jitiya 2070-2लक्की चौधरी–  हरेक वर्ष आश्विन कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म धुमधामकासाथ थारु घर आङ्गनमा मनाइने जीतियापर्वको रौनकता यसवर्ष पनि थारुवस्तीमा शुरुभएको छ। विशेषगरी विवाहित थारु चेलीबेटीले निराहर व्रतबसी मनाइने यसपर्वले थारु समुदायबीच सम्बन्ध सुधारको भूमिका खेल्नेगर्दछ। विवाहगरी गएका थारु चेलीहरुलाई अनिवार्यरुपमा माइतमा बोलाई चाड मनाइन्छ। यदि त्यसो नगरिए सम्बन्धमा दरार आएको अर्थलाग्ने हुनाले चेलीबेटीलाई माइतमा ल्याउने विशेष चाँजोपाँजो गरिन्छ। असोज ११ गते देशभर थारु घरआंगनमा जितिया मनाइँदैछ।

जीतियापर्वमा थारु चेलीले सूर्यलाई जितमहानबाबाको नामले पूजा गर्ने गर्दछन्। यसको व्रत तथा पूजाले आफ्ना सन्तानहरु सधैं जित्ने, सफलताको शिखर चुम्ने विश्वास गरी थारु चेलीहरु निराहर ब्रत बस्छन्। सन्तानको सफलतासँगै उनीहरु श्रीमान्को दीर्घायूको पनि कामना गर्ने गर्दछन्। चौविसघण्टे लामो व्रतपछि मात्र चेलीहरु पानी पिउने गर्दछन्। यस्तो कथोर व्रतबाट सूर्य भगवान खुशी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायूको आशीर्वाद दिने विश्वास थारु चेलीहरुको छ।

जीतियापर्व मनाउने प्रचलनको सुरुवात कहिलेदेखि भयो भन्ने एकिन छैन। तथापि थारु समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदैआएको छ। थारुसँग अहिले दनुवार र मधेसीमुलका चेलीबेटीले समेत यस पर्वलाई मनाउन शुरु गरेका छन्। तराईका मुल बासिन्दा थारुहरुको यस महानपर्वले थारु समुदायबीचको सम्बन्धलाई अझ प्रगाध र सुमधुर पार्ने विश्वास गरिन्छ। उसो त यो पर्व पूर्वीया थारुहरुले मात्र मनाउँछन्। कपिलवस्तुदेखि पूर्व झापासम्मका थारुले धुमधामकासाथ मनाउने यो पर्वको पश्चिमका दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुरका थारुलाई कुनै महत्व राख्दैन। पश्चिमका थारुहरु जीतियाको सट्टा अतवारी र अष्टिम्की पर्व मनाउँछन्। उनीहरु पनि व्रतबसी चेलीबेटीलाई उपहार दिई मनाउने गर्छन्।

यस पर्वलाई थारुहरु विवाहित चेलीबेटीहरुलाई माइतमा ल्याई सुख–दुःखका कुराहरु साट्ने अवसरकारुपमा लिन्छन्। वर्षौसम्म आफन्तहरुसँग भेटघाट गर्ने संगमको रुपमा पनि यसलाई लिने गरिइन्छ। मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउँछ।

थारु समाजमा जीतियाको महिमा किन र कसरी कायम भयो त? विभिन्न किंवदन्ती सुन्नमा पाइन्छ। प्राचीनकालमा एक सारीबाहन नामक् राजाको छोरी मसवासीले विवाह नै नगरी कुमारी अवस्थामै गर्भाधारण गर्छिन्। कसैसँग शारीरिक सम्पर्क नै नगरी एक बालकको जन्म हुन्छ। सो बालक निकै तिक्ष्णबुद्धि र बलसालीभएकाले ऊ आफ्ना साथीहरुसँग कहिल्यै पराजित हुँदैन। कहिल्यै नहार्ने जित्नेमात्र भएकाले उसको नाम ‘जितुवा’ हुन्छ। उसको सफलता देखेर सहन नसकी उसका साथीहरु एकदिन जितुवालाई हराउने योजना बनाउँछन्। एउटा गुफामा आमाको नामबाट पस्ने तर निस्कँदा बुवाको नाम लिएर निस्कने। जो निस्कन सक्छ उही विजय हुन्छ भन्ने शर्त राखिएको हुन्छ। जितुवा पनि साथीहरुको सर्त मन्जुर गरी गुफामा आमाको नाम लिएर त पस्छ तर निस्कनेबेला उसले बुवाको नाम सम्भि्कन सक्दैन। बुवाको नाम सम्भि्कन नसकेपछि ऊ गुफाभित्रै बस्न बाध्य हुन्छ। उसको आमाले सो कुराको जानकारी पाएपछि गुफामा गएर बुवाको नाम सूर्य भगवान भनेर बताएपछि ऊ बल्ल गुफाबाट बाहिर निस्कन्छ।

आमाले बुवाको नाम सूर्य भगवान बताए पनि जितुवालाई विश्वास लाग्दैन। आमालाई पुनः बुवाको नाम बताउन बारम्बार आग्रह गर्छ। बुवाको नाम सूर्य नै हो भनेपछि उसले आमालाई बुवासँग भेटाइदिन आग्रह गर्छ। तर आमाले बुवालाई भेट्नजाँदा जलेर नष्ट होइने बताए पनि जितुवा मान्दैन। ऊ आफ्नै जिद्दीले बुवासँग भेट्न भनी घरबाट निस्कन्छ। त्यो कुराको जानकारी सूर्य भगवानले पाएपछि जोगीको भेषमा जितुवासँग बाटोमा भेट्छन्।

जितुवालाई तिमी कहाँ जाँदैछौं भनेर सोध्दा उसले बुवा सूर्यसँग भेट्न निस्केको जबाफ दिन्छ। तर सूर्य त आगोको झिल्को भएकाले जलेर नष्ट भइन्छ भन्दासमेत त्यो बालकले मान्दैन। जोगीको कुरा नसुनी ऊ अगाडि बढ्छ। जोगीले म नै तिम्रो बुवा सूर्य भगवान हुँ भने पनि उसले विश्वास गर्दैन। पछि सूर्यले जितुवालाई सम्झाई बुझाई संसारका चेलीबेटीहरु कृष्णपक्ष सप्तमीदेखि नवमितिथिमा उपवास, व्रतबसी पूजापाठ गरे उनीहरुको सन्तानको विजयी, सफलता तथा दीर्घायूहुने वरदान प्राप्तहुने बताएपछि जितुवा विश्वास गर्छ। सोही प्रसंगमा यो पर्वको सुरुवातभएको थारु समाजमा विश्वास छ।

जीतियापर्वलाई परम्परागतरुपमा मनाउने कि समयसान्दर्भिक रुपान्तरण गर्ने भन्ने आज थारु समाजमा वहसको विषय बनेको छ। चेलीबेटीले पानी पनि नपिई निराहार भोकभोकै बस्ने प्रचलनले अधिकांश चेलीको स्वास्थ्यमा समस्या परेकोभन्दै आजका चेलीहरु यस पर्वलाई महिला अधिकारसँग जोडेर हेर्न थालेका छन्। महिलाहरुले पुरुषका लागि व्रतबस्ने, उसको दीर्घायुको कामना गर्ने तर त्यही पुरुष महिलालाई दासदासीको दर्जामा राखी शोषण गर्नेगरेको आरोप लगाउँदै केही महिलाहरु पर्वको समयसान्दर्भिकताको कुरा उठाउन थालेका छन्। यद्यपि थारु समाजमा महिलालाई दासदासीको दर्जा दिने चलन भने छैन। सम्मानपूर्वक राख्ने प्रचलन छ। थारु चेलीहरुको सम्मान हुँदाहुँदै अधिकारको कुरा उठाउनु सान्दर्भिक नहुने कतिपय पुरुषहरुको बुझाई छ।

यस जीतिया पर्वलाई कतिपय थारुहरुले शान्ति र संविधानको पक्षसँग जोडेर मनाउने प्रयास गरेका छन्। देशमा शान्ति कायम हुन नसक्दा पर्व मनाउनुको खासै अर्थ नहुने भन्दै दिगो शान्तिका लागि यस वर्षको जीतिया पर्वमा व्रत बस्ने कतिपय चेलीहरुको धारणा छ। देशमा अमनचयन तथा शान्ति बहाली नभएसम्म कुनै पनि नेपालीको सफलता र दीर्घायूको सुनिश्चित्ता हुननसक्ने भन्दै जीतियापर्वमा शान्ति बहालीको कामना गर्ने बुझाई कतिपयको  छ। शान्ति नआए संविधान नबन्ने, संविधान नबने नेपाली जनताहरु अधिकार सम्पन्न नहुने भएपछि थारुहरुले यसपाली शान्ति र संविधान निर्माणका लागि चेलीहरुले उपबास बस्न सुझाव दिएका छन्। मुलुकमा शान्ति र संविधानले विजयप्राप्त नगरे पौने तीन करोड नेपालीको जीत सुनिश्चित् नहुने भन्दै जीतिया पर्वलाई त्यसैको सफलताका लागि मनाउनुपर्ने बुझाई थारु चेलीहरुको छ। आगामी मंसिर ४ का लागि निर्धारित संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न हुने या नहुने अन्यौल कायमै रहँदा थारु चेलीहरुले जितियापर्व मार्फत् निर्वाचन सम्पन्न हुनुपर्ने र सबैको स्वीकार्य नयाँ संविधान बन्नुपर्ने भाकल गर्ने पनि बताएका छन्।

देश संक्रमणकालिन अवस्थाबाट गुज्रीरहेकाबेला, राजनीतिक दलबीच अविश्वासको खाडल गहिंरिदै गएकाबेला जीतियापर्वको उपबास तथा कामनाले राजनीतिक दलका नेताहरुको अविश्वासमा पूर्णविराम लाग्नुपर्ने थारुहरुको शुभकामना छ। दलका नेताहरुमा सद्बुद्धि आएकोभए उहिल्यै देशले निकास पाइसक्ने थियो। तर आपसी तिक्तता र किचालोका कारण मुलुक आर्थिक समृद्धिमा जानबाट बञ्चित हुँदैआएको छ। यस जितिया पर्वमा थारुचेलीहरुले यसकालागि पनि सूर्यभगवान सँग भाकल गर्ने बताएका छन्। थारु महिला समाज नेपालकी सचिव गीता थारुले श्रीमान्को दीघार्यु, सन्तानहरुको सुस्वास्थ्यसँगै देशको समृद्धिका लागि पनि यसपालीको व्रतमार्फत भाकल गर्ने बताउँछिन्। देशले निकास पाए थारु परम्पराप्रतिको आस्था र विश्वासमा समेत बृद्धिहुने उनको बुझाई छ। सदियौंदेखि विश्वासगरी मनाइँदैआएको थारु जीतियापर्वमा थारु चेलीहरुको मनोकामना यसपालि शान्ति र संविधान बन्न सक्यो भने थारुका सन्तान तथा पतिको दीर्घायूमात्र होइन सबै नेपालीको कल्याण हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *