Gachhadar Express his View

निर्वाचित भएको डेढ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण बुझाएका छन् । ३० सदस्यीय मन्त्रिपरिषदमा उनीसहित सरकारका १६ मन्त्रीलेमात्रै सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको वेबसाइटमा प्रकाशित सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीको सम्पत्ति एभरेष्ट बैंकमा नगद ७ लाखमात्रै देखिएको छ । सम्पत्तिको सोत ‘स्वआर्जन’ उल्लेख छ ।

प्रधानमन्त्री ओलीका भक्तपुरको बालकोटमा भएका दुवै घर श्रीमती राधिका शाक्यको नाममा उल्लेख छ । राधिका राष्ट्र बैंककी जागिरे थिइन् । उनले बैंकको जागिरबाट अवकास पाएकी छन् ।

राधिकाको नाममा झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा, भक्तपुरको बालकोटमा डेढ रोपनी जग्गा र तिनमा बनेका दुइटा अढाइतले घर, अलग अलग बैंकमा १४ लाख रुपैयाँ, १३–१४ तोलाको सुनका गहना र राष्ट्रिय वचतपत्रमा १५ लाख रुपैयाँ रहेको उल्लेख छ । सबै सम्पत्तिको स्रोत स्वआर्जन छ ।

प्रधानमन्त्री र मन्त्रीहरुले पदमा नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । ओली सरकारका ६ उपप्रधानमन्त्रीमध्ये सीपी मैनालीले अझै सम्पत्ति विवरण बुझाएका छैनन् ।

सरकारका बरिष्ठ उपप्रधानमन्त्री विजयकुमार गच्छदारको सम्पत्ति पनि बरिष्ठै देखिएको छ । उनी श्रीमती निर्मला र छोरा सुवाससहितको नगदमात्रै ५० लाखभन्दा बढी छ ।

गच्छदारसँग सुनसरीका दुहवी भलुवा नगरपालिका, तनमुना, सिमरिया, मोरङको विराटनगर उपमहानगरपालिकामा घडेरी र जग्गा छन् भने छोराको नाममा ललितपुरमा १३ आना जग्गा छ । श्रीमतीको नाममा रहेको कतिपय नगदमा स्रोत उल्लेख छैन ।

गच्छदारसँग ७५ तोला सुन, २७५ तोला चाँदी छ । गच्छदारले प्रधानमन्त्रीजस्तो अल्छी नगरि सम्पत्ति विवरण भरेका छन् ।

पञ्चायतकालदेखि नै शासकीय पदमा राज गरिरहेका उपप्रधानमन्त्री कमल थापासँग सुनमात्रै १ सय १० तोला छ । उनीसँग ३ सय तोला चाँदी छ भने आफ्नो र छोराको नाममा ८१ लाख रुपैयाँको सवारी साधन छ ।

सुदूरपश्चिमका कम्युनिष्ट नेता उपप्रधानमन्त्री भीम रावलसँग पनि सम्पत्ति राम्रै देखिएको छ । अहिलेसम्म तीनपटक मन्त्री भएका रावलसँग श्रीमती, छोरा र बुहारीको नाममा २० लाख नगद, २२ लाखको कार, ४८ तोला सुन, हिराको हार, रत्नीजडित गहना पनि छ ।

पहिलोपटक शासकीय पदमा पुगेका उपप्रधानमन्त्री चित्रबहादुर केसीको जीवनशैलिभन्दा राम्रो सम्पत्ति देखिएको छ । काठमाडौं, बाग्लुङ र रुपन्देहीमा जग्गा र घडेरी छ भने ८ लाख नगद देखिएको छ । उनीसँगका गहना भने थोरै देखिएको छ ।

एमाओवादीबाट उपप्रधानमन्त्री भएका टोपबहादुर रायमाझीसँग बुटवलको जग्गा बेचेको ४६ लाख रुपैयाँसहित बैंकमा १३ लाख रुपैयाँ, ७ तोला सुन, १२५ तोला चाँदी छ । उनीसँग ३३ लाख रुपैयाँ ऋण देखिएको छ ।

-इकान्तिपुरबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *