लक्की चौधरी, काठमाडौं- मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचन २०७० को प्रत्यक्ष उम्मेदवारतर्फ विभिन्न पार्टीका गरी १८ जना थारुहरु विभिन्न जिल्लाबाट निर्वाचित भएका छन्। निर्वाचित हुने थारुहरुमा नेपाली कांग्रेसबाट ६ जना, नेकपा (एमाले) बाट ५ जना, एमाओवादीबाट ४ जना र फोरम (लोकतान्त्रिक) बाट ३ जना रहेका छन्। थारुले नेतृत्व गरेका राजनीतिक दलमध्ये फोरम (लोकतान्त्रिक) बाट १७६ जना प्रत्यक्ष तर्फका उम्मेदवारी दिएपनि ४ जनामात्रै निर्वाचित भएका थिए।
यस्तै, थरुहट तराई पार्टी नेपालको तर्फबाट ४३ जना थारु उम्मेदवारहरु चुनावी मैदानमा उत्रेपनि एकजनाले पनि आफ्नो जित सुनिश्चित् गर्न सकेनन्। यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले ११ जना थारुलाई चुनावी मैदानमा उतारेको थियो। तर कोही पनि जितको बाजी मार्न सकेनन्। यस्तै, अन्य मधेसवादी दलका तर्फबाट पनि थारु उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रेको भएपनि कसैको जित सुनिश्चित् बनेन।
निर्वाचित थारु उम्मेदवारहरुमा नेपाली कांग्रेसबाट दाङ क्षेत्र नं. –२ बाट सुशिला चौधरी, क्षेत्र नं. –१ बाट पार्वता डिसी चौधरी, सप्तरी –५ बाट तेजुलाल चौधरी, पर्सा –४ बाट सुरेन्द्र चौधरी, सिराहा –१ बाट पद्मनारायण चौधरी र सर्लाही –२ बाट रामचन्द्र चौधरी हुनुहुन्छ।
यस्तै एमालेको तर्फबाट पर्सा –५ बाट जयप्रकाश थारु, सप्तरी –४ बाट ताराकान्त चौधरी, उदयपुर –२ बाट मञ्जुकुमारी चौधरी, बारा –५ बाट बलबीर चौधरी र नवलपरासी –४ बाट बैजनाथ चौधरी निर्वाचित हुनुभएको छ।
सोहीअनुसार एमाओवादीबाट वर्दिया –४ बाट मानबहादुर थारु, वर्दिया –३ बाट सन्तकुमार थारु, कैलाली –४ बाट गौरीशंकर थारु र सप्तरी –१ बाट मानपुर चौधरी विजयी हुनुभएको छ। यस्तै, फोरम (लोकतान्त्रिक) बाट सुनसरी –३ बाट विजयकुमार गच्छदार, कैलाली क्षेत्र नं –१ बाट जनक चौधरी र क्षेत्र नं. –३ बाट रामजनम चौधरी निर्वाचित हुनुभएको छ।
यसैगरी विभिन्न दलबाट गरी ५९ जना आदिबासी जनजाति उम्मेदवारहरु प्रत्यक्षबाट निर्वाचित भएका छन्। सोमध्ये एमालेबाट २६ जना, कांग्रेसबाट १९ जना, एमाओवादीबाट ९ जना, फोरम लोकतान्त्रिकबाट ३ जना र नेमकिपाबाट १ जना निर्वाचित छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *