Kamalari-Movement-27

राम दहित

कैलालीको कोटातुलसी–९ भुरुवाकी १२ वर्षीया कमलरी सुस्मिता कठरिया गत वर्ष जिल्ला प्रशासन कार्यालय कैलालीबाट भाग्नुभएको थियो । धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा कार्यरत शिक्षक महेन्द्रबहादुर सिंहको घरमा कमलरी बस्नुभएकी कठरियालाई प्रशासन कार्यालयमार्फत उहाँको बुबा जीतबहादुर कठरियाको जिम्मा लगाउने क्रममा उहाँ भाग्नुभएको थियो । हाल उहाँ पुनः शिक्षक सिंहको घरमा कमलरी बसिरहनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै रतनपुर–४ तेघरीकी १८ वर्षीया रूपा चौधरी पनि ०७१ साल जेठ ११ गतेदेखि पुनः कमलरीको रूपमा बस्न थाल्नुभएको छ । धनगढी मिलन चौकस्थित ज्ञानबहादुर कार्कीको घरमा चार वर्ष पहिले काम गर्न थाल्नुभएका उहाँले पुनः कमलरीको जीवन अपनाउनुभएको हो ।

कमलरी सुस्मिता र रूपा मात्रै नभई हाल कैलाली जिल्लामा मात्रै ३५ जना मुक्त कमलरी पुनः कमलरी जीवन बिताउन थालेका छन् । कैलाली जिल्लामा जस्तै कञ्चनपुर, बर्दिया, बाँके र दाङ जिल्लामा पनि पुनः कमलरी बस्नेको सङ्ख्या उल्लेख्य छ । यसरी मुक्त घोषणा भइसकेका कमलरी पुनः कमलरी बस्न थालेपछि कमलरी मुक्ति अभियानमा लागेका राज्यका निकायहरू विफल भएको देखिएका छन् । फलस्वरूप कमलरीका अभिभावकहरू आफ्ना बालबालिकाबाट टाढिएका छन् भने कमलरी बसाउनेहरू दिन प्रतिदिन बलियो हँुदै गएका छन् ।

कमलरी सुस्मिता कठरियाका बुबा जीतबहादुर कठरिया आफ्नी छोरीलाई घर फर्काउन हरसम्भव प्रयासमा जुट्नुभएको छ तर उहाँ हालसम्म आफ्नी छोरीलाई घर लग्न भने सफल हुनुभएको छैन ।

“मेरीे छोरीलाई उहाँहरू (महेन्द्र सिंहको परिवार) ले जबरजस्ती राख्नुभएको छ”, उहाँले दुखेसो पोख्नुभयो, “म अभिभावकको भूमिका निर्वाह गर्न चाहन्छु तर आफ्नै बच्चाबाट म टाढा छु ।”

Ram_dahit1-fill-275x255कैलालीस्थित जिल्ला प्रशासन कार्यालयले ०७० साल माघ १२ गते कमलरी फिर्ताका लागि कमलरी राख्ने व्यक्तिका नाममा पत्र जारी गरेको थियो । सोही क्रममा शिक्षक महेन्द्र सिंहलाई पनि पत्राचार गरिँदा उहाँ कमलरी कठरियालाई जिल्ला प्रशासन कार्यालयमा बुझाउन जानुभएको थियो ।
“मैले पनि उनलाई उनको घर फर्काउन चाहेको छु तर उनको बुबाले काट्ने, मार्ने धम्की दिँदा रहेछन्, त्यसैले उनी घर जान मन गरिरहेकी छैन”, शिक्षक सिंहले भन्नुभयोे, “उनलाई आफ्नै छोरी जस्तै गरी राखेको छु, पढाइरहेको छु ।”

सुस्मिताकी बुबा जीतबहादुर कठरियाले भने आफ्नी छोरीलाई टीकापुरमा रहेको कमलरी होस्टेलबाट सिंहले भगाएर लानुभएको आरोप समेत लगाउनुभएको छ ।

त्यस्तै पुनः कमलरी बस्नुभएकी रूपा चौधरी भने हाल आफू कमलरी नबसेको बताउनुभएको छ । उहाँले कार्कीको घरबाटै कक्षा १० पढिरहेको बताउँदै भन्नुभयो, “म कमलरी होइन, म आफ्नो बुबा आमाको सहमतिमा यहाँ बसेकी छु । मेरो बुबा आमाले मलाई पढाउन सकिराख्नुभएको थिएन । म यहाँ बसेर पढिरहेको छु, मलाई यहाँ सबथोक पुगेको छ ।”

बाँकेको कोहलपुर नगरपालिका पृथ्वीपुर वस्तीकी आठ वर्षीया रिता चौधरी र १० वर्षीया मिच्छु चौधरीको जीवन भने निकै पीडादायी बनेको छ । सानै छँदा अभिभावक गुमाएका उहाँहरू बाँकेकै नेपालगञ्ज उप–नगरपालिकाको विलासपुरका स्थानीय तथा नेपाल राष्ट्र बैङ्क नेपालगञ्जमै कार्यरत गणेशबहादुर मल्लको घरमा करिब सात आठ वर्षदेखि कमलरीका रूपमा बस्दै आउनुभएको छ ।

मुक्त कमलरी विकास मञ्चका केन्द्रीय उपाध्यक्ष सुजाता चौधरीले उहाँहरू उद्धारको पर्खाइमा रहे पनि प्रशासनले गम्भीरतापूर्वक नलिएका कारण उद्धारको काम हुन नसकेको बताउनुभयो । बालिकाहरूका आफन्तले लिन जाँदा कमलरी राख्ने मल्लले भेट्न नदिनुभएको उपाध्यक्ष चौधरीको भनाइ छ । ती कमलरी बालिकाहरूले आफुहरूको उद्धारका लागि पटक–पटक अनुनय गर्दै आउनुभएको मञ्चले जनाएको छ ।

यसरी मुक्त कमलरीहरू अभिभावकको मिलेमतोमा विभिन्न नाममा कमलरी बस्न थालेपछी राज्यका निकायहरू र कमलरी क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरू निरिह बनेका छन् । उनीहरू त्यसरी पुनः कमलरी बस्नेको उद्धार र पुनस्र्थापनाका लागि कसरी अगाडि बढ्ने भन्नेबारे ठोस पहल गर्न सकिरहेका छैनन् ।

शिक्षा ग्रहण गर्नुपर्ने समयमा स्वयम् अभिभावकको दबाब तथा विभिन्न लोभमा परी मौलिक हकको रूपमा रहेको शिक्षाको अधिकारबाट वञ्चित हुँदा समाज विकासमा बाधा पर्ने बताउनुहुन्छ कैलाली बहुमुखी क्याम्पसका प्रमुख तथा प्राध्यापक सुरेन्द्र चन्द । उहाँ कमलरी प्रथाकै कारण बाल मस्तिष्कमा मनोवैज्ञानिक रूपमै नराम्रो असर पर्नुका साथै समाजमा समेत नकारात्मक असर परिरहेको उल्लेख गर्नुहुन्छ । यसप्रति अभिभावकहरू सचेत हुनुपर्ने औँल्याउँदै प्राध्यापक चन्दले सरोकारवाला निकायले पनि कमलरी राख्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने सुझाव समेत दिनुभयो ।

कैलाली जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले पुनः कमलरी बस्नेलाई पनि उद्धार गरिने बताउँदै तत्कालका लागि भने उद्धार गर्ने कुनै कार्यक्रम तय नभएको बताउनुभयो । त्यसका लागि कुन उपाय अपनाउने भन्नेबारे भने छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बेस कैलालीका कार्यक्रम संयोजक श्रमलाल चौधरीले पनि उद्धार र पुनस्र्थापना गर्ने जिम्मेवारी राज्यको भएको बताउँदै राज्यको काममा होस्टेमा हैँसे मिलाउने काम मात्रै आफूहरूको भएको बताउनुभयो ।

के हो कमलरी प्रथा ?

तराईका पाँच जिल्ला कञ्चनपुर, कैलाली, बाँके, बर्दिया र दाङ रहनसहन, चालचलन, बोली, भाषा मिल्ने थारू समुदायको घना बसोबास रहेका जिल्ला हुन् । यी जिल्लाका थारू समुदाय माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । वर्षभरिका लागि पारिवारिक र गाउँ समाजको योजना बनाउने काम माघीमा नै हुन्छ ।

थारू अगुवा तथा थारू नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीका अनुसार थारू समुदायले माघीमा परिवार, समाजका लागि योजना बनाउने क्रममा परिवारका कुन सदस्य कमैया बस्न जाने र कुन बालबालिका कमलरी बस्ने भन्नेबारे छिनोफानो गर्दछन् । सोही क्रममा कोही अभिभावकले अर्काको (जमिन्दार) खेतमा अधैयामा खेतीपाती गर्ने निर्णय गर्दछन् भने कसैले न्यून ज्यालामा घरेलु कामदारका रूपमा आफ्ना बालबालिकालाई पठाउने चलन रहँदै आएको छ । बालबालिकालाई अरुका घरमा काम गर्न पठाउने यस चलनलाई नै कमलरी प्रथा भन्ने गरिएको संयोजक चौधरीको भनाइ छ ।

अशिक्षा एवं गरिबीको कारण थारू समुदाय कृषि पेशामा आश्रित समुदाय हो । यसले गर्दा पनि उक्त समुदायमा अझै कमलरी प्रथा जरा गाडेर बसेको संयोजक चौधरीले जानकारी दिनुभयो । पछिल्ला केही वर्षयता जनचेतना वृद्धिसँगै कमलरी राख्ने काममा उल्लेख्य कमी आएको चौधरीको भनाइ छ ।
बाल श्रमको अवशेषका रूपमा मानिने कमलरी प्रथा अन्त्य भएको घोषणा गरिएको पनि दुई वर्ष भइसकेको छ । २०७० साल असार १३ गते मन्त्रिपरिषद्को निर्णयले तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलरीलाई मुक्त गर्ने निर्णय गरेको थियो भने लगत्तै साउन २ गते उनीहरूको मुक्तिको घोषणा गरिएको थियो । घोषणासँगै राज्यले कमलरीहरूको उद्धार, पुनस्र्थापनासँगै शिक्षा, स्वास्थ्य, स्वरोजगारीको व्यवस्था गर्ने नीति तथा कार्यक्रम ल्याएको छ तर प्रभावकारी कार्यान्वयन नहुँदा अझै पनि केही कमलरी दासताको जञ्जिरमा छन् त केही आवश्यक सेवासुविधाबाट वञ्चित छन् ।

थारू समुदाय बाहुल्य रहेको तराईका यी पाँच जिल्लामा भने अझै कमलरी लगाउने, घर फर्केकाहरू पुनः कमलरी बस्ने क्रम जारी छ । यसले गर्दा कमलरी मुक्तिसम्बन्धी सरकारी घोषणा कागजमा सीमित भएको देखिएको छ ।

ती पाँच जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र कमलरी क्षेत्रमा काम गर्दै आएका बेस, मुक्त कमैया महिला विकास मञ्च र मुक्त कमलरी विकास मञ्चले संयुक्त रूपमा तयार पारेको तथ्याङ्क अनुसार ती पाँच जिल्लामा १३ हजार १३५ कमलरीमध्ये ५१८ कमलरीको उद्धार गर्न बाँकी देखिएको छ । हालसम्म १२ हजार ६१७ जना कमलरी मात्रै घर फिर्ता भएका छन् ।

उद्धार गर्न बाँकी कमलरीमध्ये सबैभन्दा बढी कैलाली जिल्लामा देखिएको छ । कैलालीस्थित जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार कैलालीमा भएका तीन हजार ४११ कमलरीमध्ये हालसम्म तीन हजार २३३ कमलरीलाई उद्धार गरी परिवारको जिम्मामा लगाइएको तथा सुरक्षित स्थानमा पुनस्र्थापना गरिएको छ । अझै १७८ जनालाई भने उद्धार गर्न बाँकी देखिएको छ । हाल त्यो सङ्ख्यामा ७३ जना नयाँ कमलरी थपिएको प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै कञ्चनपुर जिल्लाका एक हजार २०२ कमलरीमध्ये एक हजार १४२ जनालाई उद्धार गरिएको छ । अझै ६० जनालाई उद्धार गर्न बाँकी देखिएको छ । बाँके जिल्लास्थित ५८३ कमलरीमध्ये ५१९ जनाको उद्धार गरिएको छ भने ६४ जनालाई अझै उद्धार गर्न बाँकी रहेको जनाइएको छ । बर्दिया जिल्लाका दुई हजार ६७५ जनामध्ये दुई हजार ५५१ जनालाई उद्धार गरिएको छ भने १२४ जनालाई अझै उद्धार गर्न बाँकी छ । यसैगरी दाङ जिल्लाका पाँच हजार २६४ कमलरीमध्ये पाँच हजार १७२ जनालाई उद्धार गरिएको छ भने ९२ जनालाई अझै उद्धार गर्न बाँकी छ ।

उद्धार र पुनर्स्थापनामा राज्यको उदासिनता

कमैया तथा कमलरी प्रथालाई निर्मूल गर्न राज्यले ऐन, नियम ल्याएको दशकौँ बितिसकेको छ । राज्यले कमैया श्रम निषेध ऐन–२०५५, बाल श्रम ऐन–२०५६, बालबालिकासम्बन्धी ऐन–२०४८ जारी गरेको छ तर ती ऐनले निषेध गरेको कमलरी राख्ने काम भने जारी नै छ । कतै बाल श्रमिकका रूपमा त कतै बच्चा स्याहार्ने, घर हेर्ने कामका लागि कमलरी राखिएको पाइन्छ भने कतै पढाइदिने बहानामा राख्ने गरिएको छ ।

ऐन कार्यान्वयन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय हालसम्म कमलरी उद्धारको कामलाई पूर्णता दिन असफल रहेका छन् ।

कैलाली जिल्ला प्रशासन कार्यालयले ०७० साल माघ १२ गते कमलरी राख्नेको नाम पत्रपत्रिकामा सार्वजनिक गरेको थियो । त्यसको एक महिनापछि अन्तिम पटकका लागि भनेर पनि पत्राचार गरिएको थियो । उद्धारका लागि छापा मार्ने काम भने अझै गरेको छैन ।

कैलाली जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रशासकीय अधिकृत घिमिरे प्रमुख जिल्ला अधिकारी छोटो समयमै फेरिरहने भएको हुँदा ठोस कार्य हुन नसकेको स्वीकार गर्नुहुन्छ । उहाँले कमलरी राख्नेको नाममा पत्राचार भएपनि उद्धारको काम भने पर्याप्त मात्रामा हुन नसकेको बताउनुभयो ।

राज्यले कमलरीहरूलाई समयमा उद्धार र पुनस्र्थापना नगरेकै कारण धेरै कमलरी बलात्कारको शिकार समेत भएका छन् त कतिपयको हत्या समेत भएको छ । हत्याका दोषीहरू भने हालसम्म खुलेआम घुमिरहेका छन् । कतिपय कमलरी बालिका अवैध गर्भधारणबाट कुमारी आमा समेत बनेका छन् ।
लालमटिया दाङकी १२ वर्षीया कमलरी सिर्जना चौधरीलाई २०६९ साल चैत १४ गते चाकुपाट ललितपुरस्थित उहाँको मालिकको घरमा मट्टितेल छर्की आगो लगाएर हत्या गरिएको थियो । मृतक कमलरी सिर्जना चौधरीको हत्याका आरोपी युवराज पौडेल भने अझै कानुनी दायरामा नआएको बताउनुहुन्छ मुक्त कमलरी विकास मञ्चका कानुनी अधिकृत फकला थारु । उहाँ राज्यको उदासिनताका कारण हत्याराहरू खुलेआम हिँडिरहेको आरोप लगाउनुहुन्छ ।
त्यस्तै कैलालीको टीकापुर–९ की १५ वर्षीया सरिता चौधरी २०६५ साल वैशाख २ गते दाङ लमहीको इन्द्रमणी खनालको घरमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको थियो । दाङको रामपुरकी १३ वर्षीया सीमा होजा मगरलाई पनि दाङको लमहीस्थित दङ्गाली होटलमा २०६४ साल पुस ३० गते मारेर झुण्ड्याइएको अवस्थामा पाइएको थियो भने कैलालीको धनगढीकी १५ वर्षीया उर्मिला राना थारु पनि धनगढीका प्रकाश विष्टको घरमा सोही अवस्थामा फेला पर्नुभएको थियो । कैलाली दैदवारी मुक्त कमैया शिविरकी २० वर्षीया मेघी चौधरीलाई दाङकै बालकृष्ण शाहको काठमाडौँको नयाँ वानेश्वरस्थित घरमा २०६८ साल भदौ १ गते जलाएर विभत्स तरिकाले हत्या गरिएको थियो । ती हत्याका कुनै पनि आरोपीलाई हालसम्म कारवाही नभएको बताउनुहुन्छ मञ्चका कानुनी अधिकृत थारु ।

यसैगरी १२ जना कमलरी कुमारी आमा बन्न बाध्य हुनुभएको तथा १४ जना कमलरी वेपत्ता रहेको मुक्त कमलरीको क्षेत्रमा क्रियाशील संस्थाहरूको दाबी छ ।

कमलरीप्रति राज्यको उदासिनताकै कारण उद्धार गरी पुनस्र्थापना गरिएका मुक्त कमलरीहरूको शिक्षादीक्षा र आय आर्जनमा पनि समस्या सिर्जना भएको छ । मुक्त कमलरीले पाउँदै आएको छात्रवृत्ति रकममा समयानुसार वृद्धि नगरिएकोले होस्टेलमा बसी शिक्षा आर्जन गरिरहेका पूर्व कमलरीहरूको शिक्षा आर्जनमा समस्या देखिएको पनि अधिकृत थारूको भनाइ छ ।

यसका अतिरिक्त कमलरीहरूले परिचयपत्र नपाउनु र कमलरीका लागि ल्याइएको निर्देशिका समय सुहाउँदो रूपमा संशोधन नहुनु जस्ता कारणले पनि समस्या उत्पन्न भइरहेको उहाँ बताउनुहुन्छ ।

परियोजना लम्ब्याउने खेलमा गैसस

कमलरी क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको बेइमानीका कारणले पनि कमलरी उद्धार तथा न्यायिक पुनस्र्थापनामा समस्या देखिएको छ ।

कैलालीको जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा भन्नुभयो, “गैससहरूकै कारण पनि हामीले राम्ररी काम गर्न पाएका छैनौँ । उनीहरू कमलरीको तथ्याङ्कमा खेलाँची गरी आ–आफ्ना परियोजनाको अवधि लम्ब्याउने दाउमा लागेका छन् ।”

साथै उहाँले गैससहरूको हावादारी तथ्याङ्ककै कारण प्रशासनले कमलरी फिर्ताका लागि पठाइएको पत्रमध्ये १७ वटा फिर्ता भएको पनि बताउनुभयो । उहाँले केही महिना अघि जिल्ला प्रहरी कार्यालयले छापा मार्ने कदम तत्कालै चाल्ने प्रस्ताव गर्दा गैससका कर्मचारीहरूले सहमति नजनाएकै कारण उक्त कार्य गर्न नसकिएको पनि बताउनुभयो ।

त्यस्तै, गैससहरूले कमलरीबारे तयार पारेको तथ्याङ्क अद्यावधिक नभएको पाइएको छ । केही समय कमलरी बसे पनि हाल घर फर्केकाहरूका नाम पनि कमलरी बस्नेको सूचीमा राखिएको छ । कैलालीको नारायणपुर–४ की १२ वर्षीया समन्त चौधरीको नाम कमलरी बस्दै आएकाको सूचीमा देख्न सकिन्छ । समन्त चौधरीका बुवा सुन्दर चौधरीले तीन वर्षदेखि आफ्नी छोरी घरमै रहेको जानकारी दिनुभएको छ । त्यस्तै, टीकापुर–९ का मुक्त कमैया शनिराम चौधरी आफ्नी छोरी रिता चौधरी केही वर्षदेखि घरमै रहे पनि कमलरीकै सूचीमा रहेको थाहा पाउनुभएपछि आश्चर्यचकित हुनुभएको छ । “मेरो छोरीको नाम कमलरीको सुचीमा छ र हजुर ?” उल्टै प्रश्न गर्दै उहाँले भन्नुभयो, “मेरी छोरी दुई÷तीन वर्षदेखि घरमै छिन्, कमैया र कमलरीको नाउँ बेचेर खै के गर्न खोजेका हुन् गैससहरूले ?”




Leave a Reply

Your email address will not be published. Required fields are marked *