Gopal Dahitगोपाल दहित– दोस्रो संविधान सभाको चुनावको लागि २०७० मंसिर ४ गते मतदान भइराखेको दिन दिउँसो धेरै जिल्लामा सम्पर्क हुँदा शान्तिपूर्ण तरिकाले मतदान भइराखेको र हाम्रो पक्षमा पनि राम्रो मत खसिराखेको खबर पाइएको थिएँ, ज्यादै हर्सित समाचार थियो। तर एकाएक सोही दिन साँझ ६ बजेतिर मेरो र सँगै रहेको सहयोद्धाहरुको मोबाइलमा बर्दिया, दाङ, नवलपरासी, कपिलवस्तुलगायतको धेरै जिल्लाबाट लगातार कैयनवटा फोन आयो, र क्रस फोन पनि गरियो। सबैको एउटै बोली थियो, ‘मतदान केन्द्रबाट मतपेटिका उठाएर लाँदा कुनै पनि दलको एजेन्ट सँगै जान दिएनन्, प्रहरी र सेनाले लगे, र सँगै जान खोज्दा धम्क्याउने, कतिपय ठाउँमा लात्तीले समेत हिर्काए।’
मसित निर्वाचन आयोगको आयुक्तहरुको फोन थिएन। त्यसैले तुरुन्त बर्दिया जिल्लाको निर्वाचन प्रमुखसित सम्पर्कमा आए र बस्तुस्थिति जानकारी गराए। उहाँ अचम्मित हुँदै आत्तिनुभयो र भन्नुभयो, ‘म तुरुन्त एसपी र सीडीओलाई फोन गर्छु, मतपेटिकाको साथमा एजेन्ट अनिवार्य हुनुपर्छ।’ त्यसपछि मरो फोन बर्दियाको एसपी र सिडीओसित सम्पर्कमा आयो, यस सम्बन्धमा टालटुले जवाफ पाइयो। राति करिब साह्रे बाह्र बजे सदरमुकाम गुलरिया आइपुगियो। चारैवटा निर्वाचन क्षेत्रको मतपत्र आइपुगेको रहेनछ। जबकि २०६४ सालको संविधान सभाको निर्वाचन हुँदा राति ११ बजेदेखि मतगणना सुरु भइसकेको थियो। गुलरिया पुगेका पार्टीका प्रतिनिधिलाई मतपेटिका राख्नेा कोठा निरीक्षण गर्ने र मतपत्र बाकस राखिसकेपछि अन्य दलका एजेन्टसहितको रोहबरमा ताला लगाइ सिलबन्दी मुचुल्का गर्नु गराउनु भनियो। तर मतपेटिका राख्ने  ठाउँको डिउटीमा रहेका प्रहरीले भित्र जान दिएनछन्। माओवादी, थरुहट  पार्टीको एजेन्टलाई प्रहरीले नराम्ररी हपारेछ, र उनीहरु फर्केछन्।

अर्को दिन बिहान ९ बजेदेखि मत गणना गर्ने भनेकोमा बल्लतल्ल त्यो पनि दलका दबाबका कारण दिउँसो २ बजेमात्र सुरु भयो। यी सबै घट्ना सरसर्ती हेर्दा मतदान गर्दासम्म कुनै खालको अप्रिय र धाँधलीको सुइकोसम्म थिएन। तर मतदात केन्द्रबाट मतपेटिका उठाउनेदेखि जिल्ला सदरमुकाम जहाँ मत गणनाको लागि स्थान तय गरिएको थियो, त्यहाँसम्म आइ मत गणना गर्ने क्रममा समेत परिकल्पना गरेभन्दा धेरै धाँधली भयो, मतपत्र राखेको बाकसको सिल तोडी धागोले बाधेको पाइयो, यस्तो घट्ना एकल पहिचानसहितको संघीयता पक्षधरहरुको बलियो पकड भएको गाविस क्षेत्रको मतदान केन्द्रका मतपेटिकामा भयो र उनीहरुको बिपक्षमा मत सुनियोजित रुपमा बनाइयो, मतदान केन्द्रमा तयार पारेको मुचुल्का भन्दा निकै धेरै मतपत्रहरु मतपेटिकामा पाइयो, मतपत्रका अर्धकट्टी जंगलमा अर्ध जलेको, मतपेटिकाहरु काठमाडौं, बाँके, सर्लाहीलगायतको जिल्लामा बेवारिसे अवस्थामा पाउन थालियो।
नवलपरासीको मनरी, सरावल र तिलकपुर गाविसका मतदान केन्द्रका मतपेटिकाका सिल तोडेर बेलासपुर सशस्त्र प्रहरीको क्याम्प नजिकै फालेको भेटियो। यो घट्ना टेलिभिजन र स्थानीय मेडियामा प्रसारण भयो। निर्वाचन आयोगले निर्वाचन सम्बन्धि जारी भएको ऐन कानूनलाई निषेध गर्ने गरी निर्वाचनमा भए गरेका धाधलीलाई वैध बनाउने गन्धयुक्त सिलसिलेवार सर्कुलर जारी गरेको पाइयो। एमाले र कांग्रेसका उम्मेदवारलाई नसोचेको ठाउँबाट नचिताएको मत बनाई विजयी बनाइयो। यी सबै घट्नाले कांग्रेस र एमालेका केही शीर्षस्थ नेता र केही अदृष्य शक्तिको सुनियोजित गुरुयोजनाले चुनावको परिणामलाई अर्कै मोड दिन सफल भएको सहजै अनुमान लगाउन सकिन्छ। यस गुरुयोजनामा चुनावको धाँधलीलाई धाकछोप गर्न नेपाली कांग्रेस र एमालेका केही शीर्षस्थ नेताहरुलाई बलीको बोका बनाइयो। उदाहरणको लागि बर्दिया, दाङलगायतका केही जिल्लामा नेपाली कांग्रेस र एमालेका केन्द्रीय स्तरका बलिया नेताहरुलाई सम्बन्धित पार्टीले नै हराएको छ। यी सबै घट्नाले प्रमाणित गर्छ कि विश्वमा पहिलो पटक र नेपालमा दोस्रो पटक भएको संविधान सभाको प्रतिनिधित्व सक्कली जनमतको आधारमा छैन, धाँधली र बर्बरतापूर्ण तबरले जिताइएको कथित ठूला दलको दादागिरी छ। अझ विभिन्न मिडियामा ठूला ठूला स्वरमा ‘जो चोर उसैको ठूलो स्वर’ भनेजस्तै गरी ती धाँधली गरी कथित निर्वाचित सभासद्ले भन्ने गरेको देखिन्छ र सुनिन्छ, ‘क्षेत्रीय र जातीय नारा लगाउने दलको अस्तित्व समाप्त भइसकेको छ, र जातीय प्रदेश बनाउनेविरुद्ध जनादेश प्राप्त छ।’

थरुहट आन्दोलनको जगबाट थरुहट तराईमा बसोबास गर्ने सबै नेपालीको पहिचान, आत्मसम्मान, अधिकार, न्यास र विकासका लागि स्थापित राजनीतिक दल थरुहट तराई पार्टी नेपाल पनि चुनावी मैदानमा उत्रिएको हो। कैलालीको क्षेत्र नं. २ र ३, बर्दियाको क्षेत्र नं. १ र ४, दाङको क्षेत्र नं. १, कपिलवस्तुको क्षेत्र नं. १, नवलपरासीको क्षेत्र नं. ५, कञ्चनपुरको क्षेत्र नं. ३ लगायतको कम्तीमा १५ स्थानबाट प्रत्यक्ष वा पहिलो हुने जित्ने योजनासाथ र समानुपातिक निर्वाचनमा पनि ९९ जना उम्मेदवार खडा गरी प्रतिस्प्रधामा धक्की चुनाव चिन्ह लिएर उत्रिएको हो। संघीय समाजवाद, पूर्ण समानुपातिक लोकतन्त्र, संघीय नेपाल एवम् हरेक प्रदेशको सबै सरकारी संयन्त्र तथा निकायको प्रत्येक तहमा क्रमशः राष्ट्रिय एवम् प्रदेश स्तरको जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक रोजगारी एवम् प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्ने र आत्मनिर्णयको अधिकारसहित एकल जातीय ऐतिहासिक भौगोलिक पहिचानका आधारमा स्वायत्त प्रदेशहरु भएको संघीय नेपाल बनाउने प्रतिबद्धताका साथ थरुहट तराई पार्टी चुनावी मैदानमा होमिएको थियो। पार्टीले उठाएका यिनै मुद्दाका कारण पुरै चुनावी माहोल थरुहटमय वा धक्कीमय बनेको सबैकोसामु दिनको घामसरी छर्लङ्ग छ। तर पनि चुनावी परिणाम ठीक उल्टो बनाइयो। थरुहट तराई पार्टी नेपाललाई जुन धाँधलीले जकडिएको बाटोबाट चुनावमा गुज्रिनुपर्योह, त्यही धोखा र धाँधलीबाट संघीयतावादी अन्य दलहरु पनि गुज्रे। यिनै धाँधलीको पराकाष्ठालाई चिर्दै थरुहट तराई पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २ वटा सभासद् पठाउन सफल भएको छ।

यो चुनावले संघीयतावादी सबै दललाई ठूलो पाठ सिकाएको छ। गैरसंघीयतावादी दलहरुको रिमोट कन्ट्रोलमा चल्ने सर्बोच्च अदालतका प्रधानन्यायधीशको नेतृत्वमा गठित कर्मचारीतन्त्रको एक तन्त्रीय सरकारले गराउने चुनावमा कहिल्यै पनि भाग लिन हुँदैन भन्ने पहिलो सिकाइ छ। पावर, पैसा, मिडिया र सरकारी सबै सयन्त्रमा एक जाति, एक धर्म, एक भाषा यसैगरी नातागोता र हैकमवादी तवरले कब्जा जमाएका गैरसंघीयतावादी दलहरुले परिवर्तन चाहने संघीयतावादी दलहरुलाई घेराबन्दी लगाइसकेका छन्। यो घेरा तोडी अबको दिनमा संघीयतावादी दलहरुको बलियो मोर्चा बनाइ संविधानमा जनताका अधिकार, न्याय र पहिचान स्थापित गर्नको लागि अगाडि बढ्नुको बिकल्प छैन भन्ने दोस्रो यथार्थता हो। तेस्रो सिकाई भनेको संघीयता पक्षधरमित्र शक्ति, संगठन र मुलुक यसैगरी विरोधी पक्षलाई पहिचान गरी सोही अनुसारको ब्यवहार गर्नु पर्ने रहेको छ। चौथो वस्तुगत सिकाई भनेको आफ्नो संगठनलाई चुस्त, दुरुस्त, बलियो, प्रशिक्षीत र सर्वव्याप्त बनाउनु पर्छ भन्ने हो।

यिनै चार सिकइलाई आधार मानी थरुहट तराई पार्टी नेपाल आगामि स्थानीय निकायको चुनावी तयारीमा पूरा शक्ति लगाई योजनाबद्ध तरिकाले अगाडि बढ्ने निर्णय गरेको छ। यसको लागि संगठन विस्तार, प्रशिक्षण र सफलताका कार्यनैतिक योजना तय गरी लागू गरिसकेको छ। केन्द्रीय स्तरमा साझा मुद्दामा सहमति जनाउने राजनीतिक दलहरुसित मोर्चा गरी सरकार, सदन र सडकमा आवाज बुलण्डित र मुखरित गर्ने योजना तय गरेको छ। यसको लागि संविधान सभामा दुई जनाको नाम सिफारिस गरेको छ, र एकल जातीय ऐतिहासिक भौगोलिक पहिचानसहितको संघीयता पक्षधर र परिवर्तनको पक्षमा आवाज बुलन्दित गर्ने दलहरुसित साझा मुद्दा लिखितरुपमा निर्धाण गरी सरकार, सदन र संविधान सभामा संयुक्तरुपमा कार्य गर्न गराउनको लागि संघीय लोकतान्त्रिक गठबन्धन बनाउने अभ्यास भइरहेको छ। आगामि दिनमा हुने चुनावी अभियानमा कुनै पनि पक्षले संस्थागत र संरचनागत धाँधली गर्न दुस्सहाससम्म पनि गर्न नसकुन भन्ने हिसावले कारबाहीको कठघरामा उभ्याउने काममा साथ, समर्थन र जनमत बनाएमा मात्र लोकतन्त्रिक अभ्यासले स्थायित्व पाउन सक्छ। यसर्थ यस योजनामा सबैसित सहयोग, समर्थन र जनमत बनाउन सहयोगको अपेक्षा गरेको छ।

वस्तुगत यिनै धरातलबाट थरुहट तराई पार्टी नेपालले चुनावी सरकार, ठूला र पुराना दल यसैगरी स्वदेशी तथा विदेशी शक्ति केन्द्रको संयुक्त संस्थागत र संरचनागत धाँधलीको पराकास्ठाका बाबजुट थरुहट तराई भूगोलमा बलियो गरी टेकेर राजनीतिक मैदानमा अल्पायुमा समेत हिजोका कम्तिमा २० वर्षसम्मको पुराना दललाई पछाडि पार्दै संविधान सभामा भाग लिएका १ सय २४ दलमध्ये १८औं स्थान स्थापित गरी संविधान सभामा २ जना सभासद् पठाई उदयमान भएको छ। यस दलले उठाएका मुद्दा, भौगोलिक बनोट, जनसंख्या र सामरिक महत्वको कारण थरुहट तराई पार्टी नेपालको राजनीतिक भविष्य तुलनात्मकरुपमा निकै सुन्दर र बलियो छ। कथित उच्च जातिको अहंकारवादी सोंच र चिन्तन बोकेका यथास्थितिवादी नेताहरुले नेतृत्व गरेको दल जसले यहाँका आदिवासी, जनजाति, दलित, पछिडावर्ग, मुस्लिम, मधेसी र महिलालाई जहिले पनि झोले कार्यकर्ता मात्र देख्ने दलको चक्रव्यूह रुपी चङ्गुलबाट मुक्त भइ आफ्नै नेतृत्व, त्याग, बलिदान र योजनामा अगाडि बढ्ने दल थरुहट तराई पार्टी नेपाल बलियो दलको रुपमा उदयमान छ। यसर्थ भोलिको राजनीतिक भविष्य देख्नेा सबैले आफ्ना पुराना विचार र दासमनोबृत्तिबाट मुक्त भइ यस दलमा आबद्ध हुन जरुरी सबैले महसुस गरेका छन्, र यथार्थता पनि यही हो।
जय थरुहट।




Leave a Reply

Your email address will not be published. Required fields are marked *