प्रधानमन्त्रीलाई पदमा बसिरहन लाज लाग्नुपर्ने हो : कर्ण

सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले ३ सय ४२ जनाको समर्थन प्राप्त गरेकामा ८२ जनाले समर्थन फिर्ता लिइसकेपछि वर्तमान प्रधानमन्त्रीले पदमा बसिरहन सुहाउने कुरा नभएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र)ले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि निकै ठूलो योगदान दिएकाले उसको पहलमा मुलुकको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेसलाई समेत विश्वासमा लिएर मधेस आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धताका साथ ल्याइएको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावका पक्षमा आफूहरु रहने उनले बताए।

त्यस्तै तराई-मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले आफूहरुले नेपालको संविधानको समग्र स्वरुपको विरोध गरेको नभई संविधानमा रहेको विभेदकारी धारालाई मात्र अस्वीकार गरेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सदनमा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय समस्याका रुपमा रहेको मधेसका विषयलाई लिएर आफूहरुले निरन्तर रुपमा आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। प्रधानमन्त्री पदमुक्त हुने तर कुर्सीचाहिँ छाड्नु नपर्ने कस्तो संविधान निर्माण भएको भनी प्रश्न गर्दै नेता शुक्लले आफूहरुले उनको विपक्षमा मतदान गर्ने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *