उफ… षड्यन्त्रै, षड्यन्त्र!!

शेर बहादुर चौधरी।

नेपालको राजनीति वनको बुटी मार्ने वनमाराजस्तै जनता मार्ने तानाबानाको एउटा सञ्जाल रहेछ। खैर, संसारको राजनीतिले केही उचाई लिए पनि नेपालको राजनीति भएको सगरमाथाको ठुम्कोको उचाई घटाउने, शान्तीका दूत बुद्धभूमीलाई असान्त बनाउने, पशुपतिनाथलाई काल भैरव बनाउने, जानकीको मण्डपमा दाइजो मागेर बबाल मच्चाउनेहरुको झुण्ड रहेछ।

हाम्रै राजनीतिले कहिले पृथ्वी नारायणको शालिक ढाल्छ कहिले उनैलाई एकताको प्रतिक मान्छ र एकता दिवस मनाउने स्याल स्वर निकाल्छ। नेपाली राजनीतिका साथीहरुको रथ हकाई पनि कम्ति आश्चार्य लाग्दो छैन! कहिले संसदमा राजनीति गर्छन् कहिले वन पस्छन् र हजारौं जनताको शिकार गर्छन् त कहिले फेरि मिलन बिन्दु उही सिंहदरबार देख्छन् र जनताको रगतको होली खेल्छन्, जनताको मासुको सुकुटीसँगै मदिरापान गर्छन्। जसले जे गरे पनि हुन्छ नेपाली राजनीतिमा!!

राजनीतिक शिक्षाको खुड्किलो उक्लदा जब षड्यन्त्रकारीको प्रमाण पत्र प्राप्त हुन्छ तब उसले पार्टी फोड्छ, आफ्नो विचार लाद्न थाल्छ र जब उसको कुनै षड्यन्त्रको परिक्षाले उतिर्णको प्रमाण पत्र प्राप्त गर्छ अनि मात्रै वास्तविक नेपाली राजनीतिज्ञ कहलाइन्छ। यो स्तम्भकारले प्रत्यक्ष देखेको राजनीतिक षड्यन्त्रको परीक्षाबारे वर्तमान केही विस्तृत उल्लेख गर्न चाहान्छ।

षड्यन्त्र नं. १- टीकापुर घटना

जब देशलाई संविधानको पोकोमा बाँधिदै थियो तब टीकापुरमा एक सुनयोजित षड्यन्त्रको घटना हुन पुग्यो। संघीयताको मुर्तरुप तब मात्र सफल हुन्थ्यो जब टीकापुर घटनाले एक बिष्फोटको रुप लिन्थ्यो। त्यसमा अन्जान बालक, सोझा कर्तव्यपालक सिपाही, केही सिधा साधा थारु जब बिष्फोटका शिकार हुँदैनथे। जब टीकापुर घटनाले यी सबै कुराले साकार दियो, षड्यन्त्रकारीले सफलताको लामो स्वास फेरे र मनमनै भोज मनाए अब सीमांकनमा कैलाली पक्का भो यानिकी षड्यन्त्रको परीक्षामा पास भइयो अब प्रमाण पत्रमात्रै पाउन बाँकी छ।

टीकापुर घटना षड्यन्त्रको परीक्षालाई लिएर भने मधेसवादी दलहरु षड्यन्त्रको परीक्षाको पुस्तिका जाँच हुनुपर्छ भनेर आवाज उठाउन थाले। अहिलेसम्म पुस्तिका जाँजको परीक्षाफल आइसकेको छैन तर टीकापुर घटनाको षड्यन्त्रकारीहरु सत्ताका शासक जरुर भए। गाँउ टोलमा रहेका केही जँडे्हा, फटाहा, जालीहरुको झुण्डलाई सजिलै बसमा पार्दै निर्दोष सोझालाई त्यही षड्यन्त्रको शिकार बनाइदिए। एसएसपी लक्षमण बस्नेत मारिए, दुई वर्षे बालक मारिए, कोही निर्दोषको बिल्ला भिरेर निर्वासित छन् तर जति यो घटनाको शिकार भए ती सब षड्यन्त्रकारी परिक्षाका अक्षरहरु मात्रै हुन्। अहिले पनि षड्यन्त्रकारी मामाका भान्जाहरु कोही एमाले बनेर पसल खोल्छन्, कोही फोरमका कार्यकर्ता बनेर टीकापुर बजार डुल्छन्। प्रहरी प्रशासन सरकारलाई पूरा थाहा छ यी दोषी हुन् यिनलाई पक्राउ गर्नुपर्छ तर विचरा प्रहरी प्रशासन विवशस छन् किनकि शासकको हातमा सत्ता र सरकारको बन्दुक छ, जतिबेला पनि ट्रेगर दबिन सक्छ र पुनः आफू यसको सिकार भइन्छ। त्योभन्दा त जाति ‘हजुर यो हिरा होइन पत्थर’ भनिदिएकै बेस! टीकापुर घटनाको षड्यन्त्रले देशमा सात प्रदेश सफल बनाइँदैछ तर स्तम्भकारलाई पक्कै थाहा छ यो जबरजस्ती हेडमास्टरको छोरालाई प्रथम बनाउनुजस्तै हो। असली कक्षा प्रथम हुनलायक त जनताको छोरा पो छ त! तिनै राजनीतिक दलका नेताले गरेको सामार्थ्य र पहिचानको आधार खै? वास्तवमै हेडमास्टरको छोरा फेल भैसके।

षड्यन्त्र नं.२- पार्टी प्रवेश टीकोटालो

टीकापुरको घटनाले मधेशवादी दलहरु आफूलाई अनुतिर्ण बनाएको महसुस गरे र कापी रिचेकको निवेदन सरकारलाई मधेस आन्दोलनमार्फत् दिए। तर चिट चोरेरै मात्र पास हुने हैसियत राख्ने मधेशवादी दलहरु ‘चित चोर्न पाउनैपर्छ’ भनेर केही दिन परीक्षा अवरुद्ध गरे। बिहारको प्रमाण पत्रमाथि शंका गर्ने, आफूले स्कुल क्याम्पसको शिक्षा प्राप्त नगरे पनि हुने तर शास्त्री र आचार्यको प्रमाण पत्रले नेपाल सरकारलाई चलाउने ब्राहमण मास्टरहरुले चिट चोर्न पाउनैपर्छको आवाजलाई दबाई दिए, बरु मधेसवादी दलको परीक्षा नै नहोस् उनीहरु आफू आफूमा अडिक रहे। अरुले खोलैमा डुबुल्की लगाएर नुहाए पनि स्नान नहुने तर आफूले पाँच पटक पानी छर्केको छिट्टालाई पन्च स्नान मान्ने ब्राह्मण शासकले अन्ततः मधेसवादी परीक्षार्थीहरुलाई फेल गराइदिए।

अध्ययन नगर्ने, जनतालाई शासन मात्रै गर्ने मधेसी नेता फेल भएकोमा मधेस र थारुका युवाहरु भने खुचिङ्ग मान्दैछन्। अब चिट चोरेर होइन वा पढेर पास हुनुपर्छ युवाहरुमा यो साविति प्रमाण छ तर कहिलेकाहीँ आफूजस्तै युवा राजिव पाहारीहरुले दिएको अभिव्यक्तिप्रति भने यी ससंकित बन्छन् कतै मित लाएर धोती टोपी साँटे पनि हाम्रै जग्गा जमिन हड्प्ने मित हुने त होइनन्?

मधेस र थारु युवाहरु सक्षम छन् तर अपहेलित छन्। हाम्रा अगुवाहरु बाटो हगुवा हुन्। यिनलाई राम्ररी थाहा छ यिनको अपेक्षा पनि छ- तिम्रो बारीको फाफरको रोटी हामीलाई देउ हामी तिम्लाई पवित्र धोती दिन्छौं। तिमी हामीलाई अरबौ भित्रको कोटी देउ हामी तिम्लाई थरुहट प्रदेश दिन्छौं तर यत्रो दिलदार थारु मधेशको युवाहरुको आवाज साउण्ड प्रुफ कोठमा थुनिँदैछ, थाहा हुनुपर्छ नेपाल साउण्ड प्रुफ देश होइन यहाँका डाँडा काँडामा आवाज आफैँ कम्पित हुन्छ।

आजभोलि मधेस र थरुहटका नेताहरु टिको टालो लगाएर आफ्नो पार्टीको कक्षामा विद्यार्थी हुल्दैछन्। अंग्रजी नजान्ने मास्टरको बोर्डमा झुण्डिएको हुन्छ यहाँ अंग्रजी सिकान्छ जसलाई अंग्रजी थाहा हुन्छ ऊ कहिल्यै भन्दैन अमेरिकन अंग्रेजी हुन्छ। जे होस स्तम्भकारले उल्लेख गरेको षड्यन्त्र-२ मा रामजनम गच्छदार नक्कली सर्टिपिकेटको डाक्टर भएका छन्। राजेन्द्र, महन्त, उपन्द्रले बिरामी खोज्दैछन्। उत्तर एउटै हो दुबैले कमिसन पाउछन्। एउटाले सत्ताको डाक्टर भै बिरामी जाँचेर, अर्को कमिसनका लागि बिरामी खोजेर।

निचोड- सामार्थ्य र पहिचान

उमेर छिप्पियो भने गोरुले खेत जोत्दैन् मालिकलाई माया गर्न थाल्छ। बुढो भयो भने मान्छे खट्न सक्दैन केवल आफ्ना पुराना दिनको बृतान्त बताएर लठ्याउने प्रयत्न गर्छ। हिमालको मुन्तिर हिउँको ठिहीमा जिन्दगी बिताउने शेर्पा बस्तीलाई शेर्पाको गाउँ किन नभन्ने? उकालो ओरालो गर्दै कोदो फाफरमात्रै खाएर सरल जीवनयापक मगर बस्तीलाई मगर गाउँ किन नभन्ने? प्रचण्ड गर्मीमा पगरी गुथेर भैसी चराउँदै जीवनयापन गर्ने मधेसीलाई मधेसी गाउँ किन नभन्ने? औंलो मलेरिया पचाएर चारकोसे झाडीमुनी खेतीपाती गर्ने थारुलाई थरुहट किन नभन्ने? जे भनी हामी नेपाली हौं, नेपाली रहन्छौँ। इतिहास साक्षी छ- भूगोलको विभाजन भौगोलिक हुन्छ, जस्तै हिमाल-हिमाली, पहाड-पहाडी, मधेस-मधेसी असली पहिचान यही हो यसमा मुर्खता नगरौं। यसभित्र खेल्न खोज्ने बिचौलिया दलालको अन्त्य गरौं। मुलुक आफैँ समृद्ध हुन्छ कसैले समृद्धि खोज्नै पर्दैन।

कैलाली




Leave a Reply

Your email address will not be published. Required fields are marked *