भारतीय माओवादीको आक्रमणमा परी १० प्रहरीको मृत्यु

भारत बिहारको औरंगावादमा भारतीय माओवादी विद्रोहीसँगको भिडन्तमा १० प्रहरीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । औरंगावादको जंगलमा सर्च अपरेशनमा पुगेका केन्द्रीय रिजर्ब पुलिस फोर्स -सीआरपीएफ)को कोबरा बटालियनमाथि विद्रोहीहरुले बारुदी सुरुङ विष्फोट गराएर आक्रमण गरेका हुन् । 

कोबरा बटालियन बिहारमा भारतीय माओवादी विरुद्धको अभियानमा परिचालित छ । गयासँग सीमा जोडिएको चकरबन्दा डुमरिनाला जंगलमा सोमबार दिउँसोदेखि सुरु भएको दोहोरो भिडन्त गएराति अबेरसम्म पनि जारी थियो ।

भिडन्तमा आठ जना प्रहरीहरुको घटनास्थलमै र दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको अधिकारीहरुले बताएका छन् । जवाफी कारबाहीमा तीन जना विद्रोहीको पनि मृत्यु भएको छ ।

भारतको केन्द्रीय रिजर्ब पुलिस फोर्सले जंगलमा विशेष युद्ध अभियान चलाउनकै लागि कोबरा फोर्स गठन गरेको हो । कोबरा विशेष फोर्समा भारतीय माओवादीले पुर्‍याएको यो क्षति हालसम्मकै धेरै हो ।

औरंगावाद माओवादीको प्रभावित क्षेत्र हो । घटनास्थलबाट एके-४७, इन्सास, गि्रनेड लन्चर लगायतका हतियारहरु बरामद भएका छन् । घटनास्थल वरपर मंगलबार बिहान पनि सर्च अप्रेशन जारी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *