Bijaya

सीमांकनसहित समानुपातिक समावेशी सिद्धान्त र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्न नेकपा एमाले र एकीकृत नेकपा माओवादी मञ्जुर भएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई मतदान गरेको छ । बानेश्वरस्थित व्यवस्थापिका संसदमा बसेको तीन दलको संयुक्त बैठकमा ८ बुँदामा सहमति जुटेको थियो । त्यसपछि विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले अन्तिम समयमा ओलीलाई मतदान गरेको हो । आन्दोलनरत दलमध्ये सम्झौता गरेर मतदान गर्ने फोरम लोकतान्त्रिक एक्लो पार्टी पनि हो ।

‘मधेसकेन्द्रित दलका मागलाई सम्बोधन गर्न एमाले र एमाओवादी मञ्जुर भएपछि फोरम लोकतान्त्रिकले मतदान गर्ने निर्णयमा पुगेको हो,’ एमाले उपाध्यक्ष भीम रावलले सञ्चारकर्मीसँग भने ।

गच्छदारले संविधान संशोधनमार्फत मुख्य तीन मुद्दालाई सम्बोधन गर्न एमाले र एमाओवादीसामु सर्त राखेका थिए जसलाई अन्तिम समयमा प्रधानमन्त्रीका उम्मेदवार ओली र प्रस्तावक पुष्पकमल दाहालले सहमति जनाए ।

‘नेपालमा अन्तरिम संविधानअन्तर्गत अभ्यास गर्दै आएको समानुपातिक सिद्धान्तबमोजिम राजनीतिक तथा सार्वजनिक सेवामा सबै जनसमुदायको सहभागितामा कुनै अस्पष्टता नरहने गरी संविधान संशोधन गर्दा आवश्यक व्यवस्था गर्ने,’ तीन दलबीचको सहमतिमा उल्लेख छ, ‘तराई–मधेस, थारू, समुदाय, हिमाल, पहाडलगायत देशका विभिन्न भागमा प्रदेश सीमांकनको सन्दर्भमा देखिएका समस्यालाई राजनीतिक रूपमा लिँदै संविधान संशोधन गर्दा सहमतिको आधारमा गर्ने ।’

हाल कायम जिल्लाको भौगलिक क्षेत्रमा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने व्यवस्था गर्ने पनि सहमतिमा उल्लेख छ ।

यस्तै, घाइतेको उपचारसहित राहत र मृतक परिवारलाई तुरुन्तै राहत उपलब्ध गराउने, पक्राउ परेकालाई रिहा गर्ने तथा मुद्दा खारेज गर्नेसहित आन्दोलनमा क्षतिग्रस्त भएका सर्वसाधारणको घर र सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउने पनि ८ बुँदे सहमतिमा उल्लेख छ ।

संविधान निर्माणको कोसेढुंगा १६ बुँदे सहमतिकर्ता दलबीच एकता हुनुपर्नेमा गच्छदार पहिलेदेखि नै प्रस्ट रूपमा उभिँदै आएका थिए । संविधान निर्माण भएपछि पनि गच्छदार ‘भद्र सहमति’ अनुसार ओलीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणामा प्रस्ट थिए । सोहीअनुसार संविधान निर्माणमा असहमति जनाउँदै प्रक्रियाबाट बाहिरिए पनि कार्यान्वयनमा भने साथ दिने बचन गच्छदारले ओली र दाहालसमक्ष दिँदै आएका थिए । त्यसका बारेमा पटक–पटक भेटघाट पनि भइरहेको थियो ।

जब भद्र सहमति तोड्दै कोइरालाले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा आफूलाई अघि सारे । त्यसपछि गच्छदार अन्योलमा परेका थिए । लगत्तै उनले आफू नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चाआबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवसँग सल्लाह मागे । तर, उनीहरूले कोइरालाको पक्षमा मतदान गर्नुपर्नेमा जोड गरे । गच्छदार निवासमा भएको सो बैठकमा तीनै अध्यक्षले कोइरालाको पक्षमा मतदान गर्ने अनौपचारिक निर्णयसमेत गरे ।

‘त्यसअघि गच्छदारले ओलीलाई मत दिनुपर्छ भनेर सहयात्री दलसँग मतसमेत मागेका थिए, तर शनिबार दिउँसो कोइरालालाई मतदान गर्ने पक्षमा उभिए,’ स्रोतले भन्यो ।

छिमकी मुलुक भारतको दबाब र आफ्नै पार्टी भित्रबाट विभाजनको धम्कीसमेत पाएका उनले अन्य दुई नेतासमक्ष दुखेसो पोख्दै कोइरालालाई मतदान गर्ने संकेतसमेत गरे । र, आइतबार बिहान औपचारिक निर्णय नै गरेर कोइरालालाई मतदान गर्ने भन्दै तीनै नेता उठे ।

ओलीको पक्षमा खुल्दै आएका गच्छदारले त्यसअघि थरुहट पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहटसँग भोट नमागेका भने होइनन्, तर त्यसमा अन्य दलले असहमति जनाउँदै आएका थिए ।

‘गच्छदारजीले ओलीलाई मतदान गर्न मलाई आग्रह गर्नुभएको थियो, मैले उहाँको प्रस्तावलाई स्वीकार गरिनँ,’ थरुहट मञ्चकी सभासद रुक्मिणी चौधरीले नागरिकसँग भनिन् । तर, गच्छदारको सो प्रस्तावलाई अन्य दलले भने स्वीकार गरिरहेका थिएनन् ।

शनिबार साँझ गच्छदार उपाध्यक्ष जितेन्द्र देव र महासचिव रामजनम चौधरीलाई लिएर लाजिम्पाटस्थित दाहाल निवास पुगेका थिए जहाँ फोरम लोकतान्त्रिका तीन र एमाओवादीका दाहालसहित सचिव वर्षमान पुनबीच डेढ घन्टा लामो छलफल भयो ।

‘१६ बँुदेको भद्र सहमति कार्यान्वयन गराउन र नयाँ संविधानको स्वामित्व लिन तयार छांै, तर हाम्रा केही मागलाई संविधान संशोधनमार्फत सम्बोधन गराउन तयार हुनुपर्छ’ भनेर दाहालसमक्ष गच्छदारले प्रस्ताव गरे । दाहालले त्यसमा असहमति जनाउने कुरा थिएन, आफू सहमत भएको सोही बैठकमा जनाइहाले ।

गच्छदारले छिमेकी मुलुक भारतले पार्टी विभाजन गराउन खोजेको तथा दाहालले बाबुराम भट्टराईलाई बाहिर निकालेर दुःख दिएकोसम्म गुनासो साटफेर गर्न भ्याए । त्यसपछि गच्छदारको टोलीले ओलीसँग शनिबार राति गोप्य स्थानमा भेटघाट गर्यो । गच्छदारका मागमा ओली पनि सहमत भए ।

‘आइतबार बिहान ९ बजे औपचारिक रूपमा सहमति गर्ने र गच्छदारले ओलीलाई मतदान गर्ने घोषणा गर्ने,’ तीन नेताले सहमति गरे ।

सोहीअनुरूप नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमै तीन नेताबीच बैठक बस्यो । पूर्वसहमतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफलसहित नयाँ सरकारमा गच्छदारको उपस्थिति बलियो बनाउने भद्र सहमतिसमेत गरियो । जसअनुसार गच्छदारलाई भौतिक योजना तथा निर्माण मन्त्रालय तत्काल दिने र बाँकी मन्त्रालय आपसी छलफल गरी टुंग्याउने निर्णयसमेत भयो । लगत्तै, ८ बुँदे सहमति गरी गच्छदार अन्तिम अवस्थामा ओलीको पक्षमा मतदान गर्न राजी भए । उपाध्यक्ष देव र महासचिव चौधरीले गच्छदारलाई दह्रो साथ दिएकाले गच्छदार आफ्नो एजेन्डा पास गराउन पार्टीमा सफल भए ।

प्रकाश तिमल्सिना/नागरिक दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *