तरकारी फलाउँदै पूर्वसभासद पट्टु थारु

पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका थारुले तीन वर्षअघि करिब चार कट्ठामा तरकारी खेती सुरु गरे। आम्दानी राम्रो भएपछि उनले एक वर्षपछि क्षेत्रफल बढाएर ८ कट्ठामा खेती गर्न थाले। अहिले उनी व्यावसायकि तरकारी कृषक बनेका छन्।

थारुले बाहै्र महिना तरकारी फलाउँछन्। अहिले उनको खेतबारीमा करेला, लौका, भिन्डी, बोडी, काँक्रो लटरम्म फलेका छन्। ‘आफ्नै व्यक्तिगत लगानीबाट तरकारी खेती गरिरहेको छु,’ थारुले नागरिकसँग भने ‘अरु खेतीभन्दा तरकारी लगाउँदा दोब्बर फाइदा लिन सकिँदो रहेछ।’ उत्पादन भएको तरकारी अगैया र कोहलपुर बजार तथा गाउँमा बिक्री हुन्छ।

‘सशस्त्र द्वन्द्व’ का बेला माओवादी राजनीतिमा सक्रिय थारु शान्ति प्रक्रियापछि पहिलो संविधानसभामा पार्टीका तर्फबाट समानुपातिक सदस्य भएका थिए। उनी अहिले मोहन वैद्य समूहको क्रान्तिकारी माओवादीतिर छन्। सभासद भइसकेका थारुको रुचि कृषि क्षेत्रमै किन गयो त? उनी भन्छन, ‘कृषि नै मेरो आयस्रोत हो, त्यसकारण यही क्षेत्रमा नयाँ ढंगले काम गरौं भनेर लागेको हुँ।’ तरकारी उत्पादनदेखि बिक्री गर्नेसम्मका काममा परिवारका सदस्यले सघाएका छन्।

केही ग्राहक घरमै आएर तरकारी किन्छन, भने कहिलेकाहीँ बजार र गाउँमा पु्याएर पनि बिक्री गर्नुपर्छ। तरकारी बेचेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेको जानकारी थारुले दिए। तरकारी खेती आम्दानीको बलियो स्रोत बनेपछि अझै विस्तार गर्ने उनको सोच छ।

तरकारीमा रसायनिक मल र विषादी भने उनी प्रयोग गर्दैनन्। ‘गाईभैंसीको गोबर र पिसाब कुहाएर मल तयार गर्छौ,’ थारुले भने, ‘त्यो मलमै निमको पात, बोजो र जडिबुटी मिसाएर औषधि तयार र्छौ, यस्तो औषधिले किरा फट्यांग्रा भगाउँछ।’ अर्गानिक तरकारी उत्पादन गरे पनि ग्राहकलाई विश्वास दिलाउन कठिन भएको उनले बताए। उनले थपे, ‘हाम्रो खेती गर्ने तरिका हेरिसकेका ग्राहकले विश्वास गर्छन, जसले खेती देखेका छैनन्, उनीहरूलाई विश्वासमा ल्याउन अलि मेहेनत गर्नुपर्छ।’

उनको बेमौसमी तरकारी खेती फस्टाएको देखेपछि गाउँका अरु किसान पनि यसतर्फ आर्कषित हुन थालेका छन्। नवलपुरका ३० जना किसान बेमौसमी तरकारी खेतीमा लागेका छन्। उनीहरूले सरकारी स्तरबाट कुनै सहयोग लिएका छैनन्। सामान्य तालिमको भरोसामा खेती गरेको पाइएको छ।

नयाँ संविधानले किसानका समस्या समेट्न नसकेको थारुको गुनासो छ। ‘सबैभन्दा बढी दुःख, परिश्रम र मेहेनत कृषिमा छ, कृषि पेसालाई राज्यबाट प्रोत्साहन नहुँदा धमाधम कृषि छाडेर युवा विदेश जान बाध्य छन,’ दुःखपीडा देख्नेले पनि किसानको पक्षमा नियम/कानुन बनाउँदैनन,’ थारुले भने। राज्यले कृषि क्षेत्रका समस्या सम्वोधन गर्नुपर्ने उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *