माओवादी केन्द्रद्वारा ओली सरकारबाट बाहिरिने निर्णय

राजनीतिक वृत्तमा निकै चासोसाथ हेरिएको सरकार परिवर्तनको विषयले नाटकीय रुप लिएको छ । माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको कार्यालयको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना आठ जना मन्त्रीहरुलाई सरकारबार फिर्ता बोलाएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले पार्टीको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै सरकारबाट मन्त्रीहरु फिर्ता बोलाएको जानकारी गराएका छन् । “वर्तमान सरकारले नौ बुँदे सहमति तथा ३ बुँदे भद्र सहमति कार्यान्वयन गर्नै तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारमा सहभागी रही रहन राजनीतिकरुपले उपयुक्त नहुने भएकोले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं” प्रचण्डले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ ।

यसअघि पटक पटक सहमतिय सरकार गठनका लागि एमाले नेतृत्वसँग गरेको छलफलबाट कुनै प्रगति नभएपछि माओवादी सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो । माओवादी केन्द्रले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, शान्ति प्रक्रियालगायतका विषयलाई टुंगोमा पुर्याउन राष्ट्रिय एकता र सहमतिमा जोड दिँदै आएको थियो । पार्टी अध्यक्ष प्रचण्डले यसका लागि प्रधानमन्त्री ओलीसँग दर्जनौपल्ट छलफल गरेका थिए । सरकारको नेतृत्वकर्ताका रुपमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि पहल नगरेको र यसअघि भएको ९ बुँदे सहमति समेत पालना नगरेपछि सोमबार बिहान बसेको पदाधिकारी बैठकले एमालेसँग अन्तिमपल्ट छलफल गर्ने निर्णय गरेको थियो ।

सोमबार साँझ प्रधानमन्त्री ओलीसँग प्रचण्डले छलफल गरी सहमतीय सरकारका लागि बाटो प्रशस्त गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले यसका लागि कुनै पहल नगरेपछि माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । संविधान निर्माण भएपछि तत्कालिन एमाओवादीले एमालेलाई समर्थन गरेपछि प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *