एसिसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि नेपाललाई, प्रत्येक खेलाडीले २० हजार पाउने
नेपालले परमपरागत प्रतिद्वन्द्वी मलेसियालाई ३२ रनले पराजित गरी एसिसी यु–१६ प्रिमियर क्रिकेट जितेको छ। मलेसियाको क्वालालम्पुर स्थिति किनरारा ओवल मैदानमा टस हारेको नेपालले ९ विकेट गुमाई १ सय ६१ रन बनायो। जबाफमा आएको मलेसिया ३६.२ ओभरमा १ सय २९ रनमै सीमित भयो। यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले प्रत्येक खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कारस्वरुप उपलब्ध गराउने जनाएको छ।
नेपाल सबै ५ खेल जिती विजेता बनेको हो। राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा मलेसियाले ३ खेल जित्यो। बहराइनसँगको वर्षाको कारण रद्ध भएको मलेसिया ७ अंकसहित उपविजेता भयो। समूह चरण्को अन्तिम खेल भए पनि नेपाल र मलेसिया बीचको खेल फाइनलसरह भएको थियो।
नेपालले मलेसियालाई पराजित गर्दै २ वर्षअघिको मिठो बदला पनि लिएको छ। सन् २०१२ मा मलेसियामै एसिसी यु–१६ एलिटको नामले आयोजित प्रतियोगिताको फाइनलमा नेपाल घरेलु टोलीसँग १ विकेटले पराजित भएको थियो।
तल्लोक्रमका ब्याट्समयान पवन सरार्फले सानदार ४४ रन बनाएपछि नेपालले मजबुत स्कोर बनाएको थियो। आठौं नम्बरमा ब्याटिङ गरेका उनले २६ बल खेली ४ चौका प्रहार गरेपछि नेपालले पछिल्लो २० ओभरमा १ सय २ रन जोडेको थियो। रवीन्द्र जंग शाहीले ३४ रन बनाए। ५७ बल खेलेका उनले २ चौका प्रहार गरे।
अन्य खेलाडीमा सुशान्त सिंह थापा ९, आशिफ शेख २०, रवि चन्द ७, कप्तान सुमित महर्जन ३, प्रनित थापामगर ९, जितेन्द्र सिंह १३ र रिजन ढकाल ५ रनमा आउट भए। आशिष पोखरेल ३ र अनिल पोखरेल शुन्यमा अविजित रहे।
नेपालले एसियाली क्रिेकट परिषदको उमेर समूहमा जित्न नसकेको यही एक प्रतियोगिता थियो। नेपालले यसअघि एसिसी यु–१५ दुइ पटक, एसिसी यु–१७ एक पटक र एसिसी यु–१९ चार पटक जितेको थियो। एसिसी यु–१६ एलिटको नामले यसअघि दुई पटक आयोजित प्रतियोगितामा नेपाल दुबैको फाइनलमा पराजित भएको थियो।
Facebook Comment