sunauli 2कमला चौधरी, बुटवल- असोज लाग्ने बित्तिकै दशैं आएजस्तो भएको छ। एकातिर दशैंको लागि घर जाने यात्रुको लागि टिकट बुकिङ खुलेको छ। अर्कातिर बुटवलसहित देशभरका विभिन्न ठाउँमा शुपथ मूल्य पसल सञ्चालन भएका छन्। बडादशैंको चहलपहल नेपालमा बढेपनि दशैंको व्यापारिक कारोबार भने सीमावर्ती भारतीय बजारमा फस्टाउँदो छ। दशैं तिहारलाई आवश्यक पर्ने सामान खरिद गर्ने नेपाली उपभोक्ताको अत्यधिक भीडले त्यहाँका बजारमा बेग्लै रौनक छ।
बसपार्कमा टिकट लिनेको घुईंचोजस्तै शुपथ मूल्य पसलमा पनि उपभोक्ताको चहलपहल देखिन्छ। बुटवलको विभिन्न सपिङ सेन्टरमा नयाँनयाँ कपडा किन्नेको भिड लाग्न थालेको छ। हाट बजार, अमरपथ, विशाल बजार, नयाबसपार्कमा सुपथ मूल्यमा पसल सञ्चालन गर्नेहरुमा सामान किन्नेको भिड लागेको हो। त्योभन्दा बढी भारती नाकामा सामान किन्ने नेपालीको भिड लागेको छ।
नेपाली बजारभन्दा उपभोग्य वस्तु सीमावर्ती भारतीय बजारमा सस्तो पाइने विश्वासले दशैं तिहारको सामान किन्न नेपाली उपभोक्ताको भीड सीमावर्ति क्षेत्र सुनौली बजारमा लाग्ने गरेको छ।
हरेक थोक भारतमै सस्तो पाइन्छ भन्ने गलत सोच नेपाली उपभोक्तामा बढेको छ, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र क्षेष्ठले भने, ‘यथार्थमा त्यस्तो छैन, कतिपय सामान नेपाली बजारमै सस्तो पाइन्छ।’ उनका अनुसार नेपालबाटै लगिएका सामान सीमावर्ति क्षेत्र सुनौली, नवतुनवा, गोरखपुर बजारमा किनेर फकिर्ने नेपाली उपभोक्ता पनि प्रशस्त छन्।
विशेष गरेर सुनौलीमा साडी, कुर्ता सलवार, सुटका कपडा, शृङ्गारका सामान किन्ने अधिकांश नेपाली महिला भेटिन्छन् भने चिनी, चिया, खाने तेल, दाल, मरमसाला, तयारी अचार, दालमोठ, नमकिनलगायत विभिन्न खाद्य सामग्री खरिद गरिने नेपाली उपभोक्ता पनि त्यतिकै छन्। त्यस्तै इलोक्ट्रोनिक्सका सामग्री, भान्साका सरसामान र विलासिताका सामानहरु किन्न पनि नेपाली उपभोक्त सुनौली नै पुग्छन्।
बुटवल भैरहवाभन्दा निकै सस्तोमा सुनौलीमा सामान पाइन्छ भन्ने विश्वासमा सास्ती उठाएर पनि सामान खरिद गर्न सुनौली जान लागेकी बुटवल १३ बुद्धनगरकी सानी चौधरी भन्छिन्, ‘अलि बढी नै सामान किनमेल गर्नुपरेकोले बुटवलभन्दा सुनौली नै ठीक लाग्यो। सस्तो पनि पाइने भएकाले सुनौली नै प्राय जाने गर्छु।’
रुपन्देहीको रुद्रपुर, सालझण्डी, बासगढी, मुर्गिया बुटवल, देवदहलगायत कपिलवस्तु र नवलपरासीका ग्रमिण क्षेत्र र अन्य जिल्लाबाट सामान खरिद गर्न दैनिक ठूलो सङ्ख्यामा नेपाली उपभोक्ता यति बेला सुनौली पुग्ने गरेका छन्। यसरी सामान खरिद गरेर फर्केका नेपाली उपभोक्तालाई भारतीय एसएसबी, भैरहवा भन्सारका कर्मचारी, राजस्व गस्तीमा परिचालित सशस्त्र प्रहरी र आकस्मिक चेकजाँचमा खटेको नेपाल प्रहरीले ठाउँठाउँमा झोला खोल्दै चेक जाँच गरे पनि सुनौली जाने क्रममा कमी आएको छैन।
अरु समयको तुलनामा सीमावर्ती भारतीय बजार सुनौलीमा दशैंको बेला दोब्बर, तेब्बर बढी किनमेल हुन्छ। हरेक दिन गाडी, टेम्पो तथा रिक्सा, मोटरसाइकल, निजी गाडीमा यति बेला सुनौलीमा सामान किन्न जानेहरुको घुइँचो लागेको छ। भैरहवा भन्सार नाकामा गाडी र अन्य सवारी साधनको अत्यधिक चापले घण्टौं जाममा बस्नुपर्ने भए पनि नेपाली उपभोक्ता सामान किन्न सुनौली जान छाडेका छैनन्।
सुनौली जानेको भीड दिन प्रतिदिन बढ्न थालेपछि चेकिङको नाममा सीमानामा तैनात भारतीय एसएसबी र नेपाल प्रहरीले समेत उपभोक्तामाथि दुर्व्यवहार गर्ने गरेको गुनासो सुनिन्छ। सुनौलीमा नेपाली उपभोक्ताको भीड बढ्न थालेपछि मौका छोपेर भारतीय व्यापारीले सामानको मूल्यसमेत बढाउने गरेका छन्। सुनौलीमा नेपाली उपभोक्ताबाट हुने कारोबारको यथार्थ तथ्याङ्क नभए पनि दशैंको बेलामा प्रतिदिन ४० देखि ५० लाख रुपियाँ खर्च हुने गरेको अनुमान नेपाली व्यवसायीको छ। नेपाली उपभोक्ताका कारण सीमावर्ती भारतीय बजार फस्टाए पनि त्यहाँका व्यापारीले आफूखुसी नेपाली रुपियाँको अवमूल्यन गर्ने गरेका छन्। भारतीय मुद्रा अभावका कारण विशेषगरी सीमावर्ती नेपाली उपभोक्ता थप मारमा पर्ने गरेका छन्।
नेपाल राष्ट्र बैंकले भारतीय एक सय रुपियाँको विनिमय दर रु. १ सय ६० कायम गरेको छ। तर सीमावर्ती भारतीय व्यापारीले उत्तिकै भारतीय रुपियाँका लागि नेपाली उपभोक्ताबाट १ सय ६५ देखि १ सय ७० रुपियाँसम्म असुल्ने गरेका छन्। सीमावर्ती भारतीय बजारमा नेपाली रुपियाँको अवमूल्यनसँगै नेपाली र भारतीय उपभोक्ताका लागि बजार भावसमेत फरक हुने गरेको छ। विशेषगरी सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ता दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती भारतीय बजारमा निर्भर हुने गरेका छन्। विगतमा भारतीय बजारका व्यापारीले सामान खरिद गरेबापत नेपाली उपभोक्ताबाट सहजरुपमा नेपाली रुपियाँ स्वीकार गर्ने गर्थे। तर आजको स्थितिमा परिवर्तन भएको छ। सामान खरिद गर्दा त्यहीँ व्यापारीले आज नेपाली उपभोक्ताबाट भारतीय रुपियाँ माग गर्छन्। नेपाली रुपियाँ लिए पनि त्यसको विनियमय दर आफैं तोक्ने गर्छन्। जसका कारण एउटै पसलमा उही वस्तुको फरक मूल्य नेपाली उपभोक्ताले तिर्नुपर्छ।
यसको विरोध गर्दा उनीहरु भारतीय रुपियाँ माग्छन् तर भारतीय रुपियाँको अभावमा नेपाली उपभोक्ताले भारतीय व्यापारीले तोकेको विनियमय दरमा नेपाली रुपियाँ दिने गर्छन्। यस प्रकार भारतीय व्यापारीहरुले आफूखुसी नेपाली रुपियाँको अवमूल्यन गर्दा नेपाली उपभोक्ताको आथिर्क शोषण त हुन्छ नै, नेपालीहरुको आत्मसम्मानमा समेत चोट पुग्ने गरेको नेपाली उपभोक्ताको दु:खेसो छ।
खुला सीमा र दैनिक रोजीरोटीका कारण पनि स्वाभाविकरुपमा भारतसँग नेपालको सबैभन्दा निकट सम्बन्ध छ। स्रोत र जनसङ्ख्याको उर्वर क्षेत्रका कारण तराई मधेसका नियमित गतिविधि पनि भारतमाथि निर्भर रहेको यथार्थ पनि त्यतिकै सत्य हो। अझ सीमावर्ती जिल्लाका नेपालीको त बिहेवारी र नाताकुटुम्बका कारण पनि भारतीय बजारमा नेपालीको पहुँच दिनहुँ हुने गरेको छ। सीमावर्ती क्षेत्रका लाखौंलाख नेपाली स्वास्थ्य उपचार, भ्रमण, तीर्थाटन र शिक्षा आर्जनलगायत दैनिक कार्यका लागि भारत जानुपर्ने भएकाले उनीहरुलाई भारतीय रुपियाँ आवश्यक पर्छ। तर भारतीय रुपियाँ सटही सुविधा कठिन बनाइएको कारण नेपाली उपभोक्तालाई थप कठिनाइ भइरहेको छ। यस्तो स्थितिमा आङ्खनो आवश्यकता परिपूतिर्का लागि नेपाली उपभोक्ताले बाध्य भएर भारतीय रुपियाँ सटही गर्दा बढी मूल्य तिर्नुपरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *