अविरल बर्षाले रुपन्देहीको अधिकांश क्षेत्र डुवानमा

हीवार रातिदेखि परेको अविरल बर्षाले रुपन्देहीको जनजीवन प्रभावित भएको छ । जिल्लाका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । केही सरकारी तथा गैह्रसरकारी कार्यालयहरु पनि जलमग्न भएका छन् । पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी, भैरहवा क्षेत्रमा १ सय २३ मिलिलिटर बर्षा भएको जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाले जनाएको छ ।

लगातार बर्षाका कारण जिल्लाको पट्खौली गाविस ५ स्थित २५/२६ वटा घर डुबान परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

त्यस्तै बसन्तपुर गाविस ४ स्थित पनि केही घरहरु डुबानमा परेको कारण स्थानीयहरु रुख चढेर ज्यान जोगाएका छन् । उनीहरुको उद्दार कार्य जारी रहेको तथा जिल्लामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए । बसन्तपुर ४ का केही घर डुबानमा परेपछि ७ जना स्थानीय ज्यान जोगाउन रुखमा चढेर बसेका छन् ।

भैरहवाको पुर्वी क्षेत्रस्थित रोहिणी नदीमा पानीको बहाव उच्च रहेको कारण त्यस क्षेत्रको केही गाउँ जलग्मन भएको भएको प्रवक्ता कार्कीले जानकारी दिए । उनले भने, ‘बाढीले गर्दा गाउँमा फसेका स्थानीयहरुको उद्दारकार्य जारी छ । केही समयभित्रै हामीले उनीहरुको उद्दार गरी सुरक्षित स्थानमा राख्नेछौँ ।’

पट्खौली गाविस ५ स्थित रोहिणी नदीको छेउमा रहेको करिब २५/२६ वटा घरहरु डुबानमा परि बगाउने अवस्थामा पुगेको र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय धकधईका प्रहरी नायब निरीक्षक धनबहादुर थापाले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *