सुशील चौधरी- सुर्खेत उपत्यका नेपालको भित्रि तराईको एक महत्वपूर्ण भूगोल हो। मध्यम किसिमको हावापानी भएका कारण बसोवासका लागि उपयुक्त मानिन्छ। नेपालका भित्रि तराईका रैथाने आदिवासी थारु, राजी, बोटे, माझीहरुको बसोवार रहेको देखिन्छ। औंलो उन्मुलनपछि पहाड र तराईबाट बसाई सराईको क्रम बढेको देखिन्छ। सुर्खेत, दांङ्ग, चितवन र उदयपुरमा सबैभन्दा ठूलो संख्यामाथारु समुदायको बसोवास रहेको हाल सम्मपनि देख्न सकिन्छ। दांङ्ग जिल्लामा त दंगिशरण राजाकाबाह्र पुस्ता (दंगिशरण देखि रत्न परीक्षक)सम्म राज्य नै चलाएको इतिहासकारहरुले उल्लेख देखिन्छ। सुर्खेत उपत्यकाको नाम कसरी रहनगयो भन्नेबारे विभिन्न जनश्रुतिहरु छन्।
त्यसमध्ये सुरभन्ने देवताले पानीको निकास खोलाबाट निकास गरी बस्न योग्य बनाएकाले सुरखेत बाट अपभ्रम्स भएर सुर्खेत भएको भनिन्छ। रैथाने थारु समुदायका अनुसार प्रकृतिको उत्पत्ति र विकाससम्बन्धी लोक महाकाव्य सुर्खेल जसलाई गुर्वावक जन्मौति पनि भनिन्छ। त्यही सुर्खेल को अपभ्रंस भएर सुर्खेत रहन गएको विश्वास गरिएको छ। सुर भन्ने देवता थारु आदिपुरुष गुर्वावा पनि हुन सक्छन्। यस लेखमा यही विषयमा प्रकाश पार्ने प्रयास गरिएको छ।

सुर्खेत उपत्यकाको बिचमा अवस्थित पहाडमा काँक्रे विहार रहेको छ। यो भग्नावशेषले सुर्खेत उपत्यकामा मानव बसोवासको बलियो प्रमाण दिन्छ। तर कहिले र कसले निर्माण गरेको हो भन्ने सवालभने अनुमान मै विश्वास गर्नु परेको छ। पुरातत्व विभागको अध्ययनले बाह्रौं शताब्दीमा बनेको र मध्यकालका कर्णालीका मल्ल राजाहरुले बनाएको हुन सक्ने बताइएको छ। थारु जाति सुर्खेत उपत्यका रैथानै समुदाय भएकाले यो समुदायको आस्था र आध्यात्मिक विश्वासलाई पनि आधार बनाउन सकिन्छ।
थारुलोक विंवदंन्ती अनुसार महाभारतकालीन युद्धमा लाहाको घरमा पाण्डवलाई मार्ने षड्यन्त्र गरिएकोमा भीमले खम्बाउखेली सबै भाइहरुलाई बचाएकाले भवन भत्किएको अवस्थामा रहेको जनविश्वास रहेको छ। थारु लोककाब्यमा उक्त पर्वत शृंखलालाई लखागीर भनिन्छ। पछि अपभ्रंश भएर लखारगीन भनियो। यो विश्वास कसैले हठात् जन्मिएको होयन। बर्किमार लोकमहाकाव्यका आधारमा आदिवासी थारु समुदायमा विकसित लोक विश्वास हो। उक्त भग्नावशेषलाई भेंवक घर (भीमको घर) पनि भनिन्छ। भीम बलशाली भएकाले उक्त काम गर्न सकेको मानिन्छ। थारु समुदायमा भाद्र महिनाको शुक्ल पक्षको पहिलो आइतवारका दिनअट्वारी पर्व मनाइन्छ। उक्त दिन निराहार रही भीमको पूजा गरिन्छ। प्रकृति पुजक थारु र राजीहरुको विश्वास र सांस्कृतिक मान्यताको निख्याल गर्न सक्दा सत्यको नजिक लैजान सघाउन सक्छ।

बिहारलाई बुद्ध धर्मवालम्बीले बुद्ध विहारको रुपमा लिन्छन्। किनकि त्यहाँ प्राप्त भग्नावशेषमा बुद्धका मुर्तिहरु भेटिएका छन्। केही जानकारहरु हिन्दू र बौद्ध धर्मको समिश्रणको प्रतिकको रुपमा काँक्रे विहारलाई लिन्छन्। हिन्दू धर्मका प्रतिक सरस्वति, विष्णु र शिवका साथै बुद्धका मुर्तिहरु पनि पाइएकाले शिखर शैलीको अदृतीय मन्दिर पनि मानिएको छ। विसं २०५७ मा पुरातत्व विभागले उत्खनन् गरेर काँक्रे विहार बाह्रौं शताव्दीमा बनेको इमारतको रुपमा पहिचान गरेको छ। यसबारे थप अनुसन्धान हुन बाँकी नै छ र हुनु पर्छ। काँक्रे विहारको दक्षिणतर्फ रहेको पातलगंगा गाउँमा रहेको गणेश मन्दिर रकुवा पनि काँक्रे विहारसँग सम्बन्धित रहेको छ।
काँक्रे विहारमा पानी यही ऐतिहासिक कुवाबाट लगिने गरेको लोक विश्वास रहेको छ। काँक्रे विहारमा पूजा गरेर बगाएको पूजा सामग्री पालतगंगाको कुवामा तैरदै आउने गरेको विश्वास गरिन्छ। विशाल पिपलको जरैमा रहेको कुवा छेउमा रहेको गणेशको मुर्तिबारे छुट्टै विश्वास रहेको छ। एकपटक गणेशको मुर्ति मन्दिर बनाएर राख्दा उपत्यकामा वर्षा भएन। जव गणेश देवताको मुर्तिलाई बाहिर राखियो तुरुन्त घनघोर वर्षा भएको कुरा बुढापाकाहरु आज पनि सुनाउँछन्।

२०५७ सालमा उत्खननपछि शिखर शैलीको मन्दीर बनाउनपहल सरकारी पक्षबाट हुँदा देखिनै विवाद सुरु भएकोमा बौद्धमार्गीले २०७० जेठ ५ गते बुद्धको मुर्ति बिहारमा राख्न खोज्दा विवाद भएका कारण ठूलो मुद्दा बनेको छ। आन्दोलनको क्रममा काठमाडौंमा पनि विरोध जुलुसहरु भएका छन्। स्थानीय प्रशासनले काँक्रे विहारको जंगल बन कार्यालयको स्वामित्वमा र विहार पुरातत्व विभागको स्वामित्वमा भएकाले कसैले जथाभावी मन्दिर वा गुम्बा बनाउने नमिल्ने बताउँछ। तर सुरुमाबौद्ध र हिन्दू प्रकृति झल्कने शिखर शैलीको मन्दिर बनाउने सहमति गरिएको र समयमा मन्दिर नबनेपछि बौद्धमार्गीले विहारको छेउमा बुद्ध मुर्ति राख्नेह योजना बनाएको बुझिन्छ। त्यसभन्दा अगाडि पुरातत्व विभाग स्मारक संरक्षण विभागले बुद्ध मुर्ति स्थापना गर्न अनुमति दिएको देखिन्छ। पछि उक्त कार्यको विरोध आएपछि सुर्खेत जिल्ला प्रकाशन कार्यालयले रोक लगाएको देखिन्छ।

हालः काँक्रे विहारमा बुद्धमुर्ति स्थापना गर्न हुने र नहुने बीच समुदाय तहमा विभाजनहुने अवस्था रहेको छ। राजधानीमा ठूला ठूला प्रदर्शनहरु भइरहेका छन्। यदि जिम्मेवार ढंगले सम्वाद गरेर विवाद नसुल्झाउने हो भने धर्म निरपेक्ष देशमा भारतजस्तै राममन्दिर र बावरी मस्जीत जस्तो जटील अवस्था नआउलान् भन्न सकिँदैन। जेजस्तो भए पनि काँक्रे विहार सुर्खेतलाई चिनाउने एक यस्तो पुरातत्विक स्थलहो जसको संरक्षण र प्रचार प्रसार गर्न सक्दा पर्यटकीय विकासमा ठूलो सहयोग हुन सक्दछ। यसका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्दछ।
उपत्यकाका रैथाने थारु र राजीहरु जो मुख्यतःप्रकृति पुजक हुन् उनीहरुको आध्यात्मिक आस्थाको सम्मान गर्नुपर्छ। यसो गर्न सकेमा आधा करोड थारु र राजी समुदायको ऐतिहासिक तीर्थस्थलको पुनःउत्थानहुन सक्दछ। काँक्रे विहारमा हिन्दुका देवताशिव, गणेश, विष्णु र सरस्वतिको मुर्ति पाइनुका साथै बुद्धका मुर्तिहरु पनि पाइएकाले धार्मिक समिश्रण र सद्भावको नमुनाका रुपमा पुनर्निमाण गर्न सकिएमा लुम्बिनी पछिको दोस्रो तीर्थस्थल बन्न सक्दछ।
मध्यकालका मानसरोवर जाने रुट रहेकोमा फेरि त्यो धार्मिक पदयात्राको गन्तव्य बनाउन सकिन्छ। काँक्रे विहार कसैको मात्र भन्दा पनि सबैको बनाउन सकेमा साझा केन्द्र बन्न सक्छ। ऐतिहासिक एवं धार्मिक स्थललाई साम्प्रदायिक सोच भन्दा टाढा राखौं। पहिचानको कुरा गर्दा साझा पहिचानको ख्याल गरौं। रैथाने समुदायको प्रकृति पूजक परम्परा, हिन्दु र बौद्ध विश्वासलाई समायोजन गरेर समाधान निकाल्न सकिन्छ। धर्म र संस्कृतिसम्बन्धी अधिकारको संवैधानिक प्रावधानले पनि त्यही भन्छ कि हरेक समुदायलाई आफ्नो धर्म संरक्षण र विकास गर्ने मौलिक हक छ। आदिवासी जनजाति समुदायको अधिकारसम्बन्धी महासन्धि १६९ ले र आविासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्रले पनि आदिवासी जनजाति समुदायको आध्यात्मिक विश्वास बोकेको पहाड, खोला, बन तथा भूमिको संरक्षण गर्ने दायित्व पनि राज्यको छ। जातीय, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण समाज सुहाउँदो र स्वीस्कार्य कार्य गर्न सकेमा मात्र सामाजिक सद्भाव र धार्मिक सहिश्रुणता कायम हुन सक्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *