Rajkumar Lekhi

थरुहट थारुवान संयुक्त संघर्ष समितिका एक नेता राजकुमार लेखीले मेची महाकाली जनपरिचालन अभियानमा सहभागी नहुने बताएका छन्। उनले आफूसँग सल्लाह नै नगरी कार्यक्रम गर्ने निर्णय गरेको भन्दै बहिस्कार गर्ने बताए।
थारु कल्याणकारिणी सभाका अध्यक्ष जो स्वंय समितिका संयोजक छन्। बैठकमा सभाका महामन्त्री र सदस्यहरु पनि सहभागी छन्। उनीहरु सहभागी भएको बैठकको निर्णय किन मान्नु हुन्न भन्ने प्रश्नमा लेखीले भने- संघर्ष समितिभित्र जोकोही होस्। कुनै पनि निर्णय गर्दा राजकुमार लेखीसँग सल्लाह गर्नुपर्छ। यो संघर्ष समितिमा मात्र होइन, थारु कल्याणकारिणी सभाभित्र पनि लागू हुन्छ।
बैठकमा सहभागी नहुने अनि बैठकको निर्णय पनि नमान्ने?

दस दिनअघि बोलाइएको बैठकमा ९ जनाभन्दा बढी सहभागी हुँदैन। चार संयोजकहरुको तालमेल मिल्दैन। भोलिपल्ट डाकिएको बैठकमा पनि गएकै हुँ। बेलैमा नआएपछि बैठक छाडेर जिल्लाको कार्यक्रममा निस्किएको हुँ। बैठकमा सबै सहभागी गराउन नसक्नु राजकुमार लेखीको कमजोरी हो? उपसमितिहरुको बैठक विगत चार महिनादेखि भएको छैन। यो मेरो कमजोरी हो?

मेची महाकाली जनपरिचालन अभियान गर्दा तपाइँलाई किन टाउको दुखेको?

यो अभियान थारु कल्याणकारिणी सभाले उहिले गरिसकेको हो। एउटै कार्यक्रम कतिपटक गर्ने? समितिले जनसागर ओराल्ने कार्यक्रमहरु गर्नुपर्थ्यो। मैले पटक पटक आन्दोलन सशक्त हुनेखालका कार्यक्रम आयोजना गरौं भनेकै छु। आन्दोलनलाई बलियो बनाउन अब जनसागर ओराल्ने आमसभाका कायक्रमहरु आयोजना गर्नुपर्थ्यो।

अनि तपाइँले समितिको आचारसंहिता नै उल्लंघन गरेर एक्लौटीरुपमा जिल्लामा हिँड्नुभयो भन्ने आरोप छ। यतिसम्म कि आफ्नै अध्यक्षको निर्णय मान्नु हुन्न रे?
मैले आफूखुसी जिल्लामा हिँडेको छैन। थारु कल्याणकारिणी सभाले नवलपरासी भेलामा निर्णय गरेको कार्यक्रम लिएरै जिल्ला गएको हुँ। जुन निर्णय धनिराम चौधरीले नै गराएका थिए। आन्दोलनको कार्यक्रम लिएर जिल्ला जाँदा अरुलाई किन टाउको दुखाइको विषय। मैले आन्दोलन तुहाउने काम गरेको छु र? जिल्लाका साथीहरुले विभिन्न कार्यक्रमहरुमा बोलाउनुहुन्छ। आन्दोलनकारीको नाताले पनि त्यहाँ सहभागी हुनु र आन्दोलनका निम्ति प्रशिक्षण दिनु नराम्रो कुरा हो र।

आफ्नै नेताहरुलाई जिल्ला जिल्ला पुगेर विरोध किन गर्नुहुन्छ नि?
विरोध किन नगर्ने? महिना दिन बढी हुँदा पनि बैठक बस्दैन। कुनै योजना कुनै कार्यक्रम बन्दैन। काठमाडौं बसेर आन्दोलन हुन्छ? अहिलेसम्म कुन सांसद जिल्ला गएर आन्दोलनमा होमिएको छ। बताउन सक्नुहुन्छ।

भनेपछि सांसदहरुका कारण आन्दोलन कमजोर भयो?

कतिपय साथीहरु पार्टीका प्रमुख नेताहरुबाट निर्देशित हुनुहुन्छ। उहाँहरु आन्दोलनमा सहभागी भएको जस्तो गरेर आन्दोलन तुहाउने  खेलमा लाग्नुभएको छ। कतिपय साथीहरु मन्त्री बन्ने दाउँमा हुनुहुन्छ। अनि यसरी आन्दोलन सफल हुन्छ। नत्र भने उहाँहरु बोल्ने ठाउँ संसद हो नि। किन अहिलेसम्म संसदमा आवाज उठाउन सक्नुहुन्न। किन रोस्टम घेराउन गर्न सक्नुहुन्न। कुनचाहिँ थारु सांसदले संसदमा आवाज उठाएको छ? त्यसैले आन्दोल गरिरहेको छु भनेर पार्टीका सांसदहरुले फुर्ती नगरे हुन्छ।

राजकुमार लेखी अलग्गै बाटोमा लागेको हो?

म अलग्गै हिँडेको छैन। म थारु हक अभिकारका निम्ति आन्दोलनमै हिँडिरहेको छु। जिल्ला जिल्ला पुगेर आन्दोलन नै गरिरहेको छु। जो आन्दोलन गरेको जस्तो गरिरहेका छन् उहाँहरुलाई यो प्रश्न सोध्दा राम्रो होला




Leave a Reply

Your email address will not be published. Required fields are marked *