देउवा र दाहाललाई ओलीको जवाफ- ‘अहिल्यै राजीनामा दिन्नँ’

प्रधानमन्त्री केपी शर्मा ओली र उनीविरुद्ध व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पेस गरेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट्ने तयारी भएपछि धेरैले सोचेका थिए– सोमबार विवादित विषय टुंग्याउन तीन प्रमुख दलबीच कुनै सहमति होला।

ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसकेपछि नयाँ प्रधानमन्त्री चयनबारे राजनीतिक दलका नेता मात्र नभई कानुन व्यवसायीसमेत विभाजित भएका बेला तीन शीर्षस्थ नेताको छलफलमा निकास निस्केला भनेर ठानिएको बेला उल्टै उनीहरूबीच विवाद सृजना भएपछि अबको राजनीति कसरी अघि बढ्न भन्नेबारे झनै अन्योल सिर्जना भएको छ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा पुगेका देउवा र दाहालबीच अहिलेको विवाद टुंग्याउनेभन्दा पनि समस्या बल्झने गरी सवालजवाफ भयो। प्रधानमन्त्री निवास, बालुवाटारमा करिब एक घन्टा तीन नेताबीच भएको छलफलमा देउवा र दाहालले ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे भने ओलीले अविश्वास प्रस्ताव र राजीनामासँगै जान नसक्ने भन्दै राजीनामा नदिने बरु संविधानअनुसार नै अघि बढ्ने जवाफ फर्काए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार देउवा र दाहालले ओलीलाई राजीनामा दिन पटकपटक आग्रह गरेका थिए भने प्रधानमन्त्रीले संसद्मा अविश्वास प्रस्ताव पेस भइसकेकाले त्यसको सामना गर्ने बताएका थिए। दाहालले भने, ‘अविश्वास प्रस्ताव पेस भएका बेला प्रधानमन्त्रीले राजीनामा नदिएर त्यसको सामना गर्ने र त्यसपछि संविधानअनुसार अघि बढ्ने बताउनुभएको थियो।’ यतिखेर अविश्वास प्रस्ताव पारित भएपछि पनि संक्रमणकालीन व्यवस्थामा अर्को प्रधानमन्त्री चयन गर्न नसकिने भन्दै एमाले निकट कानुन व्यवसायीले प्रधानमन्त्रीलाई राजीनामा दिनु नपर्ने सल्लाह दिइरहेका छन् भने कांग्रेस–माओवादी निकटका कानुन व्यवसायी संविधानको धारा २९८ अनुसार नयाँ प्रधानमन्त्री चयनमा कुनै समस्या नहुने बताइरहेका छन्। संविधान अनुसार आउँदो माघसम्म संक्रमणकाल रहनेछ। र, तबसम्म स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने हुन्छ।

माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव जोगबहादुर महराका अनुसार ओलीलाई दुई दलका नेताले यतिखेर देशका तमाम समस्या समाधानका लागि राजीनामा गरी राजनीतिलाई सहज बनाउन आग्रह गरेका थिए। ‘नेताहरूको जिद्धिपनले देश कता जाँदै छ भन्ने महत्वपूर्ण भएकाले प्रधानमन्त्री यसमा गम्भीर हुनुुपर्छ दाहाल र देउवाको भनाइ उद्धृत गर्दै महराले भने, ‘राष्ट्रिय सहमतिका लागि प्रयास गरौं भन्दा पनि ओली सकारात्मक देखिनुभएन। राजीनामा माग्दा पनि अटेर गरिरहनुभएको छ।’

दाहालले संसद्मा पेस भएको अविश्वास प्रस्तावमा छलफल हुनुअघि नै ओलीले राजीनामा गर्दा सर्वसाधारणमा राम्रो सन्देश जाने र राजनीति पनि सहज हुने बताउँदा देउवाले ती भनाइमा सही थप्ने काम गरेका थिए। तीन नेताको छलफलमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाल बढी बोलेको स्रोतको भनाइ छ।

कांग्रेस–माओवादीले पेस गरेको अविश्वास प्रस्तावमा साउन ६ गतेदेखि छलफल हुने कार्यक्रम छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तीन नेताको छलफलमा ओेलीले नयाँ सरकार बनाउन आफू बाधक नभएको तर संविधानको पालन गर्ने हो भने सहमपति निस्कने बताएका थिए।

‘संविधानमा जटिलता र अप्ठेरो छ,’ ओलीको जवाफ सुनाउँदै रिमालले भने, ‘सहमति गरेर जाने हो भने दुई दिन अझै बाँकी नै छ, हैन भने साउन ६ गते संसद्मा भेट भइहाल्छ।’ सोही छलफलमा ओलीले बजेट पारित गर्ने सवालमा सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै देउवा र दाहालसँग असन्तुष्टि व्यक्त गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *