समस्या समाधान गर्न दस प्रदेश बनाउन बाबुरामको माग

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वर्तमान संविधानले तय गरेको सात प्रदेशले संघीय शासन व्यवस्थालाई असफल बनाउने टिप्पणी गरेका छन्। जनकपुरमा बुधबार आयोजित प्रदेशस्तरीय विस्तारित बैठक तथा पार्टी घोषणा र राष्ट्रिय भेलाको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले पहाडमा ८ र मधेसमा २ गरी १० प्रदेश स्थापना नगरी समस्या समाधान नहुने बताए।
‘प्रथम संविधानसभाले गठन गरेको राज्य पुनःसंरचना आयोगले ल्याएको १० प्रदेशीय खाकाको विकल्प छैन,’ कार्यक्रममा उनले भने, ‘पहिचानका पाँच र सामर्थ्यका चार सिद्धान्तलाई अवलम्बन गरेको तराईमा दुई र पहाडमा आठ प्रदेश निर्माण गर्ने प्रतिवेदन नै उत्तम हो।’ उनले थपे, ‘अहिलेको अवस्थामा तुरुन्तै त्यसतर्फ निकास नखोजिए पनि केही वर्षपछि दस प्रदेश निर्माण गर्नुको विकल्प छैन।’

२०७४ माघ ७ गतेसम्म मात्रै वर्तमान संसदको म्याद निर्धारित रहेकाले उक्त समयभित्र स्थानीय, प्रदेश तथा केन्द्रीय चुनाव गराउनुको विकल्प राज्यसँग नभएको बताउँदै उनले यी चुनाव जित्नेगरी तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन गरे। ‘छिट्टै स्थानीय निकाय निर्वाचन हुँदैछ,’ उनले कार्यक्रममा सहभागी मातहतका नेतालाई भने, ‘चुनाव जित्न सकेनौं भने जनतामा हामीलाई हेर्ने दृष्टिकोण उस्तै हुने भएकाले साथीहरू कस्सिएर तयारीमा लागौं।’

नयाँ शक्ति पार्टी घोषणाले नेपाल मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा पनि पुरानो राजनीतिक विचारको विकल्पबारे तरंग फैलिएको दाबी गर्दै उनले बदलिँदो समय र समाजिक आवश्यक्ताअनुरुप परिमार्जनमा जोड दिए। कांग्रेसीले माओवादीलाई पुनर्गठन गरेको आरोप लगाइरहेको र वामपन्थीहरुले कांग्रेसको धारमा गएको टिप्पणी गर्न थालेको बताउँदै उनले त्यसो नभएर नयाँ शक्ति वाम लोकतान्त्रिक पार्टीको रुपमा उदय भएको जिकिर गरे।

‘पचासौं वर्षपूर्व जन्मेको कांग्रेस र वामपन्थी पार्टीकै लाइनमा लागेर हुन्न,’ उनले उल्लेख गरे, ‘डेढ सय वर्ष पुरानो मार्क्सवादी सिद्धान्तलाई मात्रै मानेर पनि हुन्न। अब त सबैको फ्युजन गर्दै वैकल्पिक राजनीतिक विचार आविष्कार गरेर अगाडि बढ्नुपर्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *