बाढीपहिरोले मर्नेको संख्या ८३ पुग्यो

अविरल वर्षासँगै देशभर सोमबारयता बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ। विपद्मा अझै १६ जना हराइरहेका छन् भने ३१ जना घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ। गृहले साँझ ५ बजेसम्म मृतक संख्या ६६ पुष्टि गरेको छ।

प्युठानमा सबैभन्दा बढी मानवीय क्षति भएको छ। फोप्ली गाविसमा मात्र २४ जनासहित यस जिल्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ।

प्युठान, फोप्ली–६ मा बुधबार गएको पहिरोमा सात जनाले ज्यान गुमाएका छन्। मंगलबारको पहिरोमा परेका थप १५ जनाको शव सनाखत भएको प्रहरीले जनाएको छ। अझै ६ जना बेपत्ता रहेको प्रहरी दाबी छ।

बुधबार बिहान घरमै सुतिरहेका फोप्ली–६ का माओवादी केन्द्रका नेता हरिबहादुर केसी र उनकी पत्नी  बिन्दुको पहिरोमा पुरिएर मृत्यु भएको छ। लुङको बाहानेमा सोमबार गएको पहिरोमा पुरिएकाको उद्धार तथा राहत कार्यमा मंगलबार दिनभर खटिएका केसी साँझ आरामका लागि घर आएका थिए। केही माथिबाट आएको पहिरोले उनीहरुको घर बगाएको स्थानीय महेश थापाले जानकारी दिए।

केसीको परिवार वर्षौंदेखि उक्त गाउँमा बस्दै आएको थियो। घरनजिकैको ठाडो खोला बर्खायाममा उर्लिएर आए पनि यसअघि क्षति गरेको थिएन। निरन्तर वर्षापछि अकस्मात घर माथिबाट मूल फुटेपछि विपद्को सामना गर्नुपरेको स्थानीय हरि भण्डारीले जनाए। फोप्ली–६ कै अरू ५ जनाले पनि सोही पहिरोमा ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा नारायण केसी, दोर्णबहादुर केसी, पवित्रा केसी, जाहेश्वर बुढाथोकी र पिमा बुढाथोकी छन्। पहिरोमा परेका मृतक नारायणकी श्रीमती नानुमाया केसी र छिमेकी भीमसेन पुनको घाइते अवस्थामा उद्धार गरिएको छ।

फोप्ली–३ र ४ मा पहिरोले पुरिएका १९ मध्ये १७ को शव निकालिए पनि २ जना अझै बेपत्ता छन्। मृत्यु हुनेमा मनिराम पुन, तेजे पुन, खोपली पुन, नेपुुल घर्ती, सेतु पुन, सेरे पुन, दोमन्ता पुन, कुमारी पुन, चेतिमा पुन, नन्दी पुन, खस्ती पुन, मने पुन, प्रकृति पुन, सागर पुन, सेमली पुन, नोखी बैजाली र छमी पुन छन्।

पहिरोले यति ठूलो मानवीय क्षति भएकोमा स्थानीय शोकाकुल छन्। गाउँमाथिबाट भर्खरै खनिएको ग्रामीण सडकले पहिरो गएको हुन सक्ने स्थानीय शिवराज सुवेदीले बताए। ‘लुप्लुङ–फोप्ली–मैरामारे ग्रामीण सडक बनाउँदा डोजर चलाइएको थियो,’ उनले भने, ‘डोजरले खनेको ठाउँबाट पहिरो चल्दा डाँडाको बस्ती नै बग्यो।’

नेपाल रेडक्रस सोसाइटी, प्युठानका आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले फोप्ली गाविस पहिरोको उच्च जोखिमयुक्त रहेको बताए। अन्य वडामा सयौं घर जोखिममा छन्। अर्खा गाविसमा भने जंगलछेउको गोठमा बस्दै आएका एकै परिवारका तीन जनाले पहिरोमा परी ज्यान गुमाएका छन्। मुत्यु हुनेमा अर्खा–६, का देवबहादुर बुढा, हिमाल बुढा र जमुना बुढा छन्। सुतिरहेको अवस्थामा पुरिएका उनीहरूको दुई दिनपछि शव भेटिएको थियो। ७० भेडाबाख्रासहित पहिरोले बुढाको गोठ बगाएको स्थानीय मित्रबहादुर थापाले जानकारी दिए।

लुङ–६ मा माथिबाट खसेको पहिरोमा चार जना पुरिएका छन्। शिवबहादुर परियारको शव भेटिए पनि अन्य तीन बेपत्ता छन्। बस्तीमाथिबाट अझै ढुंगा झर्ने क्रम जारी रहेकाले खतरा टरिनसकेको स्थानीय पत्रकार प्रज्ज्वल पहाडीले जानकारी दिए। पूजा गाविसमा माइत आएका आमाछोराले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार रजवाराकी सुपारी मल्ल र मुकेश मल्लको पहिरोले घर भत्किँदा ज्यान गएको छ। खवाङ–१  मा घर पहिरोले पुरिँदा देबे सुनार र उनका नाति दीपक सुनारको घटनास्थलमै ज्यान गएको छ। उनकी श्रीमती दोमन्ती बेपत्ता छिन्।

जिल्ला प्रशासन कार्यालय, प्युठान एवं जिल्ला दैवीप्रकोप उद्वार समितिको अगुवाइमा राहत सामग्री लिएर प्रशासन गाउँमा पुगेको छ। बुधबार सदरमुकाममा बैठक बसी राहत सामग्री गाउँमै पुर्‍याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। उनका अनुसार प्युठान उद्योग वाणिज्य संघ र गैरसरकारी संस्था महासंघले खाद्य सामग्री उपलब्ध गराउने, रेडक्रस प्युठानले अखाद्य वस्तु तथा त्रिपाल, भाडा, लत्ताकपडा उपलब्ध गराउने, जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयले राहत रकम प्रदान गर्ने निर्णय गरेको छ। सडक डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालयल र राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम मार्फत अबरुद्ध सडक मर्मत गर्ने निर्णय भएको छ।

यसैगरी, राप्ती नदी किनारमा बाढीले बगाएर ल्याएका ५ शव बुधबार भेटिएका छन्। दाङ संवाददाताका अनुसार देउखुरीस्थित राप्ती नदी किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। पाँचमध्ये एउटा शवको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाशराज शर्माका अनुसार पाँचमध्ये एउटा शव दाङ गंगापरस्पुुर–९, तकियापुरका ५३ वर्षका ठगिराम चौधरीको हो। उनी मंगलबार बस्तीमा राप्तीको बाढी पसेपछि बेपत्ता थिए। बुधबार बिहान स्थानीयले बगरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

कपिलवस्तु संवाददाताका अनुसार बाणगंगा नदीमा मंगलबार आएको बाढीले चार जना बेपत्ता छन्। सोमडीह–६,  बेलसापुरका ५५ वर्षीय तीर्थ पासी र सोही गाविस– ८ इटवाका ४५ वर्षीय माधे कुजडा भन्ने अहमद  हुसेन तथा निग्हिवा–२ का ५२ वर्षीय चैते रोका र कजराहा–९, सिग्राहवाका २२ वर्षीय शिव गुलामा कलवार बेपत्ता भएको प्रहरीले जनाएको छ।

तीर्थको शव नदीमा भेटिएको स्थानीयले बताए पनि प्रहरीले यसबारे केही जनाएको छैन। मंगलबार बाणगंगा नगरपालिका ओदारीकी १२ वर्षीया रबिना चौधरी र भृकुटी नगरपालिका बुढ्ढीकी १६ वर्षीया कल्पना कार्कीको डुबेर मृत्यु भएको थियो। गृहले भने तीन जनाको मृत्यु भएको जनाएको छ।

झापा संवाददाताका अनुसार बुधबार राजगढ–४ मा ११ वर्षीय मिलन लिम्बूको बाढीको पानीमा डुबेर मृत्यु भएको छ। गृहले थप १ को मृत्यु भएको पुष्टि गरेको छ। गृहका अनुसार बाढीपहिरोमा रोल्पामा ४, बाँके कोहलपुरमा १, पर्वतमा १, अर्घाखाँचीमा थप १ र बाग्लुङमा थप २ को मृत्यु भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *