह गरेका थिए । तर उनीहरु मानेनन् ।

बिहीबार सयौंको संख्यामा आएका भारतीयले सीमा स्तम्भ भन्दा पाँच मिटर उत्तर नेपाल तर्फ बाँध बनाउन थालेपछि सीमाका नेपाली पनि संगठित भए । अनि सुरु गरे भारतीयको प्रतिकार ।

सुरुमा भारतीयको संख्या बढी हुँदा बिहान नेपालीलाई गाली गलौज गर्दे धपाए । तर ‘जे भए पनि नेपाली भूमीको रक्षा गर्नुपर्छ’ भन्ने भावनाले संगठित भएका नेपालीहरुले भारतीयको बाँध भत्काउन खोज्दा उनीहरुले आक्रमण गरे । नेपाली युवाले प्रतिकार गरे ।

चार घण्टासम्म निरन्तर बाँसको भाटा हानाहान भयो । ढुंगा हानाहान भयो । पछि हटेनन् नेपालीहरु । ‘सवाल मातृभूमीको हो,’ तिलाठीका नीरजकुमार झाले भने, ‘उनीहरु संगठित छन् भने हामी पनि आफ्नो माटो जोगाउन एकजुट छौं ।’

अवधेस झा, सप्तरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *