असोजदेखि संघीय गठबन्धनको निर्णायक आन्दोलन

संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठकले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ। सचिवालयको शुक्रबार बसेको बैठकले भदौभरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको गठबन्धनको सचिवालय सदस्य केशव झाले बताए।  

बैठकले हाल काठमाडौंको खुलामञ्चमा जारी गठबन्धनको रिले अनसनलाई साउन महिनाभरीका लागि लम्ब्याउने पनि निर्णय गरेको छ। भदौबाट राजमार्गकेन्द्रीत आन्दोलनको तयारी तथा प्रशिक्षणका कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्ने र असोजमा निर्णायक आन्दोलन गर्ने निर्णय गरेको उनले बताए।

‘अबको आन्दोलन वार कि पारको आन्दोलन हुनेछ,’ झाले भने। सचिवालय बैठकको यही निर्णयलाई प्रस्तावका रुपमा आउँदो २७ गते बस्ने गठबन्धनको मुल समितिको बैठकमा पेश गर्ने र मुल समितिले अनुमोदन गरेपछि उक्त निर्णय कार्यान्वयनमा जाने उनले बताए।

संविधान संशोधनलगायत मागसहित गठबन्धनले आन्दोलन गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *