बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा आदित्य र भरत खेल्ने

अनिल गुरुङको कप्तानीमा अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने २१ सदस्यीयराष्ट्रिय फुटबल टोली छनोट गरेको छ। नेपालले असार ३१ र साउन २ मा बंगलादेशको घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

विश्व फुटबल महासंघ (फिफा) को ‘ए’ स्तरको मैत्रीपूर्ण खेलका लागि नेपालले मुख्य प्रशिक्षक जापानका जियोताकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपिङ प्रशिक्षक उज्ज्वल मानन्धरको प्रशिक्षणमा तयारी गरिरहेको छ।

शुक्रबार घोषितटोलीमा तीन गोलकिपर किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन्। टोलीको रक्षापंक्तिमा ९ खेलाडीमा विराज महर्जन, दिनेश राजवंशी, अनन्त तामाङ, आदित्य चौधरी, जितेन्द्र कार्की, देवेन्द्र तामाङ, रवि श्रेष्ठ, रञ्जित धिमाल र मानबहादुर तामाङ छन्।मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र सुमन लामा छन्।  फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, रञ्जन विष्ट र कप्तान अनिल छन्।

नेपाल र बंगलादेशले अहिलेसम्म १७ पटक प्रतिस्पर्धा गरेका छन्। त्यसमा बंगलादेशले ११ खेल र नेपालले ५ खेल जितेका छन् भने १ खेल बराबरीमा सकिएको छ।

पछिल्लोपटक नेपाल र बंगालदेशले गतवर्ष मैत्रीपूर्ण खेल खेलेका थिए। ढाकामा सम्पन्न खेलमा नेपाल १–० ले पराजित भएको थियो।

नेपालले सन् १९८४ मा पहिलोपल्ट बंगलादेशसँग प्रथम साफ खेलकुदको समूह चरणमा प्रतिस्पर्धा गरेको थियो। त्यो खेल नेपालले ५–० ले गुमाएको थियो।

पछिल्लो समय बंगलादेशी भूमि नेपालका लागि महत्वपूर्ण सफलता प्राप्त गर्ने थलो बनेको छ। नेपालले ढाकामा बंगबन्धु गोल्डकप उपाधि जित्दै वर्षौंदेखिको उपाधि खडेरी टारेको थियो। त्यसपछि नेपालले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण जितेर फर्किएको थियो। सागमा स्वर्ण जितेर फर्केपछि नेपालले तेस्रो टोलीसँग मैत्रीखेल खेल्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *