‘प्रधानमन्त्री नै मानसिक रुपमा तयार छैनन्, कसरी गर्ने वार्ता?’

संघीय समाजवादी फोरम नेपालका नेता अशोककुमार राईको वार्ताका लागि प्रधानमन्त्री स्वयं मानसिक रुपले तयार नभएको जिकिर गरेका छन्। राजधानीको खुलामञ्चमा अनसन बसिरहेका राईले सरकारले वार्ताको हल्ला मात्रै गरेको बताए। राजधानीकेन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनका ३० नेता-कार्यकर्ताको नेतृत्व गर्दै राई आज बिहानदेखि रिले अनसनमा छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नयाँ शक्ति नेपालको घोषणासभामा वार्तामा आउनका लागि गठबन्धनलाई पुन: पत्राचार गरेको बताएका थिए। खुलामञ्चमा अनसन बसिरहेका गठबन्धनका नेताहरुलाई लक्षित गरी उनले संवादबाटै समाधान खोज्न पनि आग्रह गरे।

तर, आन्दोलनरत गठबन्धनसामु अझैसम्म पत्र आइनपुगेको नेता राईले बताएका छन्। ‘प्रधानमन्त्रीज्युले हिजो एउटा सभामा घोषणा गर्नुभएको पत्र आउँदै होला,’ उनले भने, ‘आएपछि हामी बैठक बस्छौं, छलफल गर्छौं र त्यसमा कसरी अगाडि बढ्ने भन्ने विषयको निर्णय गर्छौं।’

सरकारसँग ३६ पटक वार्ता भइसकेको र अब विश्वासको वातावरण तय भएमात्र वार्तामा बस्ने उनको भनाइ छ।

‘हाम्रा पूर्व सर्तहरुलाई पूरा गरेर मात्र वार्ताको वातावरण बनाइनुपर्छ,’ राईले भने, ‘वार्ताको हल्ला गर्ने, जनतालाई आश देखाउने र निराश बनाउने वार्ताको अर्थ छैन।’

प्रधानमन्त्री निकट स्रोतले भने सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलाई वार्ताका लागि पत्राचार गरिसकेको जनाएको छ। यसअघि मधेसी मोर्चालाई मात्र पत्र पठाएको भन्दै गठबन्धनका अन्य समूहिभत्रै खटपट भएको थियो।

यता संघीय गठबन्धनको रिले अनसन सातौं दिन पनि जारी छ। कास्कीको पोखरामा एक हप्ते रिले अनसन आज सकिँदैछ भने इलाममा आइतबार एक दिन अनसनको कार्यक्रम राखिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *