Tharu Aandolankari

थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आन्दोलनकारी नेताहरुमाथि चलाइएको मुद्दा फिर्ता लिन माग गरेका छन् । साथै १३ बुँदे राजनीतिक माग राखेका छन् । प्रधानमन्त्री ओली र थारु आन्दोलनकारी नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा वार्ता भएको थियो । वार्तामा थारु नेताहरुले थारु नेता कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता लिन माग गरेका छन् ।

थरुहट तराई पार्टीका सांसद गोपाल दहिलले भने, हाम्रा थारु नेताहरुमाथि लागेको मुद्दा फिर्ता लिन, आममाफी गर्न माग गरेका छौं । साथै थारुहरुको घर जलाइएको छ, त्यसको क्षतिपूर्ति दिन भनेका छौं ।’

उनका अनुसार प्रधानमन्त्री ओलीले लगतै वार्तामा रहेका गृहमन्त्री शक्ति बस्नेतलाई मुद्धा फिर्ताको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री बस्नेतले पनि यसबारे गम्भीर रहेको र मन्त्रालयले काम गरिरहेको जानकारी दिएका छन् ।

मन्त्रपरिषद्ले यसअघि नै गम्भीर अपराध बाहेकका मुद्धा फिर्ता लिने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । तर, थारु नेताहरुमाथि टीकापुर घटनालाई लिएर ज्यान मुद्धा चलेको छ ।

वार्तामा थारु नेताहरुले १३ बुँदे राजनीतिक माग समेत राखेका छन् । जसमा थारु बाहुल्य क्षेत्रहरुको प्रदेश बनाउनु पर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, थारु लगायतका आयोगको काम कर्तव्य र अधिकार संविधानमा नै उल्लेख हुनु पर्ने लगायतका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले यसबारे आफूहरु गम्भीर रहेको भन्दै दफावार छलफल गर्दै जाने बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *