विजय गच्छदारको पार्टीलाई सरकारमा नलगिने

कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् ।

गच्छदार नेतृत्वको पार्टीलाई सरकारमा ल्याउँदा मधेसी मोर्चा भडकन सक्ने भएकाले कांग्रेस–माओवादीले राप्रपा र केही साना दललाई मात्र समेटेर सरकार निर्माण गर्ने गृहकार्य थालेका हुन् । फोरम लोकतान्त्रिकले अन्तिम घडीमा केपी ओली नेतृत्वको सरकार छाडेको थियो ।

कांग्रेस–माओवादीसँग केही दिनअघि सिंहदरबारमा बसेको बैठकमा गच्छदारलाई सरकारमा लैजान नहुने सर्त मधेसी मोर्चाका नेताहरूले राखेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आइतबारको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई ‘मुसा प्रवृत्ति’ को संज्ञा दिँदै सरकारमा नल्याउन चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाउनेमा कांग्रेस र माओवादीसहित १६ दल छन्, जसमा मोर्चा सम्मिलित सात दल छन् । कांग्रेस र माओवादीको प्राथमिकता मधेसी मोर्चालाई नै सरकारमा ल्याउनेमा छ । सुरुकै चरणमा मोर्चा सहभागी नभए पनि पछि आउने विश्वास उनीहरूको छ ।

‘मोर्चालाई सरकारमा ल्याउन सकेमा नै ओली सरकार विस्थापित गरेको औचित्य सावित हुनेछ,’ कांग्रेसका एक नेताले भने । नयाँ गठबन्धनका प्रमुख घटक दुई दलले मोर्चाले उठाएका मागलाई मन्त्रिपरिषद्बाट हुने र संविधान संशोधनबाट गरिनुपर्ने विषय वर्गीकरण गरेर छलफल थालेका छन् । ‘सीमांकन लगायतका विषयलाई राजनीतिक सहमतिका आधारमा हल गर्ने गरी मन्त्रिपरिषद्बाट गरे पनि हुने विषयलाई तत्काल सम्बोधन गरेर समझदारी जुटाउने प्रयास भइरहेको छ,’ ती नेताले भने, ‘यसमा समझदारी भयो भने मोर्चा सरकारमा सामेल हुनेछ ।’ ओली सरकार हटाउने र नयाँ सरकार बनाउनेमा आफूहरूको मुख्य भूमिका रहेको बताउँदै मोर्चाका नेताहरूले सरकारका कामकारबाहीमा आफूहरूको परामर्श लिन आग्रह गर्दै आएका छन् ।

कान्तिपुर दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *