rajkumar

राजकुमार लेखी– निरासा एक किसिमको रोग हो। यस्तो रोगले व्यक्ति मात्र नभएर समाज र मुलुक पनि ग्रस्त भएको हुनसक्छ। निरासाको रोग सामूहिक रुपमा फैलिएको देशको हालत नेपालको जस्तो हुन्छ। नियालेर हेर्न पर्दैन, छर्लङगै देख्न सकिने कुरा के हो भने नेपाली समाज निरास छ। समाजले आत्मविश्वाश गुमाउँदै गएको छ। समाजमा आशा र उत्साह देखिँदैन। मुख्य कुरा भविष्यप्रति नागरिकजन आशावादी देखिँदैनन्।
मुलुकमा आशलाग्दा कामकुरा नभएका होइनन् । तर, नागरिकजनले निरासा मात्र देख्दै आएका छन्। नेपाली समाज किन निरास छ? किन हाम्रो समाजले आत्मविश्वाश गुमाउँदै छ? किन देशमा सकारात्मक केही हुँदैन सिर्फ नकारात्मक काम मात्र हुन्छ भन्ने धारणा समाजमा बलियो बन्दै गइरहेछ? किन हामीमा आपसी विश्वाश छैन र एक अर्कालाई अविश्वाश गरिरहेछौं? यस्ता प्रश्नको जवाफ होइन निराकरणको आवश्यकता देखिन्छ।
समाजले आत्मविश्वाश गुमाउनु निकै घातक कुरा हो। भविष्यप्रति आशावादी हुन नसक्ने मुलुकको प्रगतिको गति अवरुद्ध हुन्छ। मुलुकमा आत्मविश्वाश जगाउनु आजको आवश्यकता हो तर हामी निरासाको खेतिमा रमाइरहेछौं। हामी नकारात्मकतामा रमाइरहेका छौं। फूल नदेख्ने काँडामात्र देख्ने प्रवृत्ति मुलुकमा हाबी भइरहेछ। हामी राम्रो केही देख्दैनौं नराम्रो मात्र देख्छौं। झन राजनीतिमा त राम्रो केही देख्दैनौं, नराम्रो मात्र देख्छौं। हुनत नेपाली राजनीतिमा राम्रो के नै छ भन्न पनि सकिन्छ। तथापि, समाजमा नकारात्मक धारणा मात्र प्रवाह हुने वर्तमान स्थिति अत्यन्तै चिन्तालाग्दो छ।
निरास र आत्मविश्वाश कमजोर भएको समाजमा तथ्य र सत्य भन्दा उग्र र अराजक कुराले प्राथमिकता पाउँछ। उग्र र अव्यवहारिक कुरा गर्नेलाई ताली दिनु र व्यवहारिक र सन्तुलित विचार राख्नेलाई गाली गर्नु आत्मविश्वाश कमजोर भएको समाजको लक्षण हो। यस्तो लक्षण नेपालमा सर्वत्र देख्न सकिन्छ। निरास र आत्मविश्वाश गुमाउँदै गएको समाजमा अतिवादी चिन्तन र व्यवहार हावी हुँदै जान्छ।
संक्रमणकालीन राजनीतिक स्थितिमा समाजको स्थिति यस्तै हुन्छ भन्ने सजिलो जवाफ दिन सकिएला तर संक्रमणकालका सीमामात्र नभएर सम्भावना पनि हुन्छन्। संक्रमणकाल भनेको बरवादीको चरण होइन, संक्रमणकाल भनेको निरास मात्र हुने चरण होइन। संक्रमणकाल सुन्दर भविष्यमा पुग्ने बाटो हो। संक्रमणकालमा सुन्दर भविष्य देखिनुपर्छ। संक्रमणकाल जटिल कालखण्ड हो, त्यसैले यस्तो कालखण्डमा जोसभन्दा धेरै होस हुनुपर्छ, आवेग भन्दा विवेक धेरै प्रयोग गरिनुपर्छ। संक्रमणकाल निरास हुने चरण होइन, आशावादी हुने चरण हो। तर, नेपालमा संक्रमणकाल भनेको भएको सबै भताभुंग पार्ने, निरासा बढाउने कालखण्ड बन्दै गइरहेको छ।
संविधानसभाको पछिल्लो चुनावले मुलुकमा आशाको किरण झलक्क देखायो त्यसपछि निरासाको चरण सुरु भएको छ। अर्थात्, आशा अस्थायी र निरासा स्थायी विषयजस्तो बनेको छ। अब नयाँ सरकार बन्नेछ, नयाँ मन्त्री र प्रधानमन्त्री आउनेछन्, त्यसपछि पनि निरासाको यो चरण सकिने लक्षण देखिँदैन। किनभने भविष्यप्रति आशावादी हुन हामीले छाडिसकेका छौं।
मुलुकमा सर्वत्र नकारात्मक प्रवृत्ति हावी हुँदै गएको छ। जस्तो कि धर्मनिरपेक्षता। नेपाल धर्मनिरपेक्ष भइसकेको छ। धर्मनिरपेक्षता एकताका लागि हो, मिलापका लागि हो, आपसी सहकार्यका लागि हो। धर्म निरपेक्षतालाई बाँदरको हातमा नरिवल बनाउने प्रवृत्ति फस्टाउँदै गइरहहेको छ। धर्मनिरपेक्षताको नारा दिँदै आफूले नमान्ने तर अरुले मान्ने धर्म, संस्कृति र चाडपर्व आदिको विरोध र भर्त्सना गर्ने प्रवृत्ति मौलाउँदैछ। अरुको आस्थामा प्रहार गर्ने कार्य सामान्य बन्दै गएको छ।
अरुको धर्म, संस्कृति या चाडपर्वको बिरोध गर्नु मानवीय शिष्टाचार र सभ्यता होइन। अरुको निकृष्ट र अशिष्ट बिरोध गरेर क्रान्तिकारी बन्ने घातक संस्कृति नेपालमा मौलाइरहेको देखिन्छ। धर्म निरपेक्षता एकताका लागि हो विभाजनका लागि होइन भन्ने सामान्य तथ्य समेत समाजमा स्थापित हुन नदिने खतरनाक प्रवृत्ति किन मौलाइरहेछ भन्ने खोजबिन गर्न जरुरी छ।
नेपाल बहुलतायुक्त समाज हो। नेपाली समाजमा यति धेरै विविधता छ कि त्यो विविधिताभित्र विषमता र असमानता खोज्ने अभियान चलाइएको छ। विविधता र बहुलता आफैमा सुन्दर हुन्छ। समाजको विविधतामा विभाजन खोज्ने, समाजमा आशंका र द्धन्द्ध बढाउने कामले प्राथमिकता पाउने तर समाजलाई बाँधेर राख्ने खास अवयवहरुलाई दुरुत्साहन गर्ने प्रवृत्ति छ। हरेक समाजमा द्धन्द्ध हुन्छ र नेपाली समाजमा पनि द्धन्द्ध छ। द्धन्द्ध आफैंमा नराम्रो होइन, द्धन्द्धकै बीच समाजको विकास हुन्छ, समाज परिस्कृत हुँदै जान्छ। सामाजिक द्धन्द्धलाई निषेध गर्न सम्भव छैन, द्धन्द्धलाई व्यवस्थापन गर्ने हो। हामीले कसरी व्यवस्थापन गर्छौ, द्धन्द्धलाई कसरी ब्याख्या गर्छौ भन्ने मुख्य कुरा हो।
नेपाली समाजको विविधता भित्र कतिपय यस्ता सुन्दर पक्ष छन् जसलाई उजागर गर्न आवश्यक छ। नेपाली समाजलाई, हिमालदेखि तराईसम्मलाई, विभिन्न जातजाति र भाषाभाषिलाई एक सूत्रमा बाँधेर राख्ने, यी विविधताबीच सूत्रका काम गर्ने तत्वमध्ये माघी पनि हो। माघीलाई मकर संक्रान्ती, माघे संक्रान्ती, नयाँ वर्ष, माघ मिलन, तिला संक्राइत लगायतका विविध नाम र रुपमा रुपमा विभिन्न समुदायले मनाउँछ। चाड एउटै हो तर मनाउने तरिका र नाम फरक।
तराईदेखि हिमालसम्म सबैभन्दा धेरै जनसंख्याले मनाउने साझा चाड कुनै छ भने त्यो माघी नै हो। माघी जत्तिको साझा सांस्कृतिक पर्व नेपालमा अरु सायदै छ। सबै चाड सबैले मनाउँछन् भन्ने छैन, माघी पनि सबैले मनाउँदैनन्। माघी नमनाउने समुदाय पनि छन्। तर, सबैभन्दा धेरै मानिसले मनाउने चाड माघी हो। दशैं तिहार मनाउने र नमनाउने दुवैखाले समुदायमा माघी मनाइन्छ।
माघ १ गते तराईका गाउँमा जुन उल्लास हुन्छ हिमाली भेगमा पनि त्यही उत्साह हुन्छ। माघी मनाउने तरिका फरक होला तर माघ १ गतेका दिन नेपाल एउटै सांस्कृतिक पर्वमा बाँधिएको हुन्छ। माघीको व्यापकतालाई नयाँ सन्दर्भमा व्याख्या गर्न आवश्यक देखिन्छ। समाजमा देखिएको विभाजन र विग्रहको मानसिकतालाई निस्तेज पार्न माघीजस्ता साझा पर्वलाई उजागर गर्न आवश्यक देखिन्छ।
समाजमा व्याप्त निरासालाई चिर्ने काम राजनीतिक रुपमा मात्र गरेर हुँदैन, यस्ता सांस्कृतिक पक्षहरुले पनि समाजमा एकता अभिवृद्धि गर्न योगदान गर्न सक्छन्। समाजमा रहेका विभेदलाई राजनीतिले सम्बोधन गर्नुपर्ने आवश्यकता एउटा ठाउँमा छ तर राजनीतिलाई मात्र सबैथोक छाडिदिन मिल्दैन। विविध धर्मसंस्कृति, संस्कार, भाषा आदिलाई कदर गर्ने अर्थात् विविधतालाई स्वीकार र सम्बोधन गर्ने संस्कृतिलाई अगाडि बढाउन सकियो भने समाजमा व्याप्त निरासा घटाउन र आत्मविश्वाश बढाउन सकिन्छ।
राष्टिय जीवन र मुलुकको वृहत्तर समाजको सन्दर्भमा राजनीति एउटा तत्व मात्र हो, राष्टिय जीवनलाई राजनीतिले मात्र सम्बोधन गर्न सक्दैन। किनभने समाज भनेको वृहत्त् हुन्छ, राजनीति भनेको सानो इकाइ मात्र हो। त्यसैले राजनीति भन्दा पर हटेर समाजको अवस्था हेर्ने काम थाल्नु आजको आवश्यकता बन्न पुगेको छ। समाजलाई एकीकृत राख्ने तन्तुहरुलाई चुँडाउने होइन कि झंकृत गर्ने काममा माघीजस्ता पर्वलाई उपयोग गर्न सकिन्छ।
लेखी राष्ट्रिय नागरिक पार्टी नेपालका अध्यक्ष हुन्।

सेतोपाटी साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *