Tharu Girl

दीक्षा दहित
स्व. मनमोहन अधिकारीको जनताप्रति उत्तरदायी शासनपद्धति, जनप्रिय नेता मदन भण्डारीको दूर-दृष्टिको धरातलमा एमाले अहिलेसम्म अडिरहेको कुरा अहिलेका अध्यक्ष तथा डन कमरेड केपी ओलीले बिर्सनु हुन्न। टुक्काको भरमा जनताले एकछिन मनोरन्जन त लिन्छन्, जहाँ गयो त्यहीँ युवा युवतीलाई धाप मार्दा सानो जमात घेराभित्र ऐँठिएको जस्तो त लाग्छ तर घार छोडेको भगौडा माहुरीको हुल त होइन? बेलैमा बुझ्नु पनि पर्छ। दूर-दृष्टि राख्नेको सोँचको आकारको आयतन पनि ठूलै हुनुपर्छ।
बिशाल सांगीतिक महोत्सवमा गीतसँगै झुम्ने दर्शकको जमातमा शब्दको अपरम्पारिकता बुझ्नेको झुन्ड थोरै हुन्छ, जसले बुझ्छ, गाउँदैन- ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’। बरु एक्लै गुनगुनाउँछ- ‘बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो…’। भावनामा प्रेम प्रसंग जोडिनसक्छ तर लैला मजनुको इतिहास बन्न सक्दैन।

मुन्द्रेहरु जमातमा भयङ्कर त देखिन्छन् तर ख्याउटेहरुको बुद्धि त्यसभन्दा हजार गुणा पारगींत हुन्छ। हुलमा देखिएकी सुन्दरी केवल सपनाकी मात्रै हुन्, जीवनको सारमा सफलताको कडी कमै सुन्दरीसँग मात्र हुन्छ। त्यस्तै हुन्छ ओलीको टुक्का। मन्चमा बोल्दा तरर ताली बजाउने, गलल हाँस्ने अनि त्यही उपलब्धिको प्रमाणपत्रमा गमक्क पर्ने ओलीको चरित्रले आधा साल सत्यानास भयो नेपालीहरुको।

भएको रासन खाल्डोमा पुर्ने अनि कर्णलीको जनता भोकै छन् भनेर भाषण गर्ने? आसेपासेका डनलाई कालाबजारीको सर्टिफिकेट बाँड्ने अनि कारबाही गर्छु भाषण कसले पत्याउने?? कम्युनिष्टको सरकार जनताप्रति उत्तरदायी हुन्छन् भनेर मनमोहनको शासनले देखायो तर चण्ड, मुण्ड, प्रचण्डमात्रै देशका जनता हुन् ओलीले प्रमाणित गरेर देखाए। बालुवाटारमा मुन्द्रेको लहर, भोको जनताको माझमा चौरासी व्यन्जनको भोज, सुन्दरीको आलिंगनका विभिन्न तस्बिरसँगै पत्रकारिताको स्वच्छतम कुर्सीमा फटहालाई आसिन गराउने पद्धति नै ओली आवसानका मार्ग प्रमुख मार्गहरु हुन्।

कोइरालालाई पराजित गर्दै ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बसाल्ने तथ्य एउटै मन्त्रले साबित तुल्यायो- खोक्रो राष्ट्रवादको नारा। जननीको विरुद्ध उभिएको आजसम्म संसारमा जन्मेको कुनै प्राणीको इतिहास वर्तमान छैन। आमाको प्रशंसामा हरेक सन्तान शहिद हुन तयार हुन्छ। ओलीलाई अजङ्गोको कुर्सीमा बसाल्ने नेपाली जनताको बन केवल राष्ट्रवादमै निहित थियो तर खोइ राष्ट्रियता…? आफ्नो राष्ट्रबासीको बसोबासको बन्दोबस्त व्यस्थापन गर्न नसक्ने कस्तो प्रधानमन्त्री? हिमालको हिउँ पग्लेर कालापत्थरमा परिणत हुँदै गएको, खोला सुक्दै गएको, जनता भोकै मर्दै गएको, नेपाली अर्थतन्त्र ओरालो लाग्दै गरेको, सन्तान सन्तानका बीचमा तेरोमेरो भावनाको बढोत्तरी गराउँदै जाने ओलीको सत्ता ढाल्नैपर्छ भन्ने जनदबाबको थिग्रिएको ताकतले आखिर ओली सरकार एकदिन ढल्छ नै।

उही शासक मात्रै सफल हुन्छ जसले सारा जनताको वर्ग समुदायलाई समान देख्छ। पूर्वका सिटौला, पश्चिमका रावल, थापामात्रै हिन्दूका नेता, चित्रबहादुर मात्रै सँच्चा राष्ट्रवादी, गच्छदार मात्रै थारु, खस आर्यमात्रै आफ्नो परिवार ठान्ने ओलीको सत्ता बेलैमा जानुपर्छ, नत्र हिमाली भोटेहरुको लस्कर, गुरुङहरुको जुलुस्, नेवारहरुको औंलो ठड्याइ, थारु मधेसीहरुको हुँकार, हुम्ली जुम्लीको रित्तो थाल ठट्याइले ओली कहिल्यै नउठ्नेगरी भड्खालोमा जाकिनेछन्। बरु ओलीले बेलैमा प्रचण्डलाई सत्ता बुझाउनुपर्छ ताकि यो विडो थाम्न कम्तीमा उनी सहायक भएर उभिनेछन्।

ओली किन फेल?

सुर्खेत, बाग्लुङमा आन्देालन भयो। सुर्खेती जनताले भने हामी छैठौं प्रदेश सुदूरपश्चिमलाई मिसाउन्नौं। केही दिनमात्रै जिन्दावाद र मुर्दावादको नारा लगाउनेको जमातलाई धाप मार्दै अलग्याइदिए- अखण्ड सुदूरपश्चिम सातौं प्रदेश बन्यो। पहिचान र सामर्थ्यका सक्कली थारुहरु जिल्लराम भए।

संविधानमा सबैको सहमित गराउन ओलीजी तब असफलताको भर्यानङमा पैतला टेके जब उनी पहिचानका पक्षधर व्यक्तिवादलाई अंगाले। उनी कमल थापालाई सरकरमा ल्याए हिन्दूवादको नाराले विश्वास लिने, चित्रबहादुर सामेल गराए संघीयताविरोधी चुप्प लाग्ने, गच्छदार रामजनमलाई ल्याए पूर्व पश्चिमका थारु चुप लाग्ने, सरकारको प्रवक्ता शेरधनलाई बनाए पूर्वका राई लिम्बु चुप लाग्ने, ओनसरीलाई सभामुख बनाए रोल्पा रुकुमका मगर चुप लाग्ने, राष्ट्रपति, न्यायाधीश महिलालाई बनाए स्त्रीका सारा जमातको ओठ थुनिने…. यो कुमाइ बाहुनको काइते बुद्धि ओलीले प्रयोग गरेकै हुन्। तर सफलताको शून्य परिणाम आउनुको पछाडि उनले सारा दशेको वर्गीय समाज नबुझेरै हो।

ओलीले समाजको वास्तविकता बुझेर न्यायमात्रै गरिदिएको भए ब्राह्मणले मन्त्र फलाकेर भक्तले शिद्धी प्राप्त गरेझैँ हुन्थ्यो। तर उनी त्यसो कहाँ गर्थे र? शिव रावणले घेरिएजस्तै घेरिएर र अलग बुद्धिमताको बिशाल लंकालाई झैं ध्वस्त बनाए। अब वेर भो, अब सत्ताका शासक प्रचण्ड बन्नेछन्- सारथी देउवा।।। देशका वर्गीय जनतालाई न्याय नदिए देश अर्कैको हातमा जाने पक्का छ। यो अन्तिम अवसर हुनेछ- देउवा र प्रचण्डका लागि। अधिकार माग्यो गोली खाने जनता दोषी हुन् कि पाएको बन्दुक दुरुपयोग गर्ने सिपाही दोषी हुन्? शसकले बुझ्नैपर्छ। जनता दोषी भए के को लोकतन्त्र? के को प्रजातन्त्र?? नेतृत्वपंक्तिले अब हेक्का राख्नुपर्छ- यो सरकार फेल भयो भने श्रीपेच पुनः ब्युँझिन सक्छ, विदेशीहरुको लागि नेपाल फुटबल मैदान बन्न सक्छ। जसले बढी गोल हान्यो त्यही विजेता बन्छ, त्यसैले सबै सचेत रहौं, सन्तानको झगडाको न्यायाधीश छिमेकीलाई नबनाऔं, सबैको भलो यसैमा छ।।।

अन्त्यमा,
उहिल्यै उहिल्यै गोठालाहरुले गोठको बस्तुभाउ जोगाउन सानोतिनो खहरेको मुख थुनिदिने गर्थे। अहिले पनि दूर-दृष्टिको सपना देख्ने नेतृत्वले यो गर्नैपर्छ। दोषी लक्ष्मण, धनिराम, रेशम हुन् कि गच्छदार, रामजनम? पूर्व, पश्चिमका जनतामा विभाजन ल्याउने सिटौला, रावल कसरी निर्दोष? त्यसैले अबको सरकारले सन्तोष, देवेन्द्र यादवलाई दोषी देख्नुभन्दा उपेन्द्र, राजेन्द्र यसका खेलाडी हुन्- बेलैमा बुझ्नुपर्छ।

जनता त परिवर्तनको आशामा सतरन्जको प्यादा जस्तामात्रै हुन् नेता यसका खेलाडी हुन्। दोषीको दृष्टिमा अनाहक जनताको नरसंहार गर्ने प्रहरी प्रशासन, जनतालाई आगोमा होमाएर सुकुटीको स्वाद लिने नेता दोषी हुन्- सबै जनताले बुझ्नुपर्छ। होइन भने यस पछाडि अब नेता शासन होइन, जनता शासन ल्याउनेतर्फ सबै सचेत समूहले सोच्नैपर्छ।
जय थरुहट।।




Leave a Reply

Your email address will not be published. Required fields are marked *