तमलोपाको महाधिवेशनमा देखियो ‘थरुहट प्रदेश’

तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन सोमबार नवलपरासीको परासीमा सुरु भएको छ। कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष महन्थ ठाकुरले राज्यका हरेक निकायमा मधेसीको जनसंख्याको अनुपातमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए। सरकार वार्ताका लागि गम्भीर नभएको आरोप लगाउँदै उनले सार्थक वार्ता आह्वान भए आफूहरु तयार रहेको बताए।

सरकारलाई पठाएको ११ बुँदे मागप्रति स्पष्ट धारणा नआएसम्म वार्तामा बस्नुको कुनै तुक नरहेको उनको भनाइ छ। मधेस आन्दोलनमा ज्यान गुमाउनेल सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था र आन्दोलन क्रममा लगाइएको झूटो मुद्दालाई खारेज गर्न उनले माग गरे। ३६ पटक वार्ता हुदा पनि पनि सत्ताधारी दलले धोका दिएका उनले आरोप लगाए। ‘मधेस जबसम्म स्वायत्त हुँदैन तबसम्म आन्दोलन रोकिन्न,’ उनले भने, ‘तराई–मधेशले राज्यका हरेक तहमा ५२ प्रतिशत हिस्सा पाउनुपर्छ।’

महाधिवेशनमा शुभकामना दिन आएका भारत उत्तराखण्डका पूर्वमूख्यमन्त्री तथा भारतीय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष भगतसिंह कोशियारीले लोकतान्त्रिक पद्धतिमा सबैले राज्यसँग आफ्नो हम माग्न पाउने बताए।

उनले मधेस आन्दोलनका बेला मधेसका पीडित जनताले गरेको नाकाबन्दी र धर्नाका कारण नेपाल सरकारले भारतलाई दोष देखाउँदै बदनाम गरेको आरोप लगाए। भारत, बिहारका पूर्वमन्त्री तथा आरजेडी उपाध्यक्ष रघुवंशप्रसाद सिंहले सम्पूर्ण मधेसी दललाई एक भएर आन्दोलन गर्न सल्लाह दिए। उनले सरकारसँग लड्न मधेसी दल एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए।

८ गतेसम्म चल्ने महाधिवेशनमा २७ जिल्लाका १२ सय प्रतिनिधि सहभागी छन्। उद्घाटन सत्रमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरालगायत पनि सहभागी थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *