नियमावली संशोधनमा साथ लिन कांग्रेसले गुहार्‍यो मधेसी मोर्चा

नेपाली कांग्रेसले संसदमा पेस भएको संसद नियमावली संशोधनमा समर्थन जनाउन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आग्रह गरेको छ। कांग्रेस प्रस्तावमा मोर्चाले भने जारी आन्दोलनमा समर्थन जनाए मात्र नियमावली संशोधन पारित गर्न सघाउने सर्त तेर्स्याएको छ।

शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा मोर्चासम्बद्ध तराई–मधेस केन्द्रित दल र प्रमुख विपक्षी कांग्रेसबीच भएको नियमावली संशोधनबारे छलफल भएको थियो।

सद्भावना पार्टी संसदीय दलका नेता लक्ष्मणलाल कर्णले नियमावलीमा पेस गरिएको संशोधन प्रस्तावमा समर्थन जनाउन प्रतिपक्ष कांग्रेसतर्फबाट मोर्चालाई आग्रह गरिएको जानकारी दिए। ‘व्यवस्थापिका संसद नियमावलीमा राखेको संशोधन प्रस्तावमा समर्थन गरिदिन कांग्रेसबाट औपचारिक आग्रह आएको छ,’ कर्णले भने, ‘हामी आन्दोलनमा छौं, हाम्रो आन्दोलनलाई समर्थन गर्नुभयो भने सोचौंला भनेर जवाफ दियौं।’

कर्णका अनुसार मोर्चा आबद्ध सबै नेताले आन्दोलनमा समर्थन जनाउने सर्तमा कांग्रेसको संशोधन प्रस्तावमा समर्थन जनाउन सकिने जवाफ दिएका छन्।

संसदीय सुनुवाइ समिति नयाँ संविधानअनुसार १५ सदस्यीय हुनुपर्ने नियमावलीको व्यवस्थाविरुद्ध कांग्रेसले संक्रमणकाल भन्दै ७५ सदस्यीय बनाउनुपर्नेलगायत संशोधन हालेको छ।

बैठकमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संशोधन प्रस्ताव अध्ययन गरेर मात्रै जवाफ दिने प्रतिबद्धता जनाएका थिए। ‘अहिले आन्दोलनमा भएका कारण तपार्इंहरुको संशोधन प्रस्ताव हेर्न पाएका छैनौं, पहिला अध्ययन गर्छौं,’ यादवको जवाफ थियो, ‘मोर्चाको बैठक बसेर कांग्रेसको उक्त संशोधन प्रस्तावमा समर्थन जनाउने कि नजनाउने भन्ने औपचारिक निर्णय लिनेछौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *