प्रेमी अाशिष चाैधरीले `घाँटी थिचेर नमारेकाे´ प्रहरी प्रतिवेदन, कसरी भयाे मृत्यु?

रहस्यमय बन्दै आएको फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको मृत्यु-रहस्यबारे आज प्रहरीले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।

नवलपरासी प्रहरीले केही बेरअघि सार्वजनिक गरेको प्रतिवदेनमा उनका प्रेमीले मनिषाको घाँटी थिचेर हत्या नगरेको देखाइएको छ। ‘पोलिग्राफ टेस्टमा घाँटी थिचेर मारेको देखिएन,’ एसपी राजेन्द्र चौधरीले भने। काठमाडौँ शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको बताइएको थियो।

मनिषाका प्रेमी रुद्रप्रसाद चौधरी आशिषको हिजो पाँच घन्टा लगाएर पोलिग्राफ टेस्ट गरिएको थियो। पोखराबाट गएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको टोली पोलिग्राफ टेस्टमा जुटेको थियो। झुटो बोलेको हो कि होइन भनेर पत्ता लगाउने प्रविधि नै पोलिग्राफ टेस्ट हो।

टेस्टमा ‘मनिषाको घाँटी थिचेर मारेको हो?’ भन्ने प्रश्नमा आशिषले ‘होइन’ भन्ने जवाफ दिएको एसपी चौधरीले जानकारी दिए। आशिषको जवाफ टेस्टले सत्य साबित गरेको उनको भनाइ छ। तर आत्महत्या वा हत्या नै भन्ने अझै अनुसन्धानमै रहे‍को उनले बताए।

चौधरीलाई ५ घन्टा लगाए ११ वटा प्रश्न गरिएको थियो। प्रहरीको अनुसन्धानले दुईबीचको प्रेम सम्बन्ध र त्यसले ल्याएको विवादकै कारण घटना भएको देखाएको छ। मनिषा र आशिषबीच १२ गते राति साढे ८ बजेसम्म दुई-चार दिनमा २ सय १८ पटक दुईतर्फी फोन सम्पर्क भएको थियो।

प्रहरीलाई दिएको बयानमा बुधबार साँझतिर मनिषाले सिमकार्ड मागेपछि आफूले नदिएकाले झगडा भएको र त्यस क्रममा हात हालाहालसमेत भएको आशिषले बताएका थिए। त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेको उनको बयान छ।

गएको बिहीबार बिहान मनिषा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्।
-पहिलाेपाेष्टबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *