उपेन्द्रको हिम्मत भए मोर्चा छैन भनोस् : राजेन्द्र महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताेले प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई पत्र पठाउनु सकारात्मक भएको भन्दै त्यसबाट कोही पनि आत्तिन नहुने बताएका छन्। बुधबार नागरिकन्युजसँग कुरा गर्दै अध्यक्ष महतोले मधेसी मोर्चा सार्थक वार्ताको लागि तयार रहेको बताए।
प्रधामन्त्रीले केपी ओलीले सोमबार आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेतालाई सम्बोधन गरी वार्तामा आउन आग्रह गर्दै पत्र पठाएका थिए। प्रधानमन्त्रीले मधेसी मोर्चाका नाममा मात्र पत्र पठाएर संघीय गठबन्धनलाई फुटाउन खोजेको भन्दै संघीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको प्रति लक्षित गर्दै महतोले उपेन्द्र यादवको हिम्मत भए मोर्चा छैन भनेर भन्नसक्नुपर्ने जनाए। ‘सरकारसँग मधेसी मोर्चाले ३६ पटकसम्म वार्ता गरिसकेको छ, मधेसी मोर्चाकै जगमा संघीय गठबन्धन निर्माण भएको हो,’ उनले भने, ‘उपेन्द्र यादवजीसँग हिम्मत भए मोर्चा छैन भनेर भन्नसक्नुपर्छ।’

अध्यक्ष महतोले प्रधानमन्त्रीको पत्रलाई सकारात्मक रुपमा लिँदै केही दिनमा बस्ने मधेसी मोर्चाको बैठकले त्यसको जवाफ दिने जनाए। ‘अहिले मोर्चाका अधिकांश नेता राजधानी बाहिर रहेका कारण मोर्चाको बैठक बस्न सकेको छैन,’ उनले भने, ‘अब केही दिनमा मोर्चाको बैठक बसेर प्रधानमन्त्रीको पत्रको जवाफ दिन्छौं।’

प्रधानमन्त्रीको पत्र केही अस्पष्ट रहेको भन्दै महताले वार्ता कोसँग गर्ने, कहाँ गर्ने र कुन तहमा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीको पत्रमा केही उल्लेख नभएको जनाए। मोर्चाको बैठकले ती विषयमा निर्णय गरेर त्यसको जानकारी प्रधानमन्त्रीलाई दिने उनले जनाए। संघीय समाजवादी फोरम नेपाल वार्ताका लागि संघीय गठबन्धनलाई नै वार्तामा बोलाउनुपर्ने पक्षमा छ भने अन्य मधेसी मोर्चामा सहभागी अन्य दलले मधेसी मोर्चासँग सरकारले खोज्नुलाई सकारात्मक रुपमा लिनुपर्ने पक्षमा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *